बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीले अनावश्यक शक्ति सञ्चयमा बढी ध्यान दिएको देखियो (राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाको अन्तरवार्ता)

बिहीबार, २९ चैत २०७४, ११ : ३९
बिहीबार, २९ चैत २०७४

 राप्रपा प्रजातान्त्रिकका अध्यक्ष हुन् पशुपति शमशेर राणा । हालै सम्पन्न निर्वाचनमा एक सिट पनि जित्न नसकेपछि राणा नेतृत्वको यो पार्टी संसदबाहिरै खुम्चिएको छ । निर्वाचनमा पाएको झड्कासँगै तीन समूहमा रहेका राप्रपा पृष्ठभूमिका पार्टीहरू अहिले पुनः एकीकरणको प्रयासमा लागेका छन् ।

यद्यपि एकीकरणको ठोस गृहकार्य भने भइसकेको छैन ।

निर्वाचनमा बेहोरेको हार, पार्टी एकता, वामपन्थीहरूको सरकार र पूर्वराजासँगको सामीप्यताबारे अध्यक्ष राणासँग रातोपाटीका लागि फणिन्द्र नेपालले गरेको कुराकानी :


निर्वाचन परिणामले तपाईंहरूलाई नदेखिने ठाउँमा पुर्यायो, निर्वाचनपछि राप्रपा प्रजातान्त्रिक के गर्दैछ ?
–राप्रपा प्रजातान्त्रिक अब आफ्नो शक्ति बढाउने, आफ्नो सङ्गठनलाई विस्तार गर्ने र लायक शक्तिहरूलाई एकत्रित गर्ने अभियानमा केन्द्रित हुन्छ, त्यो बाटोमा लाग्छ । त्यसैको तयारी हामी गर्दैछौं ।

निर्वाचनमा जेजस्तो नतिजा आयो, यो राप्रपा प्रजातान्त्रिकका लागि सुखद् रहेन । यसको प्रमुख कारण के हो भन्ने विश्लेषण गर्नुभएको छ, बुँदाबुँदामा भन्नु न त ?
–विभिन्न कारणले राप्रपा प्रजातान्त्रिकले हार खायो । यसमा एउटा मात्रै कारण छ भन्दा गलत होला । पहिलो कारण चुनाव गर्ने बेलामा हाम्रो पार्टी फुट्यो । जसका कारण हामीले चुनावको तयारी नै गर्न सकेनौँ र हामीले पराजय भोग्यांै । मुख्य कारण नै त्यही हो ।

निर्वाचनमा काँग्रेससँग गठबन्धन गर्नुभयो तर काँग्रेसले तपाईंहरूका उम्मेदवारलाई भोट दिएको देखिएन । गठबन्धनमा काँग्रेसले धोका दिएको भन्ठान्नुहुन्छ या स्वभाविक ?
–काँग्रेससँगको हाम्रो गठबन्धन प्रभावकारी नभएको सत्य हो । यो परिणामले नै देखाइसकेको छ । जसको असर अहिले भोग्दैछौँ । यसमा काँग्रेसले हामीलाई धोका नै दियो भन्न त सकिन्नँ । तर पनि जति अपेक्षा गरिएको थियो त्यो सार्थक बन्न सकेन । यसमा हाम्रा पनि केही कमजोरी भएहोलान् । त्यसलाई स्वीकार गर्नुपर्छ । नेपाली काँग्रेसले दुईवटा शक्तिलाई मात्रै समेट्यो भने वामहरूले धेरैलाई समेटे । यसको अर्थ काँग्रेसको कोअर्डिनेसन साँघुरो भयो भन्ने मेरो बुझाइ हो । राप्रपा, राप्रपा प्रजातान्त्रिक र केही मधेसी पार्टीलाई मात्रै काँग्रेसले समेट्यो । तर त्योभन्दा पनि फराकिलो भइदिएको भए परिणाम अर्कै आउँथ्यो ।

भनेपछि काँग्रेस नेतृत्वको गठबन्धन असफल भयो भन्ने नै हो ?
–त्यो त भन्नुभन्दा पनि देखिएकै कुरा हो ।

निर्वाचन परिणामपछि समीक्षा गर्नुभयो होला, अब जनताकहाँ जान पार्टीको सिद्धान्त, विचार र कार्यक्रम के कसरी बनाउँदै हुनुहुन्छ ?
–हामीले हाम्रो सङ्गठनलाई अब देशभर पुर्याउँछौ । वर्गीय सङ्घ सङ्गठनलाई सशक्त र सक्रिय बनाउँछांै । यसमा हाम्रो सम्पूर्ण शक्ति खर्चन्छौं । त्यो काम सुरु गरिसकेका छौं ।

कुनै पनि पार्टी विचार, सिद्धान्त र सङ्गठनका आधारमा चल्छ तर तपाईंहरूको पार्टी पुरानो मात्रै होइन, विचार र सिद्धान्त पनि पुरानै छ । के यही विचार र सिद्धान्तका आधारमा फेरि पनि राजनीतिको मूल धारमा आउन सकिन्छ भन्ने लागेको छ ?
–यसमा पनि दुई किसिमको सोँच छ । नेपालको राजनीतिमा संवद्र्धनवादी उदारवादी सोच आवाश्यक छ । हामीबाहेक यो विचार, यो साँेच अरू कसैले अघि सारेको छैन । यसलाई ध्यानमा राखेर अघि बढ्नुको विकल्प म देख्दिनँ । हाम्रै पार्टीमा पनि एकथरी साथीहरूको भनाइ धर्म र अरूअरू विचारलाई पनि अलि बढी स्थान दिनुपर्छ भन्ने मान्यता छ । त्यो मान्यतामा हामी अघि बढिसकेका छैनौँ ।

जनताले बुझ्नेगरी भन्दिनुस् न यो संवद्धर्नवादी विचार चाहिँ कस्तो हो ?
–यो विचार नयाँ होइन, १८औं शताब्दीमा लखनोका पालादेखि आएको विचार हो यो । जसले सबै विचारहरूको सम्मान र सम्बद्धर्न गर्छ । सबै अटाउँछन् । 

तपार्इंहरूमाथि पूर्वपञ्चको ‘ट्याग’ अझै मेटिएको छैन तर तपाईंको पार्टीले गणतन्त्रलाई स्वीकार गरेको भनेर प्रचार भयो, कुनै बेलाका दस्तावेजमा पनि उल्लेख गर्नुभयो । गणतान्त्रिक संस्कार अपनाउन गाह्रो लागेर पुनः पुरानै बाटोमा फर्कनु भएको त हैन ?
–गणतन्त्रलाई हामीले एक पटक स्वीकार गरिसकेका हौं । पछि फेरि राप्रपा र राप्रपा नेपाल एकीकरण भएपछि गणतन्त्रलाई त्याग्यौँ पनि । अहिले हामी जुन अवस्थामा छौं, हामी परम्परागत शक्ति र संरचनालाई पनि मान्यता दिनुपर्छ भन्नेमा छाँै । परम्परागत संरचना, हिन्दु धर्म र उदारवादलाई सँगसँगै अगाडि बढाउनुपर्छ भन्ने हाम्रो मुख्य उद्देश्य हो । परम्परा, धर्म संस्कृतिको संरक्षण गर्दै एउटा उदार राजनीतिक पार्टी बनाउन जरुरी भएकाले नै हामीले यो सिद्धान्त अपनाएका हौं । सबैले आफ्नो विचार राख्न पाउने, सबै अटाउने, व्यक्तिको स्वतन्त्रता कायम रहने र सबैको हित हुने संवद्र्धनवादी विचार नै आजको अबको आवाश्यक्ता हो भन्ने हाम्रो निष्कर्ष हो ।

तर अहिले पनि त सबै अटाएकै छन् नि ?
–हैन, अटाएका छैनन् भनेको होइन, अझ फराकिलो बनाउनुपर्छ भन्ने हो ।

तपाईंको पार्टीको सिद्धान्त नै अस्पष्ट भनेर नेता कार्यकर्ताले नै असन्तुष्टि जनाएका छन् । जस्तो कि घोषणापत्रमा राप्रपा प्रजातान्त्रिक परम्परागत शक्ति भनिएको छ । के हो यो परम्परागत शक्ति भनेको केहो ? राजा र राजसंस्था ?
यसलाई हामीले त्यसरी पनि भनेका होइनौं । जरो कुरो छ । धर्म संस्कृति सबै मिलेर यो देश बनेको हो । यो सबै कुरा मेटेर अघि बढ्छौं भन्नु राम्रो होइन । ठीक छ, हामी संविधान मान्छौं, संविधान बनाउने शक्तिमध्येका एक हामी पनि हौं । तर यो भन्दैमा हामी हाम्रा सबै परम्परागत शक्ति जो हाम्रा पहिचान र हामीलाई संरक्षण पनि गर्दै आएका छन् तिनलाई चटक्कै बिर्सन त मिल्दैन । ती आधार, स्तम्भ छोडेर मुलुक अघि बढ्न पनि सक्दैन ।

त्यसो भए फेरि पनि राजसंस्था नै व्युँताउने ?
–हो, हामी परम्परागत शक्तिको सम्मान गर्छौँ । जगको संरक्षणबिना घर बलियो हुँदैन ।

गणतन्त्र पनि स्वीकार्ने, राजसंस्था पनि हुनुपर्छ भन्ने, यो कस्तो दोधारे नीति ? दुईवटा डुङ्गामा खुट्टा हालेजस्तो भएन र ?
त्यस्तो होइन, त्यो गलत बुझाइ हो । जग एक खालको, भवन अर्को खालको बनाउँदैछांै ।

तर यो त फापर रोपेर धान फल्छ भनेजस्तो भएन र भन्या ?
त्यो हुँदै होइन, यहीँ मेरो घर छ । यो घर हेर्नुभयो भने यसको नयाँ जग छैन । यो घर पहिल्यै तबेलाको जगमा मेरो घर बनेको छ । तर घर नयाँ नै छ । त्यसैले यसमा कुनै अन्तरविरोध देख्दिनँ ।

तर घरको जगसँग एउटा पार्टीको संरचना र विचारसँग तुलना गर्न मिल्ला र ?
–बदलिएका छौं तर बदलिने भन्दैमा घर पूरै लडाउनुपर्छ भन्ने पनि छैन । यति बुझ्नुस् जग पुरानो घर नयाँ । तपाईं जसरी बुझ्नुस । इँटा थपेको भन्नुस्, वाल घुमाएको भन्नुस्, जे भन्नुस् । तर जग पुरानो नै हो । यसमा हामी प्रष्ट छौं ।

तपाईंले राजसंस्था, हिन्दु राष्ट्र र गणतन्त्र तीनवटै आवाश्यक छ भन्ने आशय व्यक्त गर्नुभयो तर यी तीन चीज एकै ठाउँ अटाउन सक्छन् ? असम्भवप्रायः भनिन्छ नि ?
–हो । तर मान्छेको मनमा अरूअरू कुरा पनि छ । मान्छेको मनमा भएका अरू कुरालाई पनि ठाउँ दिनुपर्छ भनेको हो । राजनीतिमा असम्भव भन्ने केही हुँदैन ।

राप्रपाको इतिहास लामो छ तर यस पृष्ठभूमिका पार्टीहरू कहिल्यै एकजुट हुन नसक्नु । भैहाले पनि विभाजनबाट बच्न नसक्नुको कारण को हो ?
–विभिन्न कारणहरू छन् पार्टी फुट्नु र जुट्नुमा । तर अब बुझ्नुपर्छ । विश्लेषण गर्नुपर्छ । अहिलेको स्थितिमा आएर भन्नुपर्दा नेपाल पछिल्लो समय वामपन्थीमय भयो । चुनावले त्यही देखायो । अब राजसंस्थासँग नजिक भएका भनिने पार्टीहरू कसरी एकीकृत हुने भन्नेमा सोच्न आवश्यक भइसकेको छ ।

तपाईंले हिन्दु धर्मको पनि कुरा गर्नुभयो, केही समयअघि एक हिन्दु धर्मका अगुवा सन्तमाथि गोली नै हानियो, त्यसमा विज्ञप्ति निकालेर आफ्नो दायित्व पूरा भएको ठान्नुभयो नि ?
त्यो अत्यन्त गलत काम हो । हामीले राजनीतिक ढङ्गबाट गर्ने काम विज्ञप्ति निकालेर गर्यौं । त्यो एउटा उपाय पनि हो । हुनै नहुने काम भयो । यसमा म सहमत छैन । कसैलाई पनि हिन्दु धर्म हुनुपर्छ भनेर हिँड्ने अधिकार छ । त्यसो भन्दैमा उसलाई गोली हान्नु कुनै हालतमा ठीक होइन । सरकारले यो समस्यालाई बुद्धिमत्तापूर्ण निकास खोजेन भने त्यसको परिणाम खतरनाक हुन सक्छ । कसैको सोचलाई दबाउन खोज्नु हँुदैन । त्यति मात्रै होइन, कुनै एक प्रदेशको उपसभामुखले गाई मार्न पाउनुपर्छ भनेको समेत खबर सुन्न पाइयो । यो दुभाग्र्य हो । यस्तो अराजक स्थितिको अन्त्य हुनुपर्छ ।

निर्वाचनपछि तीनवटै राप्रपा एकीकरण हुने चर्चा तपाईंले पनि गर्नुभयो के फेरि तीनवटै पार्टी एकीकरण हुने सम्भावना छ ? छ भने त्यसको गृहकार्य के हुँदैछ ?
यसरी नै हुन्छ कि कसरी हुन्छ भन्ने टुङ्गो त लागेको छैन तर जुन सोच राप्रपाले बोकेको छ, उदारवादी र परम्परावादी सोचलाई मजबुत बनाउन जरुरी भइसकेको छ । यो सोच र विचारधारलाई बलियो बनाउनुपर्छ भन्ने समूह पनि ठूलो छ । एकीकरणलाई मूर्त रूप दिनेमा एक्सरसाइज भएको छैन । त्यो बेला आएपछि भनौला ।

राप्रपाका नेताहरू देश र जनतामा उत्तरदायी बन्न नसकेको कुरा स्वीकार गर्नुहुन्छ ?
–हामी राप्रपाको मूल सोच नै संवद्र्धनवादी उदारवाद हो । यसमा परम्परावादी शक्ति र धर्म पनि आउँछ । यसलाई मजबुत बनाउने प्रयास भइरहेको छ । मुलुकमा सनातन धर्म हुनुपर्छ । परम्परागत शक्तिलाई मान्ने र कुनै न कुनै रूपमा स्थान दिनुपर्छ भन्ने नै हाम्रो भनाइ हो ।

केही समयअघि तीनवटै राप्रपाका दोस्रो तहका नेतालाई पूर्वराजा ज्ञानेन्द्र शाहले बोलाएरै भेट गरे । के पूर्वराजाले पार्टी एकीकरण गर्न दबाब दिएका हुन् ?
–यो त भेट गर्नेहरूलाई थाहा होला तर जुन लेबलमा भेट भएको छ, त्यसले कुनै परिणाम देलाजस्तो मलाई लाग्दैन ।

तपार्इंले चाहिँ व्यक्तिगत रूपमा पूर्वराजा शाहलाई भेटघाट गर्नुभएको छैन ?
–धेरै पहिला दरबार छाडेपछि एक पटक मात्र भेट भएको हो । त्यसपछि भेटेको छैन ।

हालै प्रधानमन्त्री केपी ओलीले भारतको भ्रमण गर्नुभएको छ, यो भ्रमणलाई कसरी हेर्न सकिएला ?
–यो भ्रमण निरन्तरता हो, यसबाट त्यति धेरै आशा गरिहाल्नुपर्ने र को कहाँ जान्छन् भन्नेमा त्यति अर्थ नराख्ला । उहाँ भारत गएर आउनुुभयो अब चीन पनि जानुहोला । त्यो अर्कै विषय हो । तर महत्वपूर्ण कुरा के भने केपी ओलीलाई धेरै वर्षपछि नेपालमा एउटा स्थायी सरकार बनाउने अवसर मिलेको छ । यो अवसरलाई कसरी प्रयोग गर्नुहुन्छ, त्यो चाहिँ महत्वपूर्ण हो जस्तो लाग्छ । स्थायी सरकार बनाउने मौकाको सदुपयोग गरेर मुलुकलाई स्थिर र गतिशील विकास गर्नसक्नुहोस् भन्ने मेरो कामना छ ।  

नेपालमा नयाँ सरकार बन्नेवित्तिकै प्रधानमन्त्री भारत या चीन जाने र केही सम्झौता पनि हुने गरेका छन् । यस्ता प्रचलनले नेपाललाई सहयोग पुगेको छ या छैन ? 
– सरकार बनेपछि छिमेकी देशमा जाने कुरा विवेकको कुरा हो । त्योभन्दा पनि यहाँ के गर्ने भन्ने हो । विदेश गएर नेपालको कायापलट हुँदैन । यहाँ काम गर्नुपर्यो । गतिशील विकास गर्ने मौका ओलीले छोप्नुहुन्छ या हुन्न त्यो हेर्न बाँकी छ । जलमार्ग र रेलमार्गको कुरा पनि आएको छ । त्यो राम्रो हो । नेपलको जलस्रोतको कति परिचालन हुन्छ र नेपालको विकासमा खर्चिन्छ । त्यसमा भर पर्छ । नेपालमा यतिधेरै पानी छ, यो पानीबाट बिजुली निकालेर निर्यात गरे मात्रै नेपालको व्यापार घाटा पूर्ति गर्न सकिन्छ । त्यसमा कार्यान्वयनको गतिले भर गर्छ । चुनौती पनि छन् । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल त्याहाँसम्म बाटो, कृषिमा आधुनीकरण यी सबै उहाँका अवसर र चुनौती दुवै छन् । हुन त काँग्रेसले हनिमुन डे मनाउन पनि दिन नसक्ने स्थिति आयो पनि भनेको छ । तर, काँग्रेसले त्यस्तो तर्क गर्न सुहाउँदैन । किनभने झण्डै दुई तिहाइको समर्थन छ, सरकारलाई योभन्दा बलियो शक्ति कहिले हुन्छ ? काँग्रेसले भन्दैमा यो सरकार हल्लिएला जस्तो लाग्दैन । तर हाम्रो त सदासयता मात्र हो । काँग्रेसले के सोचेर त्यसो भनेको हो थाहा छैन । तर यो सरकारले पाएको यो अभूतपूर्व सामथ्र्यलाई सही सदुपयोग गरेर अघि बढे देशलाई राम्रो हुन्छ ।  

मुलुकमा केपी ओलीको सरकार बनेको दुई महिना हुन लागेको छ । यो सरकारका काम कारवाही तपार्इंले सोचे र वामपन्थीहरूले भनेजस्तो समृद्धिको यात्रामा अघि बढेको पाउनुभएको छ ?
उहाँले यो अवधिमा शक्ति सञ्चयमा बढी ध्यान दिएको देखियो । विभिन्न विभागहरू अफ्नो मातहतमा ल्याउनुभयो । किन त्यसो गर्नुभयो, यो उहाँलाई नै थाहा होला । बरु उहाँको ध्यान शक्ति सञ्चयलाई छाडेर विकासमा केन्द्रित गर्नुपथ्र्यो । शक्ति सञ्चय गर्ने, विभिन्न निकाय केन्द्रिकृत गर्ने काम अनावश्यक होजस्तो लाग्छ । म भएको भए दायाँबायाँ नहेरेर यो मुलुकलाई गतिशील विकासको गतिमा लैजान्थे ।

अब अन्तिमतिर, तपाईंको निजी कुरा, कहिलेसम्म सक्रिय राजनीति गर्नुहुन्छ ?
–पार्टीमा मैले विरासत बोकेको छु । त्यो विरासतलाई एउटा ठाउँमा नपुर्याई म छोड्दिन । अर्थात अहिलेको यो अवस्थाबाट पार्टीलाई माथि उठाएर मात्रै विश्राम लिन्छु ।

...त्यसपछि ठ्याक्कै सन्न्यास लिने वा उत्तराधिकारीलाई जिम्मा दिँदै हुनुहुन्छ ?

–मेरो लक्ष्य के हुन्छ भने पार्टीलाई अहिलेको अवस्थाबाट सुधारेपछि । सदा पार्टीमा बरिहने त कुरा आउँदैन । त्यसपछि त सन्न्यास नै लिनुपर्छ  नि ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप