बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

नक्कली दाबीमा २४ करोड भुक्तानी दिने युनाइटेड इन्सुरेन्स आन्तरिक किचलोमा, १२७ कर्मचारीको राजीनामा

आइतबार, २५ चैत २०७४, १४ : १९
आइतबार, २५ चैत २०७४

काठमाडौं– नक्कली दावी गरेको २४ करोड रकम भुक्तानी गरेर विवादमा तानिएको युनाइटेड इन्सुरेन्स आन्तरिक किचलोमा फसेको छ ।

यसका कारण युनाइटेड इन्सुरेन्सको काम लगातार प्रभावित भएका छन् ।

युनाइटेड इन्सुरेन्सले नक्कली दावी गरेको २४ करोड रकम भुक्तानी दिएको ठहर केही दिन अगाडिमात्रै उच्च अदालतले गरेको थियो ।

सांसद एवं अरवपति विनोद चौधरीको समेत लगानी रहेको युनाइटेड इन्सुरेन्सले चौधरीकै अर्को कम्पनीले दावी गरेको नक्कली क्षतिपुर्ति रकम भुक्तानी गरेको थियो ।

युनाइटेड इन्सुरेन्सको व्यावस्थापकको ज्यादती सहन नसकेको भन्दै १२७ कर्मचारीले राजीनामा गरेका छन् ।

तर, कम्पनीले उल्टै कर्मचारीमाथि आरोप लगाईरहेको छ ।  

‘हालसम्म यस कम्पनीका बिभिन्न शाखाका १२७ जनाले राजीनामा दिएका छन् । अहिलेको युनाइटेड इन्सुरेन्सको नियमित काम पनि प्रभावित भएको छ ।’ राजीनामा दिएका एक उच्च कर्मचारीले रातोपाटीसँग भने ।

पछिल्लो समयमात्र इन्सुरेन्सको केन्द्रिय कार्यालयका बजार शाखा प्रमुख बद्री  बहादुर अधिकारी, लाहान शाखाका राजेन्द्र अधिकारी, विर्तामोड शाखाका ईश्वर भट्टराई, जनकपुर शाखाका मुकेश कुमार दास र सर्लाहीका विपिन आचार्य गरी १२७ जना कर्मचरीले राजीनामा दिएका कार्यालयका एक उच्च अधिकारीले बताएका छन् । 

राजीनामा दिएको तीन महिना भइसक्दा पनि  स्वीकृति गर्नुको साटो उल्टो युनाइटेड इन्सुरेन्सले बर्खास्ती गरेको सुचना प्रकाशन गर्ने गरेको कर्मचारीको भनाई छ । प्रमुख कार्यकारी अधिकृत शेखर बरालले कर्मचारी धम्क्याउने गरेको राजीनामा दिएका कर्मचारीले आरोप लगाउँदै  आएका छन् ।

‘बरालको रुखो बोली छ । कर्मचारीमाथि दुव्र्यवार गर्छन । बेला बेला धम्क्याउने स्वभाव छ । महिला कर्मचारीलाई हेर्ने दृष्टिकोणमा समस्या छ । चरम ज्यादतीपछि हामीले काम गर्न नसकेर राजीनामा दिएका हौँ ।’ राजीनामा दिएपछि कम्पनीले बर्खास्तीको सूचना निकालेका एक कर्मचारीले रातोपाटीसँग भने, ‘सिइओको ज्यादतीबारे पीडित दुखी छन् ।’

कर्मचारीले राजीनामा दिएको पत्र समेत दर्ता गर्न सिइओले नदिने गरेको उनीहरुले बताए । 

यता इटहरी शाखाकी पुजा निरौलाले पनि जागिर खाएको ४ महिनापछि राजीनामा दिइन ।

उनलाई २ महिनाको तलब कम्पनीलाई फिर्ता दिन बाध्य गराइयो ।

पोखराका शाखा प्रवन्धक शिव सुवेदी, नारायणगढको शाखा प्रबन्धक राम बहादुर गुरुङ र बजार अधिकृत तीर्थ बहादुर गुरुङलाई ४÷४  महिनाको तलब फिर्ता गराइएको पीडितको गुनासो छ ।

श्रम ऐन २०७४ को १४१ औ बुँदाले श्रमिकले लिखित राजीनामा दिएमा रोजगारदाताले १५ दिनभित्र स्विकृत गराएर श्रमिकलाई जानकारी दिनुपर्ने व्यवस्था गरेको छ ।  

यदि यो म्याद भित्र राजीनामा स्वीकृत भएन भने त्यसको भोलिपल्ट स्वतः राजीनामा स्वीकृत भएको मानिनेछ भनिएको छ । तर, एक पीडित तीन–तीन महिना भइसक्दा पनि कम्पनीले राजीनामा स्वीकृत नगरेको र उल्टै धम्क्याउँने गरेको बताउँछन् ।   

कम्पनीबाट पीडित भएको व्यापक गुनासोपछि हामीले युनाइटेड इन्सुरेन्ससँग बुझ्न खोजेका छौँ । इन्सुरेन्सले कर्मचारी चाँडो –चाडो प्रमोशन  र तलब बृद्धि होस् भन्ने चाहना राखेको र पुरा नभएपछि सम्झौता अघि नै पदबाट राजीनामा दिन थालेको बताएको छ । त्यसपछि राजीनामा चाडो स्विकार नगरेको इन्सुरेन्सले बताएको छ ।

प्रमुख कार्यकारी अधिकृत शेखर बरालले कर्मचारी प्रमोसन खाने, २ वर्षसम्म काम गर्छु भनेर सम्झौता गर्ने तर बीचमै सम्भmौता तोड्ने गरेपछि  राजीनामा स्वीकृत नगरेको बताए । उनले भने, ‘प्रमोसन चाहियो भन्ने र प्रमोसन भएको एउटा चिठि लिएर ४÷५ महिनापछि उनीहरु राजीनामा पत्र बुझmाउन आउँछन भने उनीहरुले चाहने वित्तिकै स्वीकृत गर्नुपर्छ भन्ने छ र ?

तर कुनै पनि कम्पनीमा एकै पटक एक सय भन्दा बढी कर्मचारीको राजीनामा स्वभाविक मानिदैन ।

कार्यलयकी सिनियर अधिकृत (ह्युम्यान रिसोर्सकी कामु प्रमुख) रेमिना मानन्धर केही केसमा कर्मचारीहरुबाट पनि गल्ती भएको बताउँछिन् ।

कम्पनीका अनुसार राजीनामा दिएका कर्मचारी श्रम अदालत जान थालेका छन् भने श्रम अदालतबाट इन्सुरेन्सको नाममा धमाधम पत्र आइरहेको छ ।  

विवादको विषय

सतुङ्गलमा रहेको सिजी इलेक्ट्रोनिक्सले बीमा दाबीमा किर्ते गरेको प्रमाणित भयो ।

उच्च अदालत पाटनले सिजीले बीमा दाबीमा किर्ते गरेको भन्दै सिजी इलेक्ट्रोनिक्सलाई भरपाई गराएको २४ करोड रुपैयाँ असुल्न बीमा समितिलाई निर्देशन दिएको छ ।

२०६९ असोजमा सतुङ्गल गोदाममा आगो लागेपछि  सर्भेयर र अण्डराइटरले अग्नि बीमा अन्र्तगत ५८ करोड क्षति भएको प्रमाणित गरेका थिए ।

सोही अनुसार युनाइटेड इन्सुरेन्सले विभिन्न समयमा ३४ करोड दाबी भुक्तानी गरेको र २४ करोड रुपैयाँ बैंक ग्यारेन्टी गरेको थियो ।

अदालतले बीमा समितिको निर्णयलाई नै सदर गरिदिएपछि सिजिले किर्ते गरेको प्रमाणित भएको हो ।

सीजी इलेक्ट्रोनिक्सले किर्ते बीमा दाबी गरी भुक्तानी लिएको प्रमाणति भएपछि भुक्तानी दिने युनाइटेड इन्सुरेन्स सर्वोच्च अदालत पुगेको छ ।

युनाइटेड इन्सुरेन्सले चैत १८ गते सर्वोच्चमा ‘अग्नि बीमा कारोबार नरोकियोस्’ भनेर मुद्दा दायर गरेको हो ।

‘फायर पोर्टफोलियो’ रोकिने डरले युनाइटेड इन्सुरेन्स सवोच्च पुगेको हो । ‘फायर पोर्टफोलियो’ लाई अग्नि बीमा कारोबार भनिन्छ ।

युनाइटेड विवादका अन्य समाचार 

सिजी इलेक्ट्रोनिक्सले बीमा दाबीमा २४ करोड किर्ते गरेको ठहर

२४ करोडको ‘हाइप्रोफाइल’ बीमा ‘ठगी’ : सर्वोच्च पुग्यो युनाइटेड इन्सुरेन्स

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप