केन्द्रीय संस्करण

प्रहरी राजनीति, घामड पुलिसिङः यसकारण पछारिए खरेल !

person access_timeचैत २८, २०७४ chat_bubble_outline0

नवनियुक्त प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अघिल्ला महानिरीक्षकबाट चार्ज बुझिसकेका थिएनन् । तर, सर्वेन्द्र आसिन हुनुपर्ने महानिरीक्षकको टेबुलमा व्याची रमेशप्रसाद खरेलको राजीनामा पुग्यो, त्यसपछिमात्र घडीमा १२ बज्यो । अहिले राजीनामा स्वीकृत भइसकेको छ । तर, खरेलको राजीनामाले प्रहरीमा भित्रिएका केही पछिल्ला प्रबृत्ति स्मरणीय छन् ।

निःसन्देह रमेश खरेल प्रहरीभित्रका दक्ष र व्यवसायिक पात्र हुन् । उनीभन्दा कम दक्ष र व्यवसायिक हैनन्, सर्वेन्द्र खनाल, पुष्कर कार्कीहरु । कामलाई तराजुमा जोख्दा ढक दुई–चार पाउ तलमाथि मात्र हो, काममा यी तीनै उत्तिकै काविल हुन् । तर, खरेलले अबलम्बन गरेको कार्यशैली स्मरण गरौँ । उनले समाजमा आतंक सिर्जना गरेका गुण्डाको भागदौड मच्चाए, समाते, थुने, जेल पठाए । सर्वेन्द्रले कुमार घैंटे र पुष्करले दिनेश चरीको प्राण नै नाश गरे । वास्तवमा उनीहरुलाई राज्यले योग्यता मापन गरेर भर्ना गरेको, तालिम दिएको र काममा खटाएको यस्तै प्रयोजनका लागि हो । भजन मण्डली चलाउन कोही पनि नागरिक प्रहरीमा भर्ति गरिएका होइनन् ।

त्यही काम एउटा प्रहरीले गर्दा पत्रिका रंगीनुपर्ने, अर्कोले गर्दा ‘हो कि होइन’ जस्तो हुनुपर्ने कुराको तर्क गर्न पत्रकारका हैसियतले पंक्तिकार समर्थ छैन । अर्थात्, समाजमा विभिन्न माध्यम र शैलीबाट सेलिब्रेटी बन्ने होड चलिरहँदा कतिपय ‘लिडिङ मिडिया’ यस्तो भइदिन्छ कि, तिनका ताला–चाबी अन्तैबाट चल्छ । मिडियाभित्र हावी भएको यही प्रबृत्तिले रमेश खरेलले आज ‘आइजिपी बन्नकै लागि जागिर खाएको थिएँ । नभएपछि ग्लानीबोधका साथ जागिर खान्नँ’ भन्ने हिम्मत बोके । स्मरणीय के छ भने, ०७० सालमा एसएसपी भएर काठमाडौं प्रहरीको कमाण्ड सम्हालेका बेला आफ्नो व्याचलाई उछिनेर डिआइजी बन्ने योजना सफल नहुँदा उनले चार्ज छोडेर हिँडेका थिए । फौजी संगठनमा एउटा कमाण्डरले चार्ज छोडेर हिँड्नु अत्यन्तै गम्भीर विषय मानिन्छ । यसबापत सामान्य नसिहत पाए । 

प्रहरी वा राज्यको कुनै पनि निकायमा कर्मचारी भर्ना गरिँदा ‘तँलाई एकदिन सर्वोच्च पदमा पुर्याउँछु’ भनिएको हुँदैन । आ–आफ्ना कामका आधारमा दावेदारी प्रस्तुत गर्ने हक हरेकमा हुन्छ । त्यस्तै, दावेदारी खरेलले पेश गरे, जो मनासिव थियो । तर, उनी महानिरीक्षक नियुक्त भएनन् । कारण हो, पद एउटा थियो । आकांक्षी आधा दर्जन बढी थिए । एसएसपीबाट डिआइजी हुँदाको वरियतामा खरेल पहिलो थिएनन् । डिआइजी भएपछिको लामो समय उनले फिल्डमा काम नगरेर संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गतको जिम्मेवारी बहन गरिरहेका थिए । 

खरेल पुलिसि
मामुली नागरिकलाई राज्यले कठोर तालिमपछि बर्दी, फुली, तलबसँगै राशन, पोशाक, खाने मेस र सुत्ने व्यारेक दिन्छ, चाहिएको बेला छुट्टी दिन्छ, चाहिएको बेला ‘दिन–रात’ भन्न पनि दिँदैन । जागिर दिएकै शान्ति, सुव्यवस्था र अमनचैन कायम गर्नलाई हो । त्यो जिम्मा रमेश खरेलले मात्र हैन, नेपाल प्रहरीका ७५ हजारै प्रहरीले पाएका छन् । हो, कतिपयले गरेनन्, गरेजस्तो गरेर अर्थोक बढी गरे, आचारणविपरित चले । रमेश खरेलहरुले चाहिँ दिएको काम गरेकै हुन् । त्यसक्रममा रमेशका केही मौलिक शैली थिए । 

जिल्ला अदालत काठमाडौंका तत्कालीन न्यायाधीश माधवप्रसाद पोखरेल प्रहरी परिसर हनुमानढोकाबाट आउने मुद्धाबाट यति हैरान थिए कि, एउटा भेटमा भने, ‘भाइ, यो पाप कराउनचाहिँ एकदिन कराउँछ  । तर, कताबाट कराउँछ, हेर्न बाँकी छ ।’ उनले भन्न खोजेका थिए, प्रहरीकार्यका नाममा भएका ज्यादतीबारे ।

बागबजारमा डान्सबार चलाउँथे, प्यूठानका सरोजकुमार थापा । हो, त्यहाँ युवतीहरु नग्न हुन्थे र नाच्थे । सामाजिक सद्भाव र मर्यादाविरुद्धको त्यो अक्षम्य कसुर हो । तर, प्रहरी चल्ने कानुनको अधीनमा हो । देशको कुनै पनि कानुनले डान्सबारमा नग्न नृत्य प्रदर्शन गरेबापत बारका सञ्चालक वा व्यवस्थापनलाई चेलिबेटी बेचबिखनसम्बन्धी मुद्धा चलाऊ भनेको छैन । तर, डान्सबारमा जबरजस्ती नाच्न लगाइएका सक्कली वा नक्कली पात्र खडा गर्ने, आफूलाई जबरजस्ती गराएको बयान बनाउने र बेच्नका लागि मुम्बई पठाउन खोजेको भन्न लगाएर सरोजकुमार थापा ६ महिना नख्खु कारागारमा बन्दी बनाइए । खरेलले अन्तर्वार्तामा भने, ‘यस्ता डान्सबारका सञ्चालकलाई म जेल हाल्छु ।’ वरिष्ठ अधिवक्ता शम्भु थापाले जिल्ला अदालतको बेञ्चअगाडि उभिएर बसह गरे, ‘श्रीमान्, अब प्रहरीले नै नागरिकलाई पक्राउ गरेर जेल हाल्ने भएपछि यो इजलाशको के काम ? बन्द गरिदिनुस् ।’

अर्थात्, डाक्टरले सय एमजिटको औषधी दिनुपर्ने विरामीलाई एकैचोटि पाँच सय एमजिटको दबाई चलाइदियो भने के हुन्छ ? अतिले खति गर्छ । ‘खरेल पुलिसिङ’भनेको समाजका लागि अति आवश्यक, तर कार्यशैली आवश्यकताभन्दा बढी आक्रामक हो । 

प्रहरी राजनीति, घामड पुलिसिङ
खरेल महानिरीक्षक नियुक्त नहुनुसँग प्रहरीभित्रको आन्तरिक गुटबन्दी र राजनीतिक नेतृत्वको प्रहरी बुझाईसँग पनि जोडिन्छ । १४ फागुन ०७० मा एमाले उपाध्यक्ष वामदेव गौतम उपप्रधान तथा गृहमन्त्री नियुक्त भए । पंक्तिकार गौतमको प्रेस सहजकर्ताका हैसियतले उनको टीमभित्र थियो । त्यसबेला लोकसेवा आयोगले प्रतिपादन गरेको सामान्य सिद्धान्तभित्र रहेर नयाँ प्रहरी सेवा ऐनको मस्यौदा तयार गर्नु भन्ने निर्देशन थियो । लोकसेवाले त्यसो भन्नुअघि नै उपेन्द्रकान्त अर्याल त महानिरीक्षक भइहाले, तर ऐनको मस्यौदा तयार नहुँदा लामो समयसम्म उनका व्याचीहरु डिआइजीहरु पदोन्नतीबाट बञ्चित थिए । केही महिनाभित्र उनीहरुको पदोन्नती नभए पदावधी लागेर घर जाने अवस्थामा पुगिसकेका थिए । तर, उपेन्द्रकान्त नयाँ ऐनको मस्यौदा पेश गर्न समर्थ भएनन् ।

त्यसपछि लोकसेवाको सहमति लिएर गृहमन्त्रीले ऐनको मस्यौदा चाँडै पेश गर्ने शर्तमा एआइजी नियुक्तिको प्रक्रिया अगाडि बढाए । यसमा उपेन्द्रकान्त सहमत थिएनन् । किनभने, उनी प्रहरीमा नेतृत्व सम्हालिरहेका थिएनन्, गुट व्युँताइरहेका थिए । लामो समय हालिमुहाली गरेको अच्युतकृष्ण खरेलवाला गुट उपेन्द्रको नियुक्तिसँगै व्युँतिरहेको थियो ।

फलतः केहीलाई निर्ममताका साथ सिध्याउने, केहीलाई बिनातर्क पुरस्कृत गर्ने काम भयो ।, यी रमेश खरेल त्यसबेला उपेन्द्रकान्तका लागि प्रयोग भए । कसरी भने, प्रहरीले गुण्डागर्दीको आरोपमा युवासंघका एकजना कार्यकर्तालाई थुनेको थियो । काठमाडौंको प्रहरी प्रमुख खरेल थिए ।

गृहमन्त्रीले ती कार्यकर्ताबारे सोध्न खोज्दा उनले रेस्पोन्स गरेनन् । त्यही कुरा कार्यकर्ताहरुको एक भेलामा सुनाए । भनेका थिए, ‘मलाई कसैको सलाम चाहिएको छैन । तर, गृहमन्त्रीले सोधेपछि त भन्नुपर्छ नि ।’ भनेको यत्ति हो । तर, अखबार र अनलाइनमा रंगीयो, ‘मलाई रमेश खरेलले सलाम नगर्ने ?’ शीर्षकमा ।

एआइजीहरुको बढुवा हुन बाँकी थियो । भ्रष्टाचारविरुद्धको एक कार्यक्रममा एसएसपीका हैसियतले खरेलले भाषण गरे, ‘हाम्रा हाकिमहरु ब्रिफकेश बोकेर हिँडेका छन्, बढुवाका लागि...।’ फौजी संगठनको एउटा जिम्मेवार अधिकृतले यस्ता कुरा भए पनि बोल्न मिल्दैन । अरु भए अचार भइसक्थे । तर, खरेल जोगिए । गृहमन्त्री, गृहसचिवले कारवाही गर्न आदेश दिँदा पनि उनी कारवाही गरिएनन् । कुरा रहेछ यस्तो कि, भन्न लगाउने उपेन्द्रकान्त, लगाएबमोजिम भनिदिने खरेल र आदेश पाएर पनि कारवाही नगरी अटेर गर्ने उपेन्द्रकान्त । यसलाई भन्छन् ‘घामड पुलिसिङ’ ।

रमेश खरेल खुलेआम आफ्नो संगठनको नेतृत्व र राजनीतिक नेतृत्वलाई समेत भ्रष्ट करार गर्न उद्धत भएपछि उनलाई हेर्ने राजनीतिक नेतृत्वको दृष्टिकोण त्यसयता फरक रहँदै आयो । तर, त्यसबाट धोका उनैले खाए । उपेन्द्रकान्तका लागि प्रयोग भए । उनीबाट हुनुपर्ने कारवाहीबाट पनि जोगिए । तर, राजनीतिक नेतृत्व सकारात्मक नहुँदा एसएसपीबाट डिआइजीमा बढुवा हुँदा उनै उपेन्द्रकान्तले उनका लागि कार्यसम्पादन मूल्यांकनमा चाहिने जति नम्बर दिन सकेनन् र दुई नम्बरमा बढुवा भए । 

आज उनी महानिरीक्षक बन्न सफल भएनन् । तर, ‘...अनि दैलो देखिस्’ भनेजस्तो उतिबेला नम्बर दिन नसकेर दुई नम्बरमा बढुवा दिने उपेन्द्रकान्तहरु खरेल नै भएदिए हुन्थ्यो भनेर यतिबेला धूप बाल्दै हिँडे । खरेल नभए पुष्कर भन्दै पनि हिँडे । तर, सरकारले देउवाकालीन आतंक मच्चाउन चाहेन । प्रहरीको वरियता नमिची महानिरीक्षक पदमा पदोन्नती गरिदियो । 

गुटको मक्सद
उपेन्द्रकान्त गुट चाहन्थ्यो, फेरि पनि संगठनमा हालिमुहाली चलोस् । त्यसका लागि अनुकूल पात्र थिए रमेश, विकल्पमा पुष्कर । जसरी अघिल्लो महानिरीक्षक नियुक्ति विवादमा परेपछि तीन नम्बरका प्रकाश अर्याल महानिरीक्षक नियुक्त भए, उपेन्द्रकान्तहरुको दाऊ त्यस्तै थियो । तर, सत्य हो कि, पुष्करप्रति उपेन्द्रहरुको चाहना भएर होइन, राजनीतिक नेतृत्व नै सकारात्मक हुनाले महानिरीक्षकका बलिया वैकल्पिक दावेदार उनै थिए । उनी महानिरीक्षक भएको भए वरियता त मिचिन्थ्यो । तर, संगठन डुबिहाल्दैन थियो । 

सर्वेन्द्र दृष्टि
अहिले खरेलको राजीनामा गृहमन्त्रालले स्वीकृत गरिसकेको छ । नवनियुक्त आईजीपी सर्वेन्द्र खनालले खरेलको राजीनामा मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पठाउने बाटो खुलेको छ । तर, यदि सौहाद्रपूर्ण, सन्तुलित र परिपक्वशैलीमा नेतृत्व गर्छु भन्छन् भने उनले खरेलको राजीनामा विनम्रताका साथ उनकै खल्तीमा फिर्ता गर्नुपथ्र्यो । रमेश खरेल देशका लागि चाहिएका प्रहरी थिए । उनका कमजोरी सुधार्दै देशले उनीबाट धेरैथोक लिनसक्छ ।

लेखकको नीजि विचार हो । 

विश्वमणि सुवेदी

विश्वमणि सुवेदी 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ