शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अष्ट्रेलियामा ‘मासु खाने’ अल्सरको महामारी, डाक्टरहरु अझै रनभुल्ल

सोमबार, ०३ वैशाख २०७५, १७ : ०८
सोमबार, ०३ वैशाख २०७५

भिक्टोरिया । अष्ट्रेलियाका डाक्टरहरुले भिक्टोरिया राज्यमा ‘मासु खाने’ अल्सर किन गम्भीर रुपमा महामारी बनिरहेको छ तत्काल अनुसन्धान गर्नुपर्ने माग गरेका छन् ।

विज्ञहरुले आमरुपमा अफ्रिकामा पाइने एक छाला रोग वुरुली अल्सर अष्टे«लियामा पछिल्लो चार वर्षमा ४००% ले बढेको बताएका छन् ।

संक्रमण पहिलेभन्दा कढा खालको भएको र नयाँ क्षेत्रमा फैलिरहेको बताइएको छ ।

यस रोगको नियन्त्रणको उपाय डाक्टरहरुले अहिले सम्म पत्ता लगाउन सकेका छैनन् । यो रोग ब्याक्टेरियाले लाग्ने र उक्त ब्याक्टेरियाले तन्तुहरुलाई टुक्र्याउने देखिएको छ ।

अघिल्लो वर्ष किर्तिमानी रुपमा २७५ नया संक्रमणको घटना दर्ता गरिएको थियो । यो आफैमा सन् २०१६ को भन्दा ५१% ले बृद्धी हो ।

सरुवा रोग विशेषज्ञ डा. ड्यानियल ओब्राइनले बुरुली अल्सर अथवा माइकोब्याक्टेरियम अल्सेरन्स रोग पछिल्लो समय अष्टे«लियामा निकै आम भएको र यो पहिलेभन्दा बढी कढा भएर आएको बताए ।

उष्ण क्षेत्रमा पाइने यो रोग किन भिक्टोरिया जस्तो समशितोष्ण क्षेत्रमा पाइयो भनेर अझै स्पष्ट भइसकेको छैन ।

के हो बुरुली अल्सर ?

यो एक छालाको रोग हो । यो रोग माइकोब्याक्टेरियम अल्सरन्सको कारण हुन्छ । यो ब्याक्टेरियाले निकाल्ने विशाष्णुले छालाको कोष, मसिनो रक्त नसा र छाला तल जमेर बस्ने बोसोलाई नष्ट गरेर छालालाई मार्दछ ।

समयसँगै यो अल्सर बढ्छ र अन्त्यमा स्थाई कुरुपता वा अपाङ्गता निम्त्याउँछ ।

मुख्यतया हात गोडालाई असर गर्ने भए पनि यसले शरीर र अनुहारमा पनि असर गरेको पाइएको छ ।

यो रोग कसरी मानिसमा सर्दछ भनेर डाक्टरले पत्ता लगाउन सकेका छैनन् तर वातावरणीय र माटोले यो रोग उत्पन्न गर्ने विश्वास गरिन्छ ।

यसको ब्याक्टेरियालाई लामखुट्टेले सार्दछ भन्ने सिद्धान्त पनि रहेको छ ।

अनुमान गरेर बस्ने समय छैन

मेडिकल जर्नल अफ अष्ट्रेलियामा लेख्दै डाक्टहरुले यो रोग र यसको कारणको अध्ययनको लागि सरकारी कोषको माग गरेका छन् ।

“के भइरहेको हो र महामारीलाई के ले असर गरिरहेको भनेर कसैले बुझेका छैनन्,” सहलेखक डा.ओब्रियनले भने ।

“हामी यसबारेमा केही संकेत गर्न सक्छौं तर कुनै ठोस सुझाव दिन सक्दैनौ । यो एक रहस्य हो ।”

केही सिद्धान्तमा वर्षा, माटोका प्रकार र वन्यजन्तुजस्ता तत्व संलग्न भएको बताइएको उनले भने । अघिल्लो वर्ष स्वास्थ निकायहरुले केही स्थानीय जीवको दिशामा यसको ब्याक्टेरिया भेटेका थिए ।

“समस्या भनेको यसबारेमा हामीसँग अनुमान गरेर बस्ने समय छैन । यो महामारी डरलाग्दो अवस्थामा पुगेको छ,” उनले भने ।

यो अल्सरको उपचार गर्न कठिन रहेको छ । विरामीले यस रोगबाट तङ्ग्रीनका लागि ६ देखि १२ महिनासम्म समय लागेको देखिएको छ । धेरै मानिसहरुले पुनस्र्थापना गर्ने खालको शल्यक्रिया गर्नुपरेको ओब्रायनले बताए ।

भिक्टोरिया राज्यको स्वास्थ निकायहरुले यो रोगको अनुसन्धानको लागि आफूहरुले दश लाख अष्ट्रेलियन डलर खर्च गरिसकेको बताएका छन् । यसका अतिरिक्त उनीहरु यो रोगको चेतना बढाउनको लागि शिक्षामुलक कार्यक्रम पनि सञ्चालन गरेका छन् ।

एक वर्ष अघिसम्म यो संक्रमण क्वीन्सल्याण्ड जस्तो उष्ण क्षेत्रबाट मात्र पाइएको थियो । अन्य राज्यमा यो रोगको थोरै मात्र नमुना पाइएको थियो ।

यो रोग खासमा ग्रामिण पश्चिम अफ्रिका, केन्द्रिय अफ्रिका, न्यू गिनी, दक्षिण अमेरिका र एशियाका उष्ण क्षेत्रमा पाइन्थ्यो ।

विकासशील राष्ट्र यो रोग हिलो जमिन र जमेको पानी वरापरि देखिएको भए पनि अष्ट्रेलियामा भने यो रोग विशेष समुन्द्री तट क्षेत्रमा भेटिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप