केन्द्रीय संस्करण

इरानको आक्रोशः अमेरिकाले आतंककारीलाई समर्थन गर्यो

person access_timeबैशाख ३, २०७५ chat_bubble_outline0

तेहरान । इरानका राष्ट्रपति हसन रोउहानीले अमेरिकी नेतृत्वमा सिरियामा भएको आक्रमणबाट वासिङ्टनको आतङ्ककारीसँग प्रत्यक्ष सम्बन्ध भएको प्रमाणित भएको आरोप लगाएका छन् । 

हसनले उक्त दाबी गरेको तास्निम समाचार समितिले सोमबार जानकारी दिएको छ । 

अमेरिकनले पूर्वी गुटाबाट आतङ्ककारी हटाएकोले उनीहरुको अमेरिकासँग सम्बन्ध रहेको देखिन आएको राष्ट्रपति रोउहानीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको टेलिफोन वार्तामा बताएका छन् ।  

अमेरिकाले हाल सिरियामा गरेको आक्रमण अन्तरराष्ट्रिय कानूनको विपरीत भएको र अमेरिका अन्तरराष्ट्रिय जगतलाई जवाफ दिन सक्षम नदेखिएको रोउहानीले बताए ।  

पश्चिमा राष्ट्रले सिरियामा थप क्षेप्यास्त्र आक्रमणमा गरेमा अन्तरराष्ट्रिय सम्बन्धमा नै उथलपुथल हुने रुसका राष्ट्रपति पुटिनले बताएको तेहरान टाइम्सले जनाएको छ । 

सिरियाले रासायनिक अस्त्र निर्माण गर्ने गरेको भनिएका क्षेत्रमा अमेरिका, बेलायत र फ्रान्सले शनिबार क्षेप्यास्त्र हमला गरेका थिए । 

यो हमला अहिलेका लागि पूरा भएको अमेरिकाले बताएको छ । अमेरिकाले सिरियाले पछिल्ला केही समययता रासायनिक हतियारको निर्माण गरी त्यसबाट आक्रमण गर्ने गरेको जनाएको छ । 

यसबाट हजारौँ नागरिक मारिएको भन्दै त्यसैको विरुद्धमा आक्रमण लक्षित रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका थिए ।  

अमेरिकी नेतृत्वमा भएको सो हमलाको रुस र इरानले प्रत्यक्षरुपमा नै विरोध गरेका छन् । उनीहरुले अमेरिकी नेतृत्वका देशले गरेको सो हमला अन्तरराष्ट्रिय कानुन विपरीत भएको बताएका छन् । 

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ