केन्द्रीय संस्करण

‘कमरेड’ पहाड, यसरी बने ‘पहाडबाबा’

person access_timeचैत ३०, २०७४ chat_bubble_outline0

पाँच लाख रुपैयाँ लिएर घर फर्के ।

एक लाखमा सवा पाँच धुर जग्गा किने ।

बाँकी रुपैयाँले घर बनाउने योजना बनाए । 

योजनाअनुसार घर बन्दै छ ।

पूरा भएको छैन । 

घरमा श्रीमती र छोराबुहारी छन् ।

छोरीको बिहे भइसकेको छ ।

निर्माणकार्य पूरा भए पनि उनी घरमा बस्न पाउँदैनन् ।

किन ?

‘परिवारसँग बस्न हुँदैन,’ उनले सुनाए, ‘बसे कार्कीबाबाले मार्छन् । तर, कहिलेकाहीं परिवार भेट्न घर पुग्छु । पाँच वर्षअघि खानदानबाट अलग भइसकेको हुँ । परिवारसँग अलग भए पनि माया त लागिहाल्छ नि ।’

प्लाटुन कमान्डर भइसकेका मानिस कसरी बाबा बने होलान् ? 

सोलु–सल्लेरी स्मृति ब्रिगेड दुधौली सिन्धुलीबाट स्वेच्छिक अवकाश लिँदा कमरेड पहाडको हातमा पाँच लाख रुपैयाँ थियो । त्यही रुपैयाँ लिएर घर पुगे । घर पुगेपछि उनलाई पुरानै व्यथाले छोप्यो ।
घर पुगेपछि उनलाई जटाधारी कार्की बाबाले पटक–पटक भने, ‘सारा त्यागेर वैष्णव हुनुहोस् । म तपाईंमा प्रकट हुन्छु ।’ 

 

कमरेड पहाडले कार्कीबाबाको आज्ञा पालन गरे । कुराकानीक्रममा नाम उच्चारण गर्नसाथ पहाडबाबामा कार्कीबाबा प्रकट हुन्थे । कार्की बाबा प्रकट हुँदा पहाड बाबा काँप्थे । कुराकानी थाल्दा स्वाभाविक देखिएका उनी त्यतिबेला अस्वाभाविक देखिन्थे । केही समयपछि फेरि पहिल्यैका अवस्थामा फर्कन्थे । कार्कीबाबा प्रकट हुँदा आफूलाई अप्ठ्यारो नहुने उनले बताए । 

कार्कीबाबा प्रकट भएको पहाडबाबासँग कस्तो शक्ति होला ?

‘अथाह शक्ति छ,’ उनले प्रस्ट्याए, ‘श्राप दिए लाग्छ । वैष्णव भएकाले श्राप दिन मिल्दैन । श्राप दिए उल्टै पाप लाग्छ । जसलाई श्राप दियो उसको नाश हुन्छ । साधु हुँ । कसैले चित्त दुखाए पनि संयम अपनाउँछु ।

विवेक गुमाउँदिनँ । बाबाले सहने शक्ति दिएका छन् ।’

कहिलेकाहीं विवेक गुमाएर श्राप दिनुभयो भने नि ?

‘नाइँ,’ उनी प्रतिबद्ध छन्, ‘विवेक गुमाउँदिनँ । गुम्दै गुम्दैन ।’

कसैले अचाक्ली गरे भने ?

‘असह्य भए पनि बाबाले श्राप दिने आदेश दिँदैनन्,’ उनले थपे, ‘बाबाले आदेश नदिई आफैंले श्राप दिन मिल्दैन । कसैले गाली गरे, झापड हाने अँध्यारो देख्छु ।’

पहाडबाबाले आफूसँग भएको मन्त्रोच्चारण गरे । ‘मन्त्र त्यत्तिकै बलशाली हुन्छ,’ उनको दाबी थियो, ‘मन्त्रोच्चारण गर्दा गाउँघरमा दैवी विपत्तिबाट जोगिन सघाउँछ ।’ 

‘सिरहाको सुखीपुर गाउँपालिकाअन्तर्गत कुशाहा गाउँमा चार सय सेनाको घेरामा परें,’ उनले उदाहरण दिए, ‘हतियारसहित रहेको मैले कार्कीबाबालाई सम्झें । त्यतिबेला मैले सेनालाई देख्थें । उनीहरूले मलाई देख्दैनथे । १२ घन्टा त्यसरी नै घेरिएँ । यहीं हो त देखेको कसरी भागे भन्दै सेनाले कुराकानी गरेको मैले प्रस्टै सुन्थें ।’

पहाडबाबा जनतान्त्रिक पार्टीसम्बद्ध कार्यकर्ताको कडा यातनाबाट समेत जोगिएका थिए । उनलाई मरणासन्न हुनेगरी यातना दिइयो । ‘यातना पाउँदा कार्कीबाबालाई सम्झन सकिनँ,’ उनले थपे, ‘यातनापछि सम्झें । त्यतिबेला जनतान्त्रिकका दुई कार्यकर्ता वास्तविकता मेरो गाउँ पुगिसकेका थिए । पछि यातना दिनेले माफी माग्दै मलाई छाडिदिए । कार्कीबाबा सम्झेकाले बाँचें ।’ सशस्त्र जनयुद्धमा रहँदासमेत कहिलेकाहीं कार्कीबाबा प्रकट हुन्थे । 

साधु भएपछि आफू महासंकटमा परेको उनको स्वीकारोक्ति छ । लोभलालच, मायामोहलगायत सबै–सबैदेखि टाढा रहेका उनी कसरी संकटमा परे होलान् ? भन्छन्, ‘संकटकाल लाग्दा आमनागरिकले जस्तो दुःख पाउँछन्, त्योभन्दा दोब्बर संकटमा छु ।’

कसरी ?

‘त्यतिबेला जसको विरुद्धमा लडें । यतिबेला उनीहरूले मलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको छ,’ उनले प्रस्ट्याए, ‘सहोदर भाइलाई उकासेर स्थानीयले उल्टै मलाई अंशबण्डा मुद्दा हालेका छन् । तर, म जहिल्यै सकारात्मक छु । धार्मिक भइसकेकाले मलाई यही जीवन सुन्दर लाग्छ ।’

बाबाजी बन्नुभयो । धर्मकर्म गर्नुस् । हामी सधैं तपाईंसँगै हुनेछौं भनेर परिवारले समेत उनलाई सान्त्वना दिन्छन् । धार्मिक र सामाजिक रूपबाट समाजलाई योगदान दिन उनी त्यत्तिकै प्रतिबद्ध छन् । 

पहाडबाबाले के–के खान्छन् होला ? कौतूहल लाग्नु अस्वाभाविक होइन ।

एक छाक सुक्खा रोटी र एक छाक भात खाने उनले मादक पदार्थ र माछामासु खाँदैनन् । 

रातो र सेतो रङको कपडा लगाउने उनी राति पाँच घन्टा सुत्छन् । ‘सधैं मध्यरातमा ध्यान गर्नुपर्छ,’ उनले भने, ‘त्यसपछि राति तीनदेखि चार बजेसम्म त्यस्तै गर्छु । माला जप्छु । दिनमा एकपटक एक घन्टा ध्यान बस्छु ।’ 

बन्दीपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, भोजपुरलगायत दर्जनौ युद्ध लडेका कमरेड पहाडको दिनचर्या परिवर्तन भएको छ । कमरेड पहाड पहाडबाबा बने पनि सामना परिवारमा रहेर गाएको ‘अरुण तरेर नाना तमोर तरेर, आयौं हामी वीरताको गाथा कोरेर’ गीत बिर्सेका छैनन् । ‘युद्ध हामीले लडेका हौं,’ उनले छातीमा हात राखेर गर्व गरे, ‘प्रचण्डले होइन । प्रचण्डलाई यहाँसम्म हामीले ल्याइपुर्याएका हौं ।’ 

कमरेड अविरले राम परिक्षण साफीको नाम कमरेड पहाड राखिदिएका थिए । ४० वर्षीय कमरेड पहाड पाँच वर्षदेखि पहाडबाबाले परिचित छन् । उनले दुःखको पापड बेल्नसम्म बेलेका थिए । जुन उनी सम्झन चाहँदैनन् । कुराकानीक्रममा उनले फर्मेसन गीतसमेत सुनाए । 

विक्रम संवत् २०५८ मा जनमुक्ति सेनामा हिँडेका पहाडबाबासँग राजनीतिक चेत प्रखर छ । केही समयअघि पूर्वप्रधानमन्त्री डा. बावुराम भट्टराई र पूर्वमन्त्री हिसिला यमीले पहाडबाबासँग भेटेको समाचार प्रकाशित भएको थियो । पहाड बाबाले डा. भट्टराई पुनः प्रधानमन्त्री बन्ने दाबी गरे  । 

ब्लग : बाबासँग बाबुराम

पहाड बाबा दस/बाह्र वर्षको हुँदा घर छाडेर कहाँ–कहाँ पुग्थे । कसैले भनेको मान्दैनथे । अर्धपागलजस्तै भएका थिए । त्यतिबेला उनमा कार्कीबाबा प्रकट हुन खोज्दै थिए । आमाबुवाले धामीझाँक्री गरे । सामान्य अवस्थामा फर्केपछि बिहे गरिदिए । उनी जनमुक्ति सेना बने । युद्धमा समेत सामान्य अवस्थामा थिए । स्वेच्छिक अवकाश लिएर घर पुगेपछि तिनै कार्कीबाबाले पटक–पटक भनेपछि बाबाजी बनेका हुन् । 

दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X