बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

इन्धन बोक्ने ट्यांकरमा एक सय ६० किलो गाँजा !

सोमबार, ०३ वैशाख २०७५, १५ : ५४
सोमबार, ०३ वैशाख २०७५

काठमाडौं–एक सय ६० केजी अवैध लागू औषध गाँजासहित २ जना पक्राउ परेका छन् । 

नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी १ सय ६० केजी अवैध लागू औषध गाँजासहित मकवानपुर थाहा नगरपालिका वडा नम्बर ११ का २२ वर्षीय सोमबहादुर थोकर र सोही जिल्ला कैलाश गाउँपालिका वडा नम्बर २ का ३६ वर्षीय इमानसिंह स्याङबोलाई पक्राउ गरिएको जानकारी दिएको हो । 

गत शनिवार विशेष सूचनाको आधारमा व्यूरोको टोलीले उनीहरुलाई इन्धन बोक्ने टयांकरमा लुकाईछिपाई राखिएको गाँजासहित काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर २ स्थित झ्याप्ले खोला सडक किनाराबाट पक्राउ गरेको हो ।

 ना ४ ख ५३६८ नम्बरको इन्धन बोक्ने टयांकर भित्र अगाडि क्याबिनमा ७ वटा प्लाष्टिकका बोरा भित्र १७ वटा पोकाहरुमा प्याक गरिएको गाँजा बरामद गरिएको व्यूरो प्रमुख प्रहरी नायव महानिरीक्षक ठूले राईले जानकारी दिए । 

बरामद लागू औषध गाँजा टयांकरमा लुकाईछिपाई त्रिभुवन राजपथको बाटो हुँदै सर्लाहीको मलंगवाबाट भारत निकासी गर्न लागिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । 

पक्राउ परेका स्याङबो र थोकर दुवै जना विगत लामो समयदेखि अवैध लागू औषध गाँजा कारोबारमा संलग्न रहेको प्रहरीले आशंका गरेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप