केन्द्रीय संस्करण

उत्साही स्थानीय तह तर कर्मचारी अपेक्षित भएन

person access_timeबैशाख ४, २०७५ chat_bubble_outline0

–हरि लामिछाने 
काठमाडौँ– संविधानमा उल्लेख भएअनुरुप खडा भएका स्थानीय तहका नजनिर्वाचित प्रतिनिधिले उत्साहित भएर आफ्ना गतिविधिलाई अगाडि बढाउन थालेका छन् । 

स्थानीय स्रोत र साधनको अधिकतम प्रयोग गरेर विकास निर्माण तथा जनताका आधारभूत आवश्यकता पूरा गर्दै उनीहरूले समृद्धिको बाटोमा अभियान चलाउन शुरु गरेका हुन् । 

काठमाडौँको उत्तरतर्फ तथा नुवाकोटको दक्षिणपूर्वमा पर्ने शिवपुरी गाउँपालिकाले कृषिको आधुनिकीकरण, शैक्षिक गुणस्तरमा सुधार, गुणस्तरीय स्वाथ्य सेवा एवं भौतिक पूर्वाधार निर्माणका कार्यलाई द्रुत गतिमा अगाडि बढाएको छ । 

स्वास्थ्यलाई जनताको पहुँचमा पुर्याउने र उनीहरुको आधारभूत आवश्यकता पूरा गर्नेमा आफूले विशेष ध्यान दिएको गाउँपालिका अध्यक्ष रामकृष्ण थापा बताउँछन् । 

राज्यबाट पाउने सबै सुविधालाई सहज रुपमा स्थानीय जनतासमक्ष पुर्याउने कार्यलाई केन्द्रमा राखेर समग्र गाउँपालिकाको विकास लागेको बताउँदै उनी आफ्नो कार्यकालमा सकारात्मक छाप छोड्ने प्रण गर्छन् । 

शिवपुरी गाउँपालिका साविकको आठ वटा गाविस गाभिएर बनेको यस गाउँपालिकाको प्रमुख अधार कृषि नै हो । यहाँ प्राकृतिक सिँचाइको राम्रो प्रबन्ध भएकाले खाद्यान्नमा आत्मनिर्भर छ । 

कृषिको आधुनिकीकरण 

यस गाउँपालिकाले कृषिलाई नै केन्द्रित गरेर आफ्ना गतिविधिलाई अघि बढाउनुका साथै यसलाई आयआर्जनका रुपमा अगाडि बढाउने गरी कार्यक्रम सञ्चालन गरेको छ । यसै आवमा स्थानीय कृषकलाई ३० वटा हाते ट्याक्टर, २० फलामे टनेल, ११५ प्लाष्टिक टनेल बाँडिएको छ । 
जनताका उत्पादनलाई बजारीकरणका लागि मध्यपहाडी लोकमार्गसँगै रु ३० लाखको लागतमा कृषि उपज संकलन केन्द्रको भवन निर्माण भइरहेको र दुई महिना भित्रै केन्द सञ्चालनमा ल्याउने योजना रहेको अध्यक्ष थापाको भनाइ छ। 

कृषिको क्षेत्र अत्यन्त्र राम्रो पक्ष हो तर काम गर्नका लागि आवश्यक जनशक्ति नभएकाले बाँझो पर्ने अवस्था छ । धान, मकै र कोदोले नै जनताका सबै आकांक्षा पूरा नहुने भएकाले यसलाई आधुनिकीकरण गर्नुपर्छ । यहाँ नगदेबाली, आयआर्जन हुने बाली कृषकलाई उपलब्ध गराउने अभियानमा गाउँपालिका रहेको छ । 

पर्यटन क्षेत्रको पहिचान र विकास 

यस गाउँपालिकामा पर्यटकीय क्षेत्रको पहिचान गरेर एवं विकास गरेर समृद्धितिर लैजाने सोचअनुसार बाटोको राम्रो सुविधा उपलब्ध गराउने तयारी गरिएको छ । 

साविकको सुनखानी एवं शिवपुरीको वडा नं ७ स्थित सूर्यचौरलाई पर्यटकीय क्षेत्रको विकासका गर्ने नीति बनाएर अगाडि बढ्ने तयारी गरिएको छ । चिसापानीजस्ता क्षेत्रलाई पर्यटन विकासको केन्द्रका रुपमा अघि बढाउने गाउँपालिकाले तयारी गरेको छ । 

क्षेत्रमा भ्यू टावर बनाएर पर्यटन प्रवद्र्धनमा गर्नुपर्नेछ । स्थानीय ऐनमा गाउँपालिकाभित्र पर्ने साधन र स्रोतको संरक्षण, संरक्षण एवं संवद्र्धन गाउँपालिकाले गर्ने भएको छ । 

गुणस्तरीय शिक्षामा जोड 

यस गाउँपालिकाका ५२ वटा विद्यालय छन् । यस गाउँपालकाले नीति बनाएर आन्तरिक दरबन्दी मिलान गरी शैक्षिक गुणस्तरलाई माथि उठाउने प्रयासमा लागेको छ । एउटा पनि निजी विद्यालय नभएकाले यस क्षेत्रमा प्रतिष्पर्धी रुपमा शैक्षिक गुणस्तर सुधार गर्न सकिने गाउँपालिकाका अध्यक्ष थापा बताउँछन् । 

उनका अनुसार यहाँका शिक्षकलाई तालीम दिन शिक्षासम्बन्धी नियम गाउँपालिकाले तयार गरेर लागू गरिसकेको छ । वैशाख १ गतेदेखि लागू हुने गरी नियम बनाएर लागू गर्दा केही अप्ठ्यारो अनुभव भए पनि समग्रमा गुणस्तरीय शिक्षाका लागि अघि बढेकाले राम्रो हुने अनुमान गरिएको छ । 

क्षेत्रीयस्तरको शिवपरी रंगशाला बन्दै 

गाउँपालिकाको बजेटको मुख्य पाटो भौतिक पूर्वाधार अर्थात् बाटो निर्माणमा नै सकिएको अध्यक्ष थापा बताउछन् । पुनःनिर्माणको सामग्री लगेर घर बनाउनुपर्ने भएकाले बाटोमा नै बढी बजेट खर्च भएको हो । 

उनका अनुसार वडा नं ७ पर्ने बिर्ताको चौर भन्ने स्थानमा २४ रोपनी जग्गामा क्षेत्रीयस्तरको रंगशाला निर्माण कार्य जारी छ । यहाँ रंगशाला निर्माणका लागि सम्याउने काम भइरहेको छ । फुटबल ग्राउण्ड र बाहिर पाँच लेनको रनिङ ट्र्याक हुँदा त्यो ‘बि क्लस’को रंगशाला हुने र त्यहाँ क्षेत्रीयस्तरको खेल खेलाउन सकिने अध्यक्ष थापाको भनाइ छ । 

त्यसका अलवा गाउँपालिकाले स्थानीय सामाजसेवीको सहयोगमा त्रिवेणी धाम बनाउने तयारी गरेको छ । सबै मिलेर गुरुयोजना बनाएर काम हुँदै आएको छ । 

सरकारी साधन र स्रोत पर्याप्त त छैन त्यसका साथै स्थानीय स्रोत पहिचान र परिचालन हुन बाँकी छ । आन्तरिक स्रोतलेमात्र स्थानीय निकायले खुलेर चल्ने अवस्था छैन । 

कार्मचारीको समस्या कायमै 

स्थानीय तहमा कर्मचारीको समस्या अझै कायम भएको भन्दै अध्यक्ष थापा कर्मचारीबाट सहयोग नपाइएको गुनासो गर्छन् । उनी कर्मचारीहरु मुखले केही नभने पनि यो वा त्यो बहानामा कहिले कार्यकारी नहुने, कहिले लेखापाल नहुने, कहिले प्राविधिक नहुने अवस्था रहेको बताउँछन् । 

एकजना नहुनेवित्तिकै जनताको काम त रोकिने भएकाले नियमित काम गर्नका लागि कर्मचारीको सहयोग आवश्यक रहेको उनी बताउँछन् । 

मलुकभर ४६० गाउँपालिका, २७६ नगरपालिका, ११ उपमहानगरपालिका छन् । सबै स्थानीय तहमा समस्यासहितका अवसर पर्याप्त देखिएको छ तर शिवपुरी भने प्रतिनिधिमुलक गाउँपालिका बनेको छ । 

अध्यक्ष थापा भन्छन्, “संविधानले दिएको अधिकारलाई प्रयोग गरेर स्थानीय क्षेत्रको विकास गर्ने र जनताको काममा लाग्ने हो, सून्यबाट शुरु गर्नुपरेको छ, यो पाँच वर्षमा केही असल कुरा भएको थियो भन्ने छाप छोड्न सफल हुनेछौँ ।”  
 

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ