केन्द्रीय संस्करण

एकता प्रक्रियामा कसिएको गाँठो

person access_timeबैशाख ३, २०७५ chat_bubble_outline0

केदारनाथ नेपाल (निश्चल) 
 

भनिन्छ, प्रतीक्षाको फल मीठो हुन्छ । यो विषय राजनीतिक रूपमा भने लागू नहुने रहेछ । जति पर्खियो त्यति शङ्का उत्पन्न हुने मात्र होइन, फल लाग्ने कुरा पनि अनिश्चित हुन्छ । 
वाम गठवन्धन बनाएका एमाले–माओवादी केन्द्रबीच एकताको विषयसँगै जनताले मीठो फल एकीकृत पार्टी र उसले कल्पना गरेका समृद्ध नेपालको आशा गरेका थिए । 
तर गठबन्धन घोषणा गरेको ६ महिना वितिसक्दसमेत उनका समर्थकले पर्खाइको मीठो एकीकृत पार्टीको फल खान त के देख्नसमेत पाएका छैनन् ।

गठबन्धन त केवल निर्वाचनमा जित हात पार्नका लागि थियो । उनीहरूले दशैंको बेला गरेको घोषणाअनुसार त चुनावलगत्तै पार्टी एकता हुनुपर्ने थियो । 

पार्टी चलाउने क्रममा आफ्ना व्यक्तिगत मतभेद थाँती राख्दै निर्वाचनमा आम जनतालाई देखाएको सपना पूरा गर्न ती एकीकृत पार्टी लाग्नुपथ्र्यो । तर जनता सामुन्ने अघि सारेको वाचाअनुसार नेताहरू किन अघि बढ्न सकेनन् ? यतिबेला थप रहस्यको विषय बन्न पुगेको छ ।

गत मङ्सिर एक्काइस गते निर्वाचन सकिएसँगै केही समयपछि एकीकृत पार्टीको नामबाट एक भएर अघि बढ्ने भनेर केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनताका कार्यकर्ता र जनतालाई विश्वास दिलाउन विभिन्न चुनावी कार्यक्रममा भन्दै आएका थिए । तर निर्वाचन सम्पन्न भएको ४ महिना बितिसक्दा पनि आ–आफ्नै पार्टीभित्रका कमजोरीमा डुब्दै, सङ्गठनात्मक र सैद्धान्तिक जस्ता विषयलाई देखाएर जनता र कार्यकर्तालाई देखाएको सपना पूरा गराउन यतिबेला दुवै पार्टीका नेताहरू चुकिरहेका छन् । 

अझ पछिल्लो समय त एकता हुन नदिन बाह्य शक्तिको चलखेल बढिरहेको कुरा दुवै पार्टीका शीर्ष नेताले मिडियामा बोलिदिएपछि पार्टी एकताको बारेमा जनतामा थप आशङ्का थपिएको छ । 

यदि साँच्चै नेताहरू एकताको निम्ति तयार र इमानदार छन् भने एकताको विषयलाई बाह्य तत्वले कुनै फरक पार्दैन । तर दुवै दलका नेताहरू यो वा त्यो बहानामा एकता प्रक्रियाबाट भागिरहेका छन् । त्यो चाहिँ रहस्यको विषय बनिरहेको छ । 
केही समयअघि मात्र चितवन पुगेर ढिलोचाँडो आफू प्रधानमन्त्री हुन्छु भनेर प्रचण्डले सार्वजनिक अभिव्यक्ति दिएपछि त एकताको विषय थप अन्योलतामा रुमल्लिएको छ भनेर ठम्याउन जो कोहीलाई गाह्रो परेन । 

त्यति मात्र होइन, पार्टी नै एकता गर्ने भनेर निर्वाचनमा गठबन्धन गरेर निर्वाचन जितेर माओवादीसहितको बहुमतको सरकारमा मधेसवादी दललाई भित्र्याउन ओलीले बल गर्नु र माओवादीभित्र पनि संसदीय दलको नेतामा प्रचण्ड चुनिनुले एकता हुने वा नहुनेमा अन्योलता थपिएको कतिपयको अनुमान छ ।
पार्टी एकीकरण गर्ने र ओलीलाई नै ५ वर्षे सरकारको नेतृत्व गर्न दिने भएपछि माओवादीले संसदीय दलको नेता चुनिरहनुपर्ने आवश्यकता रहँदैन थियो । ओलीले पनि मधेसवादी दललाई सरकारमा सहभागी गराउन जोड गरिरहनुपर्ने आवश्यकता छँदै थिएन । 

अहिले पनि एकताको विषयमा दुवै दलका विभिन्न तहका नेताहरूको विभिन्न प्रतिक्रिया सार्वजानिक भइरहेको छ । एमाले माओवादीसँग मिल्न होइन आफू ठूलो पार्टी भएको हैसियतले उसलाई निल्न चाहान्छ, जुन स्वभाविक पनि हो । किनकि ठूलो माछाले पनि आफ्ना वरिपरि आएका भुरा माछाहरू निलिरहेको हुन्छ ।
अहिले शक्तिको हिसाबले तेस्रो दल भए पनि माओवादी सत्ता गठबन्धनमा मास्टर कार्ड हो । ऊ जता मिल्छ उसैको नेतृत्वमा सरकार बन्छ । एमालेलाई पनि यतिबेला पार्टी एकताभन्दा सरकार प्यारो छ । एमालेले आफ्नो सरकारमा मधेसवादी दलहरूलाई सहभागी गराएर माओवादीलाई साइजमा ल्याउन र पाँच वर्षे सरकारको भविष्य सुरक्षित गर्न चाहान्छ । तर अहिलेसम्म मधेसवादी दल सरकारका सहभागी भएका छैनन् । 
चुनाव जित्नकै लागि जनतासमक्ष अघि गरिएको वाचा अहिले आएर दुवै नेतालाई भालुको कन्पट भएको छ । 

सङ्गठन अमूर्त हुन्छ । सङ्गठन चलाउने भनेको व्यक्तिले हो । जनताको आँखाबाट हेर्दा दुई कम्युनिष्ट पार्टी एक हुने विषयलाई सैद्धान्तिक र साङ्गठनिक हिसाबले खासै फरक पार्दैन । बरु एकता हुनलाई नेता र आम कार्यकर्ताको मन भावना मिल्न जरुरी छ । जहाँ आम कार्यकर्ताको भावना मिल्दैन, त्यस्तो एकताले दुई पार्टीको नाम मेटाएर एउटै नाम लेख्दैमा देश र जनतालाई केही फरक पार्दैन । बरु भावना विपरीत एकता भएको खण्डमा शक्ति सञ्चय होइन, क्षय पनि हुन सक्छ र विपक्षीलाई फाइदा पुग्छ ।
एकताको विषयलाई लिएर माओवादी केन्द्रले एकीकृत पार्टीमा आफ्ना लागि आधा हिस्सा खोजेको भन्ने कुरो छ । त्यसका लागि एक पटक माओवादीको इतिहासतर्फ फर्केर हेरौं । 

माओवादीले पनि शान्ति प्रकृयामा आएपछि विभिन्न पार्टीसँग एकता गर्यो । त्यसमध्ये एकता केन्द्र एक हो । एमालेसँगको एकतामा माओवादीले आधा हिस्सा खोजिरहेको अवस्थामा एकता केन्द्रसँगको इतिहासलाई एमालेसँगको एकता जोडेर हेर्न सकिन्छ ।
कुन हैसियतमा अहिले माओवादी केन्द्रले एमालेसँग आधा हिस्सा खोजिरहेको छ ? के उसले एकता केन्द्रसँग पार्टी एकता गर्दा उसलाई आधा हिस्सा दिएको थियो ? कि एकता केन्द्रले आधा हिस्सा खोज्यो ? अहिले माओवादी केन्द्रले साँच्चै एमालेसँग एकता चाहान्छ भने सङ्गठनमा आधा हिस्सा होइन आफ्नो मनमा आधा हिस्सा एमालेका नेता र कार्यकर्तालाई खाली गर्न सक्नुपर्छ र त्यही अनुसार एमालेले पनि छाती फराकिलो गर्न सक्नुपर्छ, तब मात्र एकता सम्भव छ ।

यति बेला माओवादीले सिद्धान्तको बहस निकाल्दै बाहिर माओवाद र एक्काइसौं शताब्दीको जनवादको कुरालाई एकताको विषयसँग जोडेको छ । सैद्धान्तिक रूपमा जे भने पनि माओवादी केन्द्रले नयाँ पार्टीमा आफ्नो पकड बलियो खोजेको छ । उसका केही प्रभावशाली नेतालाई नयाँ पार्टीमा सिट सुरक्षित गरिदिएको खण्डमा कार्यकर्ताको भावना विपरीत र सैद्धान्तिक विषयलाई लत्याउँदै भए पनि माओवादीले एकताको बाटो रोज्नेछ । 
 

Ratopati

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ