बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

किन अस्तव्यस्त भयो कपिलवस्तुको सुरक्षा व्यवस्था !

सोमबार, ०३ वैशाख २०७५, १३ : १३
सोमबार, ०३ वैशाख २०७५

बसन्त गिरी
 

कपिलवस्तु ।

घटना १

 चैत २७ गते : जिल्ला प्रहरी कार्यालयमा ३ वटा उजुरी तथा प्रशासन र अदालतमा ३ वटा मुद्दा दर्ता भएका यशोधरा गाउँपालिका वडा नंं ५ का वडा अध्यक्ष लइस पठानमाथि १ करोडभन्दा बढीको ठगी, दोहोरो नागरिकता, किर्ते जालसाजी तथा चेक बाउन्ससम्बन्धी उजुरी छन् ।

उनीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा २०७४ साल साउन १२ गते प्रहरीको दर्ता किताबको दर्ता नंं १०१, १०२ र १०३ मा दोहोरो नागरिकता, लुटपाट तथा ठगी र चेक बाउन्ससम्बन्धी ठाडो उजुरी दर्ता भएको छ । यसैगरी रुपन्देही गैडहवा गाउँपालिका ६ सूर्यपुराका चन्द्रभान बढईसँग ३५ लाख रुपियाँ ठगी गरेको उजुरीसमेत परेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा फागुन १३ गते वडा अध्यक्ष पठानविरुद्ध दर्ता नं. १२२ मा घटना दर्ता भएको छ ।

गत २६ गते प्रहरी प्रवक्ता तथा डीएसपी नरेन्द्र कार्कीले वडा अध्यक्ष पठानको खोजी भइरहेको बयान दिइरहदा अर्को दिन २७ गते खोजी भइरहेको पठान सुटुक्क जिल्ला प्रहरी कार्यालय पुगेर फर्केका छन् । बिहान ११ बजेर ३० मिनेटमा पठानसहित स्थानीय सिब्बड यादव, मल्हु यादव र अधिवक्ता मदन गोपाल गुप्ता पनि प्रहरी कार्यालयमा गई मुद्दा फाँटका प्रहरी नायब निरीक्षक गोपाल श्रेष्ठसँग भेटेर १५ मिनेटसम्म कुरा गरी फर्केको प्रहरी स्रोतको दाबी छ ।

स्रोतका अनुसार प्रहरीको मूल गेटमा रहेको सीसी क्यामेराले समेत खोजी भइरहेका वडा अध्यक्ष लइसपठान भित्र छिरेको र निस्किएको फुटेज कैद गरेको छ ।

प्रहरी डीएसपी कार्कीलाई भने यसबारेमो कुनै जानकारी नभएको बताउँछन् ।  पीडित इसरार खाँनले उनी प्रहरी गेटबाट बाहिर निस्कँदै गरेको आफूले स्वयम् देखेर डीएसपी कार्कीलाई जानकारी गराउँदा समेत पक्राउ नगरेको आरोप लगाए ।

घटना–२

चैत २६ गते कपिलवस्तु नगरपालिका ३ का सुशील तिवारी बेलुकी घर नआएपछि परिवारले प्रहरीमा जानकारी गराउँछन् । बिहान पार्टीको कामले प्रशासन चोक अगाडि मोटरसाइकल राखेर दिउँसो २ः३० सम्म बजारमै रहेका उनी एकाएक बेपत्ता हुन्छन् ।

परिवारले २७ गते पत्रकार सम्मेलन गरी तिवारीलाई खोजिदिन आग्रह गर्छन् । चैत २८ गते एक्कासि उनी भारतको सोहरतगढमा पक्राउ परेका समाचार प्रकाशित हुन्छन् । भारतीय प्रहरीले उनी फरार अभियुक्त रहेको र उनीमाथि ५० हजारको पुरस्कारसमेत भएको बताउँदै २७ गते भारतको सिद्धार्थनगर जिल्लाको सोहरतगढबाट पक्राउ परेको बताएको छ ।

६ वर्ष पहिले चरेस केसमा उनलाई भारतीय प्रहरीले मुद्दा चलाई जेल पठाउने क्रममा गाडी दुर्घटना भई तिवारी नेपाल आएको उनीहरूको दाबी छ । तर जिल्ला सदरमुकामको प्रशासन गेट वरिपरिबाट व्यक्ति बेपत्ता हुनु र अर्काे दिन भारतमा पक्राउ पर्नुले नेपाल प्रहरीको सुरक्षामा ठूलो प्रश्न उठाएको छ ।

पीडितका दाजु अनिल तिवारीका अनुसार भारतीय सुरक्षाकर्मीले नेपालमै गाडी लिएर उनलाई दिउँसै पक्राउ गरी मर्यादपुरको बाटो हँुदै लिएर गएको आरोप लगाउनुभयो । स्रोतको अनुसार भारतीय एसटीएफ सुरक्षा फोर्सले उनलाई अपहरणकै शैलीमा तौलिहवाबाट लिएर भारत गएका थिए ।

मर्यादपुर हुँदै भारत लैजाँदा ४ वटा नेपाली सुरक्षा चेक पोष्ट छलेर उनलाई लैजानुमा कि त नेपाल प्रहरीको मिलेमेतो हुनुपर्छ कि त चरम लापरवाही ।

घटना ३

 चैत २७ गते : बेलुकी ८ बजेर १५ मिनेटमा दोहनीमा हार्डवेयर गर्दै आएको रजत चौधरी घर नौडिहवा जाने क्रममा बीच बाटोमै लुटिए । भारतीय नम्बरप्लेटको मोटरसाइकलमा आएका २ जना अज्ञात व्यक्तिले

उनलाई कुटपिट गरी उनीसँग रहेको २ लाख ३० हजार नगद र ३ थान मोबाइल सेट लुटेर फरार भए ।

घटनालगत्तै पीडित चौधरीले पकडी प्रहरी चौकी तथा जिल्ला प्रहरी कन्ट्रोल रूमा जानकारी गराउनुभयो । घटनाको २ दिनसम्म कुनै उपलब्धि भएको छैन ।

घटना ४

१ महिनाअघि बुद्धभूमि नगरपालिका वडा नं. १० का वडा अध्यक्ष त्रिलोकी प्रसाद खरबिन्दले उपचारका लागि तौलिहवा अस्पताल गए । नगरपालिकाले उप्लब्ध गराएको सरकारी प्लेटको मोटरसाइकल चढेर जानुभएका उहाँ पार्किङ पुग्दा मोटरसाइकल गायब थियो ।

हातमा साँचो, मोटरसाइकल छैन । लगत्तै प्रहरीमा जानकारी गराए । तर अहिलेसम्म कुनै पत्तो छैन ।

२०७४ चैत २१ गते तौलिहवाको हाटबजार अगाडिबाट दिउँसो ३ बजे लु३५प ५४५८ नम्बरको डिस्कभर मोटरसाइल हरायो । मायादेवी गाउँपालिका ७ हरनामपुरका पोखराज तिवारीले घटनालगत्तै प्रहरीमा जानकारी गराए । तर अहिलेसम्म अत्तोपत्तो छैन । तिवारी र खरबिन्दका झैं चैत महिनामा मात्र सदरमुकाम क्षेत्रबाट ४ वटा मोटरसाइकल चोरी भइसकेको छ । तौलिहवाबासीको सक्रियतामा नगरपालिका क्षेत्रको सुरक्षाका लागि विभिन्न ८ वटा स्थानमा सीसी क्यामेरा जडान भएका छन् । जसको कन्ट्रोल कार्यालय जिल्ला प्रहरीमा छ तर पनि प्रहरीले घटनाबारे कुनै निष्कर्ष निकाल्न सक्दैन ।

घटना–५

चैत २९ गते राति अज्ञात समूहले वाणगङ्गा नगरपालिका वडा नं. १० पटनाको वडा कार्यालयमा तोडफोड गरी कम्प्युटर तथा काजगपत्रमा आगजनी गरेको छ । इलाका प्रहरी कार्यालय पिपराअन्र्तगत पर्ने उक्त वडा कार्यालयमा आक्रमण गर्ने सूचना यसअघि नै आइसकेको प्रहरी स्रोतको भनाइ छ ।

स्रोतका अनुसार विप्लव नेतृत्वको नेकपाले मोटो चन्दा माग गरेको र नपाएपछि मध्यरातमा आगजनी गरेको थियो । चन्दा तथा धम्की बारे वडा अध्यक्ष रामबिहारी चौधरी प्रहरीलाई जानकारी गराएका थिए तर प्रहरीले त्यसलाई गम्भीर रूपमा लिएन ।

अहिले अज्ञात समूह भन्नेले वडा नं. ९ भलवाडको वडा कार्यालयमा आगजनी गर्ने चेतावनीसमेत दिएको छ । तर वडा नं. ९ का वडा अध्यक्ष ध्रुव बेल्बासेले धम्कीका विषयहरू आइरहेको तर प्रहरी सक्रियता न्यून भएको बताए ।

सुरक्षा व्यवस्था डामाडोल

यी प्रतिनिधिमूलक घटना हुन्, जसले विगत १ महिनायता जिल्लाको सुरक्षा व्यवस्था कस्तो छ भन्ने अनुमान लगाउन मद्दत गर्छ । विभिन्न राजनितिक दलसहित नागरिक समाज र मानव अधिकारकर्मीले समेत अहिले जिल्लामा शान्ति सुव्यवस्था राम्रो नभएको टिप्पणी गरेका छन् ।

फागुन महिनामा भएको बालक अपहरणपछि हत्या घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरी अहिलेसम्म असर्मथ छ । जिल्लाका प्रहरी प्रमुख हुन्, प्रहरी उपरीक्षक भोजजङ्ग शाह । उनको कार्यकाल थोरै बाँकी छ । त्यसैले खासै चासो नदेखाएको उनीमाथि आरोप छ ।  नयाँ आएका प्रहरी नायब निरीक्षकले अनुसन्धान भन्दै उजुरीको चाङ जम्मा गरेका छन् । अहिले अपराध नियन्त्रणमा भन्दा पनि नदीजन्य पदार्थ निकासी, अवैध उत्खनन्, डम्पिङ र लेनदेनका मुद्दामा बढी चासो देखाइरहेको प्रहरी अधिकारीमाथि आरोप लाग्ने गरेको छ ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप