बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

एमाले नेतृ झाँक्रीलाई उत्तेजित बनाउने के स्टाटस लेखेका थिए शिक्षक बमबहादुरले ?

बमबहादुर भन्छन्–‘झाँक्री अरुको लह–लहैमा लाग्नुभयो’
बिहीबार, २२ असार २०७४, २० : ४२
बिहीबार, २२ असार २०७४

काठमाडौं– इन्टरनेटको सामाजिक सञ्जालमा यतिबेला एकजना एमाले महिला नेतृले गुल्मीका एक शिक्षकलाई तुच्छ धम्कीपूर्ण गालीले झपारेको अडियो चर्चा पाइरहेको छ । २ मिनेट ४८ सेकेन्डको उक्त अडियोमा एमाले यूवा नेतृ रामकुमारी झाँक्रीले गुल्मीको मदाने गाउँपालिकाका शिक्षक तथा कांग्रेस कार्यकर्ता बमबहादुर कुँवरलाई खुट्टा भाँचिदिने धम्कीसहितको गाली गरेकी छिन् । 

गाली गरेको उक्त अडियो दोश्रो चरणको निर्वाचनको पर्सिपल्ट अर्थात असार १६ गतेको थियो । रातोपाटीको सम्पर्कमा आएका बमबहादुर कुँवरले भने–‘१६ गते बिहान ११ बजेर २१ मिनेटमा उहाँले फोन गर्नुभएको थियो । हामी पूर्व जिल्ला सभापति त्रैलोक्यप्रताप सेनसहित मदाने गाँउपालिकाका नेपाली कांग्रेसका कार्यकर्तासँगै बसेका थियौं । उहाँले धम्काउदै गाली गरेको सबैले सुनेका छन् ।’

उनले फेसबुकमा ‘काँग्रेसका प्रतिनिधिमाथि खुकुरी प्रहार भएपछि एमाले नेतृ झाँक्री प्रहरी नियन्त्रणमा’ शीर्षकमा एक अनलाइनको खबर आफ्नो फेसबुकमा शेयर गर्दै ‘सबैका आँखा फुटेका र आफुले संसार राम्रो देख्ने राष्ट्रवादी पार्टीका राष्ट्रिय नेताले आफ्नो औकात देखाउनु भयो । सलाम छ तपाइँलाई । ’ भन्ने स्टाटस लेखेका थिए ।  

त्यही विषयलाई लिएर रामकुमारीले खुट्टा भाँच्ने धम्की दिएको उनले बताए । बमबहादुरले भने–‘मैले यति लेख्दैमा धम्की दिनुपर्ने कारण नै छैन । मैले उहाँको बारेमा के नराम्रो लेखेको छु र ? उहाँले मेरो फेसबुक नै नहेरी अरु कसैले उचालेको भरमा धम्की दिए जस्तो लाग्छ ।’

रामकुमारीले खुट्टा भाँच्ने धम्की दिएपछि १६ गते नै गुल्मीको पुर्कोट दहस्थित इलाका प्रहरी कार्यालयमा जिउ ज्यानको सुरक्षा गरी पाउँ भनेर निवेदन दर्ता गरेको उनले बताए । निवेदन दर्तापछि ३ दिनसम्म आफू मतगणनास्थलमा ब्यस्त भएकोले प्रहरीले के गरिरहेको छ भन्नेबारे थाहा नभएको उनले बताए । 

स्थानीय निर्वाचनकाबेला बमहादुरको स्टाटसले बम भएकी एमाले नेतृ झाँक्रीको आवेगमा आएर बमबहादुरलाई टेलिफोन गरी दिएको धम्की समाजिक सञ्जाल फेसबुक, ट्वीटरदेखि यूट्युवमा समेत राखिएका छन् । झाँक्री गुल्मी भएकैबेला दिइएको उक्त धम्कीपूर्ण अभिब्यक्तिमा बमबहादुरलाई भोजराज सरकोमा बोलाएकी छन् । अडियो टेपमा शिक्षक बमले म एकछिनमा आउँछु भनेपछि झाँक्रीले आफ्नोबारेमा फेसबुकमा जथाभावी लेखेको भन्दै अपशब्द प्रयोग गरी केटाहरु लगाएर खुट्टा भाँचीदिनेसमेत धम्की दिएकी छन् । तर बमले भने आफूले फेसबुकमा त्यस्तो आवेगमा आउनुपर्ने आफूले केही नलेखेको बताएका छन् । 

हेर्नुहोस्, बमबहादुरको फेसबुक स्टाटस्



‘शिक्षक जस्तो मान्छेले अपशब्द बोल्ने कुरै आउँदैन । शिक्षक भनेको त सारा बिद्यार्थीको अभिभावक हो,’ बमले भने, ‘शिक्षक खराब भयो भने विद्यार्थी के हुन्छन् ? शिक्षक भनेको उच्च नैतिकवान हुनुपर्छ ।’ झाँक्रीजस्तो राजनीतिक नेतृत्वले यसरी अपशब्द बोलेको देख्दा आफू छक्क परेको उनले बताए । 
उनले भने–‘उहाँको र मेरो घर पाँच÷छ किलोमिटर वरपर हो । उहाँ स्कुल पढ्दा म भन्दा चार पाँच ब्याच सिनियर हुनुहुन्थ्यो । उहाँले मलाई चिन्नुहुन्छ कि हुन्न, मैले त उहाँलाई ठूलो मान्छे मानेको थिएँ । तर उहाँले अरुको कुरा सुनेको भरमा  मलाई धम्की दिनुभयो ।’

त्यसदिन फेसबुकमा लेखेको कुराले आफूलाई गल्ती महशुस नभएको पनि बमबहादुरले बताए । एमाले नेतृ झाँक्रीले धम्की दिँदा सभ्य भाषामा बोलेका बमबहादुरले त्यसपछि पुनः फेसबुक स्टाटस लेख्दै बौद्धिक लडाइँ लड्न तयार रहेको उल्लेख गरेका छन् ।

झाँक्रीले शिक्षकलाई गरेको गाली बेइज्जतीको अडियो भाइरल बनेपछि सामाजिक सञ्जालमा झाँक्रीको आलोचना भइरहेको छ भने एमाले कार्यकर्ताहरुले बचाउ गरेका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप