बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सिरियाको जमिनमा हमला गर्ने को हुन् यी १३ देश

आइतबार, ०२ वैशाख २०७५, १० : ४७
आइतबार, ०२ वैशाख २०७५

सिरियामा जे भइरहेको छ, त्यो थुप्रैका लागि ‘मिनी वर्ल्ड वार’ जस्तै छ अर्थात् सानो विश्वयुद्ध ।

सिरिया विगत सात वर्षदेखि युद्धमा होमिएको छ । यो गृहयुद्धमा २० देश प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा संलग्न छन् ।

सिरियामा विद्रोहीको नियन्त्रणमा रहेको डूमा शहरमा संदिग्ध रासायनिक हमलापश्चात् संसारका अन्य देशले अमेरिकाको जवाफी कारवाहीको प्रतिक्षा गरिरहेका थिए ।

यो कारवाहीमा फ्रान्स र बेलायतले अमेरिकाको साथ दिइरहेको छ तर पछिल्ला वर्षमा सिरियामाथि केवल यी देशले मात्र हमला गरेको भन्ने होइन ।

बीबीसी हिन्दीले सिरियामाथि हमला गर्ने देशको लामो सूची तयार गरेको छ, जसलाई रातोपाटीले साभार गरेको छ ।

रुसः

सोभियत संघको पालादेखि रुसले सिरियालाई साथ दिइरहेको छ ।

रुसको असर सिरियामाथि आज पनि छ  र भ्लादिमीर पुटिनको सरकारले हतियार र अन्य सामाग्रीले बशर अल–असदको हैकमलाई बचाउने आश्वासन दिएका छन् ।

सिरियाको मोर्चामा रुसले सन् २०१५ को सेप्टेम्बरमा कदम राखेको थियो । त्यतिबेलादेखि नै  त्यहाँको स्थिती राष्ट्रपति बशर अल–असदको पक्षमा बनेको थियो ।

रुसले विद्रोहीका साथै आफूलाई इस्लामिक स्टेट बताउने चरमपन्थी संगठनमाथि बमबारी गरेको बताएको छ ।

तर संयुक्त राष्ट्रको एक अनुसन्धान आयोगले उक्त दाबीलाई खण्डन गर्दै रुसको हमलाले अनेकौं सर्वसाधारण हताहत भएको छ ।

अमेरिकाः

सिरियामा गृहयुद्ध सुरु भएलगत्तै त्यहाँको विद्रोही संगठनले अमेरिकाको सहयोग पाइरहेको छ ।

सन् २०१३ मा पनि सिरियाली सरकारमाथि रासायनिक हमला गरेको आरोप लागेको थियो ।

तर तत्कालीन अमेरिकी राष्ट्रपति बराक ओबामाले सिरियामाथि कुनै जवाफी कारवाही गरेका थिएनन् ।

सन् २०१४ मा पश्चिमी देश र खाडी क्षेत्रका उनका सहयोगीले इस्लामिक स्टेटको इलाकामा ११ हजारभन्दा बढिपटक हमला गरे ।

सन् २०१७ मा राष्ट्रपति ट्रम्पले सिरियाली नागरिकमाथि संदिग्ध रासायनिक हतियारमार्फत हमलापछि हवाई स्थानमा मिसाइलले हमला गर्ने आदेश जारी गरेका थिए ।

सन् २०१८ को अप्रिलमा डूमामा संदिग्ध रासायनिक हमलाबारे सार्वजनिक भयो र त्यसपछि ट्रम्पले जवाफी कारवाहीको चेतावनी दिए ।

बेलायतः

सन् २०१५ देखि नै बेलायती एयरफोर्स फाइटर प्लेनले सिरियामा इस्लामिक स्टेटको इलाकामा हमला जारी राखेको छ ।

बेलायतले इस्लामिक स्टेटको कब्जामा रहेको तेल खानीलाई पनि निशाना बनाएको छ ।

सन् २०१३ मा जब दमास्कसको पूर्वी इलाकामा रासायनिक हमलाको घटना सार्वजनिक भएको थियो तब ब्रिटेनका राष्ट्रपतिले असदकोको फौजी इलाकामा हमला गर्ने सोच बनाएका थिए ।

तर तत्कालीन समयमा बेलायती संसदमा यसबारे भोटिङ भयो जसका कारण यो प्रस्ताव खारेज गरियो ।

अहिले जब डूमामा एक पटक पुनः रायानिक हमलाको घटना सार्वजनिक भयो तब बेलायती प्रधानमन्त्री टेरिजा मे ले घोषणा गरिन्, ‘यसलाई सजायँ नदिई छोड्दैनौं ।’

फ्रान्सः

फ्रान्सले सन् २०१३ देखि नै सिरियाको विद्रोही संगठनलाई हतियार प्रदान गर्दै आएको छ । सन् २०१५ देखि इस्लामिक स्टेटको इलाकामा हवाई हमलामा फ्रान्सको पनि संलग्नता रह्यो ।

सिरियासँग फ्रान्सको ऐतिहासिक सम्बन्ध रहँदै आएको छ । सिरियाको गृहयुद्धको सुरुवातदेखि नै यसको नतिजामा फ्रान्सले निकै चासो राख्दै आएको छ ।

फ्रान्सका राष्ट्रपतिले बशर अल–असदको सरकारलाई समर्थन गर्दैनन् ।

सन् २०१३ मा जब सिरियाली सेनाको इलाकामा हवाई आक्रमणको कुरा आएको थियो तब फ्रान्सको सरकारले तत्काल यसको समर्थन गरेको थियो ।

अहिलेका राष्ट्रपति इम्यानुएल म्याक्रों पनि सिरियामा सैनिक कारवाहीका पक्षधर हुन् ।

क्यानडाः

सिरियामा इस्लामिक स्टेटको इलाकामा बमबारी गर्ने अमेरिकी गठबन्धनमा क्यानडा पनि समावेश थियो ।

सन् २०१६ मा जब क्यानडामा जस्टिन ट्रूडोको सरकार बन्यो तब क्यानडा अमेरिकी गठबन्धको अभियानबाट बाहिर निस्किएको थियो ।

जस्टिन ट्रूडोले आफ्नो देश सिरियामाथि अमेरिकाको हमलामा भाग नलिने घोषणा गरेका थिए ।

अष्ट्रेलियाः

क्यानडाजस्तै अष्ट्रेलिया पनि इराक र सिरियामा इस्लामिक स्टेटको इलाकामा अमेरिकी हमलामा समावेश भएको थियो ।

अष्ट्रेलियाले जुन हमलामा भाग लिएको थियो त्यसैमा गल्तीपूर्वक ९० सिरियाली सैनिकको मृत्यु भएको थियो ।

ती सिरियाली सैनिकलाई इस्लामिक स्टेटका चरमपन्थी ठानिएको थियो । प्रधानमन्त्री म्याल्कम टर्नबुलले यो घटनामा माफीसमेत मागेका थिए ।

नेदरल्याण्डः

सन् २०१४ को सेप्टेम्बरमा नेदरल्याण्डले इस्लामिक स्टेटविरुद्ध चलिरहेको सैनिक कारवाहीमा संलग्न हुने घोषणा गरेको थियो ।

सन् २०१५ सम्म इराकमा इस्लामिक स्टेटको इलाकामा नेदरल्याण्डले आफ्नो एफ–१६ लडाकू विमानमार्फत सयौं हवाई हमला गरे ।

सिरियामा पनि नेदरल्याण्डले आफ्नो सैनिकको उपस्थिती गरायो ।

सन् २०१६ मा नेदरल्याण्डले सिरिया र इराकबिच इस्लामिक स्टेटको सप्लाई लाइनमा हमलाको कारवाही तीब्र रुपमा बढाउने निर्णय गरेको थियो ।

इरानः

एक शिया मुलुक भएका कारण सिरियामा इरानको विशेष रुची छ ।

बशर अल असदको सरकार टिकाइराख्न इरानले सिरियालाई सैन्य मद्दतका साथै सामग्री र आर्थिक सहायता प्रदान गर्दै आएको छ ।

यतिमात्र होइन इरानले आफ्नो जमिनमाथि सिरियाको विद्रोही संगठनको इलाकामा पनि मिसाइल हमला गरेको छ ।

टर्कीः

टर्कीको सरकारले सिरियाको उत्तरी इलाकामा आफ्नो उपस्थिती बढाएको छ ।

यद्यपी, टर्कीका राष्ट्रपतिले असद सरकारको विरोध गर्दछन् र आफूलाई इस्लामिक स्टेट बताउने चरमपन्थी संगठनको विरोधमा पनि उत्रिने गरेका छन् ।

तर टर्की आफ्नो सीमामा राखिएको सिरियाली इलाकामा कुर्दिस गुट बलियो होस् भन्ने पनि चाहँदैन ।

सिरियाको आफरीनमा टर्कीले कुर्द संगठन वाइपीजीविरुद्ध सक्रिय लडाईं जारी छ र उत्तरी सिरियामा बमबारीसमेत गरेको छ ।

साउदी अरबः

सिरियामा इरानको असरको विरोध गर्ने देशमा साउदी अरब सबैभन्दा प्रमुख हो ।

बशर अल–असदको सरकारविरुद्ध लडिरहेका विद्रोही संगठनलाई साउदी अरबले ठूलो मात्रामा हतियार प्रदान गर्दै आएको छ ।

यतिमात्र होइन, साउदी अरबले विद्रोही संगठनलाई रणनीतिक गोप्य जानकारी र अन्य किसिमका मद्दत पनि प्रदान गर्दछ ।

साउदी अरबले अमेरिकासँग मिलेर सिरियास्थित इस्लामिक स्टेटको इलाकामा आठ हवाई हमला गरेका थिए ।

सिरियामा कथित रासायनिक हमलाविरुद्धको कारवाहीमा अमेरिका र फ्रान्सको बमबारीलाई साउदी अरबको समर्थन रहेको छ ।

इजराइलः

सिरियाको गृहयुद्धका बेला इजराइलको लडाकू विमान सिरियाको आकाशमा देखिएको थियो ।

यद्यपी, इजराइल लामो समय सिरियाको मामलामा तटस्थ रहँदै आएको छ तर यसलाई पनि इरानको प्रभावमा आपत्ति छ ।

लेबननमा इजराइलको सबैभन्दा ठूलो दुश्मन हेजबुल्लालाई सिरियामा इरानको हस्तक्षेपले थप शक्तिशाली बनाएको इजराइलको मान्यता छ ।

इरान र हेजबुल्लासँग सम्बन्धित भवनमा इजराइलले सयभन्दा बढि बमबारी गरिसकेका छन् ।

यसै वर्षको फेब्रुअरीमा सिरियाको एन्टी–मिसाइल सिस्टमले एक इजराइली फाइटर प्लेन खसालेको थियो ।

इजराइलले सिरियाको १२ इलामा ठूलै हमला गरिसकेको छ ।

बहराइन र जोर्डनः

मध्यपूर्वका यी दुई देश सिरियामाथि बमबारीसँग सम्बन्धित छन् ।

जोर्डनले हवाई हमलामा समावेश हुने निर्णय त्यतिबेला लिएको थियो जब इस्लामिक स्टेटले खुलेर उसका राजा अब्दुल्लालाई सत्ताच्यूत गरिदिने धम्की दिए ।

इस्लामिक स्टेटले जोर्डनको सीमावर्ती इलाकामा रकेटमार्फत हमला गरे ।

सन् २०१४ मा इस्लामिक स्टेटले एक सैनिक विमानलाई खसाल्यो, पाइलटलाई पक्राउ गरेर जिउँदै जलायो ।

सन् २०१५ मा बहराइन पनि सिरियाको इस्लामिक स्टेटविरुद्ध सैनिक कारवाहीमा समावेश भएको थियो ।

सिरियामा दखल दिने अन्य देशः

यी १३ देशबाहेक जर्मनी, नर्वे, लिबिया र इराकजस्ता देशले पनि सिरियामा सैनिक कारवाहीमा भाग लिएका छन् ।

जर्मनीले सिरियामा आफ्ना १२ सय सैनिक तैनाथ गरेका थिए । संसारमा कुनै पनि देशमा जर्मन फौज सबैभन्दा धेरै तनाथ थिए ।

नर्वे सिरियाको मोर्चामा अमेरिकाको साथमा छ । नर्वेले विद्रोहीलाई तालिम र अन्य सहयोग प्रदान गर्दछ ।

कर्नल गद्दाफीको पतनपछि लिबियाले पनि विद्रोही संगठनको पक्षमा सन् २०११ मा आफ्नो सैनिक सिरिया पठाएको थियो ।

इराकलाई पनि इस्लामिक स्टेटको समस्या रहेको छ र यसले अमेरिकाको मर्जीविरुद्ध बशर अल–असदको समर्थनमा इरानको विमानलाई आफ्नो वायुसीमाबाट यात्रा गर्न अनुमती दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप