बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीमा खुल्लाबाट एकजना महिला मात्रै विजयी

शुक्रबार, २३ असार २०७४, १३ : २३
शुक्रबार, २३ असार २०७४

गुल्मी– गुल्मी जिल्लाका २ नगरपालिका, १० गाउँपालिका र ९३ वटा वडाहरुमा खुल्ला सदस्यबाट जम्मा एकजना महिलाले मात्र जीत हाँसिल गरेकी छन् ।  धुर्कोट गाउँपालिका वडानम्वर–२ पिपलधाराको खुल्ला सदस्यमा माओवादी केन्द्रकी ३१ वर्षिया कमला घर्तिले पुरुष उम्मेदवारलाई हराएर ईतिहास रच्न सफल भएकी हुन् । कांग्रेस–माओवादी संयुक्त प्यानलकी उमेदवार घर्तीले रुख चिन्ह लिएर खुल्ला सदस्यमा उमेदवारी दिएकी थिईन् ।

उनका प्रतिष्पर्धी नेकपा एमालेका लालबहादुर केसीलाई भारी मत अन्तरले पछाडी पार्दै उनले जित हाँसिल गरेकी हुन् । घर्तिले ७२८ मत ल्याउँदा प्रतिष्पर्धी एमाले उमेदवार केसीले ५९८ मत प्राप्त गरेका थिए । प्रमुख निर्वाचन अधिकृत मातृकाप्रसाद मरासनीका अनुसार विभिन्न राजनैतिक दलले १८६ जनामध्ये जम्मा ९ जना महिलालाई खुल्ला सदस्यको उम्मेदवार खडा गरेका थिए । 


यस्तै १८५ जना पुरुषले खुल्ला सदस्यबाट जितेका छन् । जिल्लाभर खुल्ला सदस्यका लागि ९  जना महिला र ५०२ जना पुरुषको उमेदवारी परेको थियो । गुल्मीमा महिलाहरुको मत संख्या हेर्ने हो भने पुरुषको भन्दा ८ हजार ६ सय १५ ले बढि छ । जिल्लाको कुल मत सख्या १ लाख ८० हजार ७ सय ७५ मध्ये  महिलाको मत सख्या ९४  हजार ७  सय ५९ रहेको छ भने पुरुषको मतसख्या  ८६ हजार १५ रहेको छ ।


पुरुषलाई हराउने आँट थियो, पुरा गरें


नवनिर्वाचित वडासदस्य घर्तिले सुरुमा वडाध्यक्षको उमेदवारी दावी गरेकी थिइन् । माओवादी केन्द्रले पनि उनलाई  वडानम्वर २ को वडाध्यक्ष उमेदवार खडा गरेको पनि थियो । पछि कांग्रेससँग तालमेल हुँदा उनलाई महिला सदस्यमा उठ्न आग्रह गरिएको उनले बताइन् ।

‘म जस्तो सक्षम महिलाले नै आरक्षणमा लड्ने हो भने अरु महिलाले के गर्ने ? भन्ने प्रश्न  गरें’–  घर्तिले भनिन्–‘खुल्लामै लड्छु नत्र उमेदवारी नै दिन्न भनेर अड्डी लिएँ  र खुल्लाबाटै पुरुषलाई हराउने मेरो आँट पुरा पनि भयो । ’ साविकको पिपलधारा–२ निवासी घर्ति , धुर्कोटरजस्थलको धुर माध्यामिक विद्यालयमा र पछि जैसीथोकको पञ्चायन माध्यामिक विद्यालयबाट  एसएलसी पास गर्ने बेला सम्मको अनुभव स्मरण गर्दै पत्रकार भरत पाण्डेले उनि विद्यार्थी कालमा पनि पुरुष  विद्यार्थी साथीहरुसँग कडा रुपमा प्रस्तुत हुने गरेको वताए ।

जिल्ला खेलकुद विकास समितिको  सदस्यबाट राजिनामा दिएर  चुनावमा लडेकी घर्ति माओवादी केन्द्र गुल्मीकी जिल्ला सदस्य हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप