बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सिड्नीलाई तीन भागमा विभाजन गर्ने घोषणा

मङ्गलबार, ०४ वैशाख २०७५, ११ : ०८
मङ्गलबार, ०४ वैशाख २०७५

सिड्नी–सिड्नीसँग एक महत्वकाङ्क्षी योजना रहेको छ । अष्ट्रेलियाको सबैभन्दा धेरै जनसङ्ख्या भएको यो सहरले आफूलाई आउने बीस वर्षमा तीन भागमा विभाजन गर्ने घोषणा गरेको छ ।
‘ग्रेटर सिड्नी क्षेत्रीय योजना : तीन सहरको महानगर’ नाम दिइएको यो योजनालाई पछिल्लो महिना ग्रेटर सिड्नी आयोगले सार्वजनिक गरेको थियो । यो आयोग भू–उपयोगको योजना बनाउने सरकारी एजेन्सी हो ।
यो विभाजनबाट जनसङ्ख्या वृद्धि, घरजग्गाको मूल्यवृद्धि र आवागमनको घुइँचो नियन्त्रण गर्ने लक्ष्य लिइएको छ । एक सहरलाई तीन भागमा विभाजन गर्दा त्यहाँका बासिन्दाले घरबार, रोजगारी र सेवामा राम्रो पहुँच पाउने आयोगले बताएको छ ।
‘हामी सम्पूर्ण सिड्नीबासीका लागि गुणस्तरीय जीवन दिन चाहन्छौं ।’ आयोगका प्रवक्ताले भने ।
विभाजनपछि सिड्नीको तीन भागलाई इस्टर्न हार्वर सिटी, सेन्ट्रल रिभर सिटी र वेस्टर्न पार्कल्यान्ड सिटी भनिने छ । तर लाखांै मानिस बस्ने एक सहरलाई कसरी तीन भागमा विभाजन गरिन्छ ?
सिड्नीको जनसङ्ख्या अर्को चालीस वर्षमा दोब्बर हुनेवाला छ । सन् २०१६ मा ४८ लाख जनसङ्ख्या रहेको सिड्नीको जनसङ्ख्या सन् २०५६ मा ८० लाख पुग्नेछ । तर हाल सिड्नीको आधा जनसङ्ख्या इस्टर्न हार्वर जिल्लामा बस्छ । यही क्षेत्रमा विश्व चर्चित स्मारकहरू बोन्डी बिच र सिड्नी ओपेरा हाउस रहेको छ भने यो क्षेत्र सिड्नी विमानस्थल र केन्द्रीय व्यापारिक जिल्लाको नजिक रहेको छ । सिड्नीले यो क्षेत्रले भीडभाडको समस्या भोगिरहेको छ ।
एक सहरबाट तीनवटा बन्दा अधिकारीहरूले बासिन्दाहरूलाई धेरै विविधतापूर्ण क्षेत्रमा सर्न मनाउन सक्ने आस गरेको छ ।
यो रणनीतिको महत्वपूर्ण हिस्सा भनेको ‘आधा घण्टे सहर’को अवधारणा हो । योअन्तर्गत सहरमा बस्ने सम्पूर्ण बासिन्दाहरू महानगरको केन्द्रबाट आधा घण्टाको सवारी दूरीमा रहने अवस्था निर्माण गर्ने योजना रहेको छ । यो अवधारणा सम्भव बनाउनका लागि विभिन्न यातायातको माध्यमहरू प्रयोग गरिनेछ । यसमा सडक र रेल पनि समावेश रहनेछ ।
यसका साथै नयाँ बन्ने प्रत्येक सहरहरू नयाँ यातायातको सम्पर्क माध्यमबाट जोडिनेछ त्यसैले सिड्नीलाई तीन पृथक तर जोडिएको सहरहरू बन्नेछ ।
तथापी यो काम तत्कालै हुनेछैन ।
“मलाई लाग्छ रेलमार्ग र सडकमार्ग बनिसक्नका लागि लामो समय लाग्छ । किनकि रेलमार्गलाई सुरुबाटै अनुदान आवश्यक हुन्छ ।” युनिभर्सिटी अफ  सिड्नी र युनिभर्सिटी अफ क्विनल्यान्डमा योजनाका सहायक प्राधापक रहेका ग्लेन सर्लेले भने । 
तर त्यो काम गरिनु पर्नेछ, जसमा धेरै मानिसहरूको सहमति रहनेछ ।
‘सिड्नी समरूपमा विकास गर्नका लागि कहिले पनि एकीकृत योजना नल्याएको सहर हो, कम्तीमा आजसम्मका लागि ।” अमादु दुम्बियाले भने । उनी न्युयोर्क सहरबाट आठ महिनाअघि सिड्नी सरेका हुन् । “तपाईं सहरको केन्द्र हेर्नु भयो भने त्यहाँ अग्ला अग्ला कर्पोरेट भवन अथवा औपनिवेशिक कालको सुन्दर भवनहरू देख्नुहुन्छ तर त्यहाँबाट केही मिनेट यताउती लाग्नुभयो भने आधा महानगरिय र आधा अर्धसहरी क्षेत्रमा पुग्नुहुनेछ ।” उनले भने ।
सरकारले हालसम्म नयाँ यातायातका लागि कति खर्च गर्नेछ र त्यो पैसा कहाँबाट आउनेछ जानकारी गराएको छैन ।
हाल इस्टर्न हार्वर सिटीमा बसोबासका लागि उच्च प्राथमिकता रहेको छ । “धेरै जनघनत्वले केन्द्रीय क्षेत्रमा ठूलो तरङ्ग विकास गर्छ ।” उनले भने । “यसका साथै पूर्वी सिड्नीको मौसम पनि पश्चिमको भन्दा निक्कै राम्रो रहेको छ । पूर्वी सिड्नीमा समुन्द्री हावाले गर्मी महिनामा आराम प्रदान गर्दछ ।”
तर प्रसिद्धिले यो क्षेत्रको घरजग्गा मूल्य निक्कै बढेको छ । यसमा केही हदसम्म रोजगारी र सांस्कृतिक सेवाको उपलब्धताले योगदान गरेको छ ।
डिसेम्बर २०१७ मा सिड्नीमा औसत घरको मूल्य ९,१४,००० अमेरिकी डलर थियो जबकि अष्ट्रेलियाको औसत भने ६,३०,००० अमेरिकी डलर थियो । 
नयाँ योजनाअनुसार इस्टर्न हार्वर सिटीले ‘चिनिन सकिने आर्थिक सामर्थ’ निर्माण गर्नेछ, जसले यसले बाँकी दुई सहरलाई पनि थेग्नेछ ।
सिड्नीको हालको केन्द्रबाट ३० किलोमिटर टाढा रहेको पार्रामाट्टा सहर रहेको छ । यो सेन्ट्रल रिभर सिटीमा अवस्थित छ ।
२५,८०० जनसङ्ख्या रहेको यो क्षेत्रलाई सिड्नीको दोस्रो केन्द्रीय व्यापारिक केन्द्र मानिन्छ ।
“यदि पार्रामाट्टालाई साँच्चै विकास गर्न सक्यौं भने... पश्चिम सिड्नीका धेरै मानिस हाम्रो केन्द्रीय व्यापारिक केन्द्रभन्दा बढी पार्रामाट्टामा जान्छन् ।” युनिभरसिटी अफ सिड्नीमा सहरी र क्षेत्रीय योजना र नीतिको प्राधापक पिटर फिब्सले भने । 
प्रस्तावअनुसार एक आर्थिक कोरिडोर निर्माण गरिनेछ, जो पार्रामाट्टाबाट जानेछ । यहाँ विश्व स्तरीय स्वास्थ, शिक्षा र अनुसन्धान सस्थाहरूमा केन्द्रित रहनेछ । यसका अतिरिक्त यहाँ वित्त, व्यापारिक सेवा र प्रशासन पनि रहनेछ ।” नयाँ रेल सम्पर्कले यो क्षेत्रको वृद्धिको सम्भावना सुधार गर्नेछ ।
यसका अतिरिक्त पश्चिमी सिड्नी क्षेत्रमा सन् २०२६ सम्ममा विमानस्थल बन्दैछ । यसले यो क्षेत्रमा २८ हजार नयाँ रोजगार सिर्जना गर्नेछ ।
तर के यो योजना साच्चै सम्भव छ ?
“मलाई लाग्छ यो राम्रो विचार हो किनकि घर किन्न सामर्थ नहुँदा यसले मानिसहरूलाई सहर छाड्नुपर्ने बनाएको छ । यो समस्या राम्रो आयआर्जन हुने मानिसहरूमा पनि देखिन्छ ।” सिड्नीमा ६ वर्षदेखि बसिरहेका रिनी ग्रिफिनले भनिन् ।
“यसले गर्दा कि त तपाईंले डेरा लिनुपर्छ कि तपाईंले लामो समय यातायातमा बिताउनुपर्छ । तपाईंको परिवार छ भने यी दुवै विकल्पहरू राम्रो हँुदैन ।” उनले थपे ।
ग्रिफिनका अनुसार सिड्नीको पूर्वी क्षेत्रमा बस्ने भएकाले उनका लागि भने सजिलो छ । “यदि तपाईं सिड्नीको आम जीवनमा सहभागी हुन चाहनुहुन्छ भने तपाईं यसको नजिक रहनुपर्छ । पश्चिममा बस्नेहरूका लागि भने लामो समयको यात्रा गनुपर्नेछ ।”
ग्रेटर सिड्नी आयोगकी प्रवक्ताले आफूहरू यो योजनामा प्रतिबद्ध रहेको विश्वस्त पार्न खाजिन । र धेरै सिड्नीबासीले यो योजनालाई स्वागत गरेका छन् ।
“सरकारले गरिरहेको काम अद्भूत रहेको मलाई लाग्छ ।” दुम्बियाले भने– “तर तिनले योजना सर्वस्वीकार्य बनाउनका लागि स्थानीयहरूमा ‘सिड्नी’ बारेमा रहेको मनोविज्ञान, सहरमा बस्नुको अर्थ र सहरमा यातायातको समय कति उपयुक्त हो भन्ने विचारलाई चुनौती दिन सक्नुपर्छ । ”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप