बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल टेलिकमले ल्यायो विद्यार्थीहरुका लागि नयाँ अफर

आइतबार, ०२ वैशाख २०७५, १५ : ५१
आइतबार, ०२ वैशाख २०७५

काठमाडौं– नेपाल टेलिकमले बैशाख ३ गतेदेखि उपभोक्ताको थप सुविधाको लागि नयाँ अफर ल्याएको छ । उक्त कम्पनीले ह्याप्पी सोसल मिडिया प्याक र विद्यार्थी अफर उपलब्ध गराउने भएको हो । कम्पनीका अनुसार वैशाख ३ गते मनाइने आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी) को अवसरमा नेपाल  जीएसएम तथा सीडीएमएका प्रिपेड÷पोष्टपेड मोबाइलमा ‘ह्याप्पी सोसल मिडिया प्याक’ उपलब्ध गराइनेछ । यसलाई ह्याप्पी सोसल मिडिया प्याक अन्तर्गत फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप चलाउन सकिने छ । 

उक्त अफर २०७५ बैशाख ३ गतेखि १८ गतेसम्म लिन सकिनेछ ।  ह्याप्पी सोसल मिडिया प्याक अन्तर्गत २१ रुपैयाँमा २ सय ५० एमबी डाटा प्राप्त हुनेछ । सो प्याक विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म प्रयोग गर्न सकिने कम्पनीको दाबी छ । सो प्याक ७ दिन अवधिसम्म प्रयोग गर्न सकिनेछ । ह्याप्पी सोसल मिडिया प्याक चलाउँदा वेब ब्राउजर नभई सम्बन्धित सोसल मिडियाको एप्स नै प्रयोग गर्नु आवश्यक हुने जनाइएको छ । 
त्यस्तै कम्पनीले एसईई परीक्षा दिएका र उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुका लागि विद्यार्थी अफर उपलब्ध गराउने भएको छ । सो अफर पनि बैशाख ३ गते देखि उपलब्ध हुने जनाइएको छ ।   सोही प्याक अन्तर्गत विद्यार्थीहरुलाई रु. ५० टक भ्यालु भएको सिम निःशुल्क उपलब्ध गराइने छ । सो रकम मध्ये १० रुपैयाँमार्फत कल गर्न, डाटा खरिद गर्न वा एसएमएस गर्न जस्ता सबै सुविधा उपयोग गर्न सकिने कम्पनीले जनाएको छ । बाँकी ४० रुपैयाँमार्फत ४० मिनेट कल गर्न, ६० एमबी डाटा खरिद गर्न र २० वटा एसएमएस गर्न सकिने छ । यी सबै सुविधा ३० दिनभित्र उपभोग गरिसक्नु पर्नेछ । 

विद्यार्थीहरुलाई ६ महिनासम्म बोनसको रुपमा प्रतिमहिना ४० मिनेट भ्वाइस कल गर्ने, ६० एमबी डाटा चलाउने र २० वटा एसएमएस पठाउने सुविधा समेत उपलब्ध गराइने छ । यो सुविधा उपभोग गर्ने समयावधि ७ दिनको हुने जनाइएको छ । 

त्यसैगरी सो अफर अन्तर्गत रजिष्टर गरिएका सिममा ५० रुपैयाँ वा सो भन्दा बढी रकम रिचार्ज गर्दा समेत १ वर्षसम्म प्रत्येक रिचार्जमा बोनस उपलब्ध गराइने छ । ५० रुपैयाँ रिचार्ज गर्दा बोनस अन्तर्गत १० मिनेट भ्वाइस कल गर्न र ५० एमबी डाटा खरिद गर्न सकिने छ ।

रिचार्ज गरिसके पछि यो सुविधा ३ दिन भित्र उपभोग गरिसक्नु पर्नेछ ।  अफर अन्तर्गत उपलब्ध भ्वाइस कल र एसएमएस नेपाल टेलिकमकै नेटवर्क भित्रका नम्बरका लागि मात्र उपलब्ध हुने कम्पनीले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

एसईई, उच्च मावि र सोभन्दा माथिल्लो तहका बिद्यार्थीहरुलाई बिद्यार्थी अफरको सिम उपलब्ध गराइने पनि कम्पनीले जनाएको छ । एसईई परीक्षा दिएका विद्यार्थीहरुले सो सिम लिनका लागि विद्यालयको आईडी कार्ड वा परीक्षाको एडमिट कार्ड, फोटो र आफ्नो अभिभावकको नागरिकताको प्रतिलिपी उपलब्ध गराउनु पर्ने विज्ञप्तिमा जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप