केन्द्रीय संस्करण

प्रचण्डसँगको साक्षात्कार

person access_timeचैत २९, २०७४ chat_bubble_outline0

जनयुद्धको समयमा प्रचण्ड नामको कोही व्यक्ति नभएको या कुनै व्यक्तिको छदम नाम भएको यस्तैयस्तै कुराहरू हुने गर्दथ्यो  । समय समयमा साप्ताहिक पत्रिकामा प्रचण्ड भनेर नबुझिने श्यामश्वेत तस्बिर पनि छापिन्थ्यो  । तर तस्बिरका प्रचण्ड र साँच्चिकैका प्रचण्ड अर्कै भन्ने हल्ला पनि खुबै चल्ने गथ्र्यो  । विभिन्न अड्कलबाजी पनि लाउँथे आम मानिसले  । साथै प्रचण्डलाई सर्वसाधारण आम मानिसले मात्रै होइन उनकै पार्टीका कार्यकर्ताले समेत देखेका थिएनन्  । उनीहरूमा पनि कौतूहलता थियो, आम मानिस सरह । 

तर गिरिजा बाबुको शान्ति सम्झौताको नीतिसँगै नेपाली राजनीतिमा प्रचण्ड नाम अनुरूप नै प्रभाव पार्दै छाउँदै आएको छ र हाल नेपाली राजनीति वृत्तको एक पर्यायवाची नाम बनिसकेको छ । शान्ति सम्झौता र गोलमेच सम्मेलनको बेला नै प्रचण्डको परिचय एक नायकका रूपमा भइसकेको थियो । दिनहुँको हत्याहिंसा तथा देशको भौतिक संरचना सम्पत्ति धवस्त भयो र देश पचास वर्ष पछाडि धकेलियो भनी चिन्ता लिने हामीजस्ता लाखौं जनता सबैले पनि प्रचण्डको त्यो जितमा खुशी मनायौं । 

पहिलो कुरा त देशमा शान्ति छाउने कुरा थियो, अर्को भनेको प्रचण्डको नेतृत्वमा आजको समयमा भएको क्रान्ति धेरै हदमा सफल भएको मान्नु थियो । एउटा सपना पूरा भएको थियो । जङ्गलबाट सत्ता, सत्ताबाट सदन अनि सरकार । आखिर त्यसैका लागि नै थियो, क्रान्ति । यानि कि आफ्नो योजना तथा सपनालाई मूर्तरूप दिने ठाउँ । यसै बेला देशविदेश सबैले प्रचण्डलाई चिन्ने, देख्ने अवसर मिल्यो । प्रचण्ड नाम मात्रै होइन साँच्चिकै छ भन्ने थाहा भयो, पाइयो । धेरैका धेरै भ्रम पनि चिरियो ।

यिनै व्यक्तित्वसँग सार्वजनिक भएको करिब आठ वर्षपछि साक्षात्कार गर्ने अवसर मैले पाएको थिएँ, सन् २०१३ मा, पैचिङस्थित चीनका लागि नेपाली दूतावासमा । धर्मपत्नी सीतासँग थिए उनी र मसँग थिए मेरा सीआरआईका साथीहरू । तिनीहरू सबै नेपाली माओलाई भेट्न इच्छुक थिए ।

हुन त गृह युद्धको बेला या भूमिगत अवस्थाको जस्तो चार्म त हुने कुरा भएन यसअघि नै शान्ति सम्झौतापछि संविधान सभाको निर्वाचन अनि प्रधानमन्त्री यसरी सार्वजनिक भइ नै सकेको हो, थियो । तापनि चीनमा भेट्न पाउनु अनि त्यो पनि प्रश्नसमेत तेस्र्याउने अवसर पाएकाले म भने निकै गद्गद् पनि थिएँ । साँच्चै भन्नुपर्दा नेपालमा भएको भए यस्तो क्रेज पनि हुन्न थियो कि या कतै कुनै कार्यक्रममा भेट भए पनि समय लिएर कुरा गर्न अवसर पक्कै पनि मिल्दैन थियो, सायद ।

विश्वको दोस्रो आर्थिक शक्ति चीनको राष्ट्राध्यक्षको जिम्मेवारी सम्हालेको एक महिना पुगेकै दिन सीले दक्षिण एसियाका पहिलो नेताका रूपमा माओवादी अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए । सन् २०१३ मा सी चिनफिङ चिनियाँ राष्ट्राध्यक्ष भइसकेपछि दक्षिण एसियाली नेताहरूमा नै पहिलो नेताका रूपमा भेटको अवसर मिलेको भनेर प्रचार पाएको यस भ्रमण क्रममा चिनियाँ राष्ट्राध्यक्षसँगको भेट पछिको सम्बन्धमा जिज्ञासा तथा प्रश्नोत्तर राख्ने अवसर मिलेको थियो । हुन त उनी गम्भीर नै देखिन्थे तापनि धेरै पछि यिनै व्यक्तित्वको अनुहारमा फेरि एक पटक रौनकता देखेको थिएँ । 

विजय उन्मादको समयमा प्रचण्डको अनुहार निकै नै तेजिलो थियो । देखिन्थ्यो तर पछिल्लो समयमा या हाल त्यो चमक हराइसकेको छ । तपाईंले पनि अनुभूत गर्नु भएकै होला । तापनि मैले चिनियाँ राष्ट्राध्यक्ष सी चीन फिङसँगको भेटवार्तापछिको मेरो भेटमा उनमा केही रौनक देखेँ । मुहार स्पष्ट रूपमा उत्तेजित थियो । पहिलो दक्षिण एसियाली नेताको रूपमा नव चिनियाँ नेतृत्वको निम्तो पाएकाले साथै आफ्नो नयाँ आर्थिक क्रान्तिको आवाजमा समर्थन पाएर पनि हुन सक्छ । यसै भेटमा प्रचण्डले सीसमक्ष केरुङसम्म पुग्ने रेललाई लुम्बिनीसम्म पु¥याउने माग राखेका थिए । जहाँसम्म लाग्छ, यसलाई सर्वप्रथम उठाउने काम प्रचण्डले गरेका हुन् । (जुन पछि चिनियाँ महत्वाकाङ्क्षी बेल्ट एन्ड रोड इनिसिएटिभको प्रसङ्मा उठ्ने गरेको छ ।) यसै दिन नेपाली दूतावासमा प्रचण्डले ‘नेपाल–चीन मैत्री भ्रमण वर्ष २०१२’ लाई केन्द्रित गरी दूतावासले प्रकाशित गरेको तस्बिर पुस्तक पनि विमोचन गरेका थिए ।

दूरगामी सोचका सशक्त रूपमा आफ्नो विचार राख्नसक्ने चिनियाँ नेताले प्रचण्डलाई यसरी त्यस बेला निम्तो दिनुको अर्थ चीनको दक्षिण एसियामा प्रवेश, छिमेकी मुलुकको उत्थान्, जुन उनको सम्बोधनमा पाइन्छ पनि, यस्तै कुरा र नेपालको उच्च हैसियतको नेता जसले अग्रगामी सोचलाई नेतृत्व गर्नसक्ने क्षमता राख्छ या दुवैको विचारमा एकरूपता या सहमति जुट्नसक्ने सोचेर नै भेट्न चाहेको होला । तर देशमा प्रचण्डले सारा नेपाली जनताको विश्वास भने जित्न सकेनन् । सार्वजनिक भएदेखि नै प्रचण्डले विभिन्न अभिव्यक्तिहरू दिएर तहल्का मच्चाइरहेका थिए नै र फेरि गल्ती भयो भनेर बोलीसमेत फेर्ने गरेर आफ्नो कद घटाउँदै लगेका थिए । त्यसैगरी विलासिता जीवन अपनाएको आरोप अनि कार्यकर्ताबीच तथा पार्टीभित्र पनि समय समयमा विवादमा तान्ने गरेबाट अविश्वास तथा विवादको घेरामा रहँदैआएका छन् ।
तापनि प्रचण्ड समकालीन नेपाली नेताहरूमा सर्वाधिक राष्ट्रिय र अन्तराष्ट्रिय चर्चा पाएका नेता हुन् भन्दा फरक पर्दैन । यसरी त्यस बेला तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पहिलो पल्ट साक्षात्कार गर्न अवसर मिलेको पल यदि उनले देशलाई साँच्चिकै हाँक्न सकेमा सदा सम्झनामा रहिरहने छ । 

नेपालको आर्थिक समृद्धिका लागि केन्द्रित भनिएको त्यस भेटसम्म आइपुग्दा ढिलै भए पनि आर्थिक समृद्धिबाट नै जनताको हित कल्याण हुन्छ भन्ने कुरा प्रचण्डको विचारमा पलाएको छ भन्ने बुझियो । जुन हामीजस्ता आम नागरिकले त्यसै गृह युद्धकालको समयमा पनि यत्रो पकड तथा नेतृत्व क्षमता भएको पुरुषले अलि सोच र बाटोलाई परिवर्तन गरे युगीन नेता बन्नसक्ने विश्वास गरेका थियौं । तर विडम्बना आजका दिनसम्म न उनले देशलाई उँभो लगाए न त अरू कसैले नै ।

कतै केही काम योजनाको थालनी भएको छ त खरायोको चालमा । एक पटक तम्स्यो अनि सुस्तायो । तर यो दोष प्रचण्डको मात्रै होइन, नेपालका सारा दूरदृष्टि नभएका नपुगेका उच्च नेतृत्व तहमा पुगेका जिम्मेवार नेता तथा व्यक्तिहरूको हो ।

(अजय अलौकिकको 'अलौकिक चीन'बाट, यस पुस्तकलाई भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको छ । लेखक चिनियाँ अन्तर्राष्ट्रिय रेडियोमा नेपाली विशेषज्ञका रूपमा कार्यरत छन् ।)
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X