बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मनु दाइको धाप

शनिबार, २४ चैत २०७४, ०८ : ३९
शनिबार, २४ चैत २०७४

संस्मरण: मनु दाइको धाप   
-लीलाराज दाहाल   

मलाई कहिलेकाहीँ मनमा लागिरहन्छ- कालजयी सिर्जना गर्ने स्रष्टाहरूलाई भेटुँ र ती रचनाका गर्भावस्थाबारे यथेस्ट जानकारी लिऊँ । अनि ती अनगन्ति कथाव्यथा सुनेर मनको जिज्ञासाको भारी बिसाऊँ । तर पनि कतिपय अवस्था र परिस्थितिले त्यसो गर्न अनुमति प्रदान गर्दैन । त्यसैले कहिलेकाहीँ चाहनाको ढोकामा ताल्चा मारेर बस्नुपर्दो रहेछ । साहित्यको अध्ययन गर्न थालेदेखि मेरो मनको श्रद्धाको आसनमा केही लेखक, कविहरू स्थायी रूपमा बसी आएका छन् । यिनैमध्येका एक सम्मानित लेखक हुनुहुन्छ, मनु ब्राजाकी ।

मैले जहिलेदेखि गम्भीर रूपमा साहित्यको अध्ययन गर्न थालेँ त्यही बेलादेखि मेरो मनको ठूलो घरमा मनु ब्राजाकीको बसोबास रही आएको पाउँछु । 

स्कुल तहको शिक्षा पूरा भएदेखि मभित्र सुषुप्त रूपमा रहेको साहित्यिक अध्ययनको भोक तीव्र रूपमा बढ्न थालेको थियो । स्कुले पाठ्यक्रममा समेटिएका कथा, कविता, निबन्ध, प्रबन्ध र जीवनीले म पटक्कै अघाउन सकेको थिइनँ । अझ क्याम्पसको अध्ययन सुरु भएपछि त चेतनाको लहरो अझ लामो भएको थियो । 

२०५१ सालको जेठ महिना । पढेर ठूलो मान्छे बन्ने महत्वाकाङ्क्षाको झोला बोकेर म पनि काठमाडौँ आएँ । क्याम्पसको अध्ययनले ज्ञानको घेरो अलि ठूलो बनाइदियो । पुस्तकालय मेरो अर्को प्यारो घर हुन थालेको थियो । पुस्तकालयका पुस्तकहरू मेरा प्यारा आफन्त र साथी जस्ता लाग्न थालेका थिए । एक दिन कसरी कसरी साझा प्रकाशनको मासिक साहित्यिक पत्रिका ‘गरिमा’ का २०४२, २०४३ वा २०४४ सालतिरका दुई अङ्क मेरा हातमा आइपुग्छन् । एउटा कथा विशेष अङ्क र अर्को सामान्य अङ्क । त्यतिबेला आँखा झिमिक्क नगरी ती दुवै अङ्क पूरै पढेर सकेको थिएँ । विभिन्न विशिष्ट लेखकका रचना समाविष्ट भए पनि मलाई एकै लेखकका दुईवटा कथाले भित्रैसम्म हल्लाएका थिए । विशेष अङ्कमा प्रकाशित ‘पुरुष र पेटिकोट’ र सामान्य अङ्कमा प्रकाशित ‘आखिर सजीवको कर्तव्य के हो त ?’ भन्ने कथाहरूको प्रभाव मभित्र यसरी परेको थियो कि त्यतिखेर मलाई अरू लेखकका रचना सतही लागेका थिए । ‘पुरुष र पेटिकोट’ कथाले महिला पुरुषबाट होइन महिलाबाट नै बढी पीडित छन् भन्ने सन्देश बोकेको थियो भने ‘आखिर सजीवको कर्तव्य के हो त ?’ भन्ने कथाले तराईको आञ्चलिक परिवेशलाई सुन्दर ढङ्गले अभिव्यक्त गरेको थियो ! ती दुवै कथाले मलाई यसरी ताने कि मलाई ती कथा लेख्ने कथाकारलाई भेट्न पाए हुन्थ्यो जस्तो लाग्न थालेको थियो । पत्रिकामा कथाकारको नाम पढ्छु– कति असजिलो ! मनु ब्राजाकी !! अनि यी मनु ब्राजाकी कस्तो हुनुहोला भनी मनमा उहाँको रूप आकृति बनाउन खोज्छु ! कसैगरी हुदैँन । 

के होला मनु ब्राजाकी भनेको ? फेरि अर्को चिन्ताले बास गर्छ मेरो युवा मस्तिस्कमा । मनु भनेको युवती हुन् कि ?  ब्राजाकी भनेको कस्तो थर होला ! जे सुकै होस् अर्थ, मनु ब्राजाकी भन्ने नाम मेरो मनमा अमिट छाप बनेर बसिसकेको थियो । म मनुको असली पाठक बनिसकेको थिएँ । मैले उहाँका भेटेसम्मका कथाहरू पढ्न थालेको थिएँ । मेरो मनमा आसन जमाएर बस्ने पहिलो कथाकार मनु ब्राजाकी नै हुनु हुन्छ । 
उहाँका कथाहरूले मलाई गहिरोसँग प्रभाव पार्न थालेका थिए । मैले पाठ्यपुस्तकबाहेक पहिलो पल्ट किनेको साहित्यिक पुस्तक उहाँकै कथा सङ्ग्रह ‘आकाशको फल’  थियो । यो पुस्तक मैले यति तन्मयताका साथ पढें कि मलाई लाग्न थाल्यो साहित्यको सर्वश्रेस्ठ विधा नै कथा हो । अनि म विस्तारै कथाको पोखरीमा पौडन थालेँ । कथा मेरो प्रिय विधा हुन थाल्यो ।

मनु ब्राजाकी सँगसँगै अरू कथाकारका कथाहरू पनि पढ्न थालें । तैपनि किन किन मनुकै कथाहरू चमत्कारिक, गहन र प्रभावकारी लाग्थे । उहाँका कथाहरू पढ्दापढ्दै कताकता मभित्र पनि कथा लेख्ने दुस्साहस पलाउन थाल्यो । कथा लेख्ने तरिका, शिल्प, कला केही थिएन म संग । अझै पनि छैन तर पनि कथा लेखूँ भन्ने भावनाको हुरी चल्न थालेको थियो म भित्र । अनि म जसोतसो कापीका पानामा कलमको मसी पोख्न थालेको थिएँ । 

२०५३ सालको माघ महिनाले मलाई दाङको तुलसीपुर सम्म पु¥याएर  छोड्यो । 

त्यो रोमाञ्चकारी बस यात्राका सानातिना घटनालाई अलि अलि काल्पनिक फुर्काफुर्की जोडेर मैले कथाका रूप दिएँ । जुन रचना कथाकै नाममा ‘सहयात्री’ शीर्षकमा गरिमामा २०५४ सालको माघ अङ्कमा प्रकाशित भएर पाठक छेउ आइपुग्यो । मेरो यही कथाले मलाई पहिलो पटक मेरा प्रिय कथाकार मनु ब्राजाकीसँग भेट गरायो ।
गरिमामा मेरो कथा छापिएको मात्र के थियो, म पनि कथाकार भएको भ्रमको रथमा चढेर एक दिन साझा प्रकाशनको हाताभित्र च्याउन पुगें । त्यो दिन सायद २०५४ साल फागुन महिनाको अन्तिम दिन थियो जुन दिनले मलाई प्रिय कथाकार मनु ब्राजाकीसँग साक्षात्कार गरायो । म खुशीले त्यसै त्यसै उफ्रिएको थिएँ ।
सोध्दै खोज्दै पुगेँ म गरिमाको सम्पादन कक्षमा । गरिमाका सम्पादक गोपाल पराजुलीको कार्य कक्षमा बसेर चार जना गम्भीर मानव आकृति नेपाली साहित्यको भूत, भविष्य र वर्तमानका बारेमा छलफलरत थिए । सँघारको केही समयको उभ्याइएपछि मैले अभिवादनसहित आफ्नो नाम बताएँ । तिनै चारमध्येका एक हुनु हुँदोरहेछ मैले खोजिरहेका कथाकार मनु ब्राजाकी । अर्का एक गरिमाका सम्पादक गोपाल पराजुली । अन्य दुईको थिए मैले थाहा पाउन सकिन ।

अरू राम्रा राम्रा कथा लेख्नुस् भनेर मलाई सम्पादक पराजुलीले प्रोत्साहित गर्नुभो र पारिश्रमिक स्वरूप मैले छ सयको थैली पनि प्राप्त गरेको थिएँ ।
त्यो दिन म यति खुशी भएँ कि मनु ब्राजाकीलाई कहिल्यै नछोड्नु जस्तो भइरह्यो । 
त्यतिखेर मनु ब्राजाकीले मेरो काँधमा मार्नुभएको धाप म कहिल्यै बिर्सन्न  । असाध्यै न्यानो र स्नेही थियो त्यो धाप । म जस्तो फुच्चे केटोका लागि मनु ब्राजाकी जस्तो प्रख्यात कथाकारको सामीप्यता पाउनु अहोभाग्यको कुरा थियो । मैले त्यो धापलाई आशीर्वादका रूपमा स्मरण गरिरहेको छु अझसम्म पनि ।

गरिमाका सम्पादकको कार्यकक्षको त्यो छलफल धेरैबेर चलेन । मनुदाइको पछि लागेर म पनि साझा प्रकाशनबाट बाहिरिएँ । बाहिर आएर मनु दाइ र म दाइकै अगुवाइमा एउटा गल्लीभित्र पस्यौं । दाइको सधैं जसो जाने नियमित होटेल रहेछ त्यो । बस्ने बित्तिकै दाइको प्रिय झोल आइपुग्यो स्टिल गिलासभरि । अनि मलाई के लिने भनेर इसाराले नै सोध्नु भो । मैले अम्लेट मगाएँ । करिब दुई घण्टा जतिको बसाइमा ६, ७ वटा त दाइको गजल मात्रै सुनियो । म गजलतिर मोडिनुमा यस घटनाको पनि हात छ कि जस्तो लाग्छ अहिले मलाई । त्यो दिनको महफिल मेरा लागि त बिल्कुल नयाँ अनुभव थियो  । मनु दाइ एउटा सिद्धहस्त कथाकार अनि गजलकार ! म  बिल्कुल आलो काँचो युवा पाठक ! दाइले ममाथि निकैबेरसम्म स्नेहको वर्षा गराई रहनुभएको थियो । दाइको हृदयबाट निःसृत प्यारको नदीमा म त्यो दिन निकै बेरसम्म पौडिरहेको थिएँ । सम्झन लायक दिनहरूमध्ये त्यो दिन पनि एक हो ।

तीन दिन जति मनु दाइसँग खुब घुमेँ म त्यसबेला । त्यति सङ्गतबाट मनु दाइको व्यक्तित्व र बानी व्यवहारको मज्जाले अध्ययन गर्ने मौका पाएँ । मनु दाइका कथा जति गम्भीर छन् । त्यति नै शालीन छ दाइको व्यक्तित्व । मनु दाइ घमण्डको रथमा चढ्नु भएको मैले कहिल्यै देखिन । सधैं आत्मीयताको कालो पत्रे सडकमा हिँडिरहेको देख्थें मैले उहाँलाई  । आफूसँग रकम भएसम्म अरूको नखाने, साना र नवोदितहरूसँग पनि आत्मादेखि नै खुल्न सक्ने अनि असाध्यै माया गर्ने, मनु दाइका बिर्सनै नसकिने गुणहरू हुन् । 

मनु दाइको भैंसेपाटीको निवासमा पुग्दा ठुलै धाममा आएको अनुभव हुन्थ्यो मलाई । दाइको हस्ताक्षरमा उपहार स्वरूप प्राप्त गरेको दाइको कथा सङ्ग्रह ‘तिम्री स्वास्नी र म’ मेरो घरको पुस्तकको खातमा शोभा बढाएर बसिरहेको छ अझै ।

आफ्नो पहिलो कथा मनु दाइसँगै गरिमामा छापिनु पनि मेरो खुशीको स्रोत हो एउटा । त्यही अङ्कमा मनु दाइको ‘जोर पैयँु’ कथा छापिएको छ, जुन मनु दाइको मास्टर पिस कथा हो । मनु दाइका कथा र गजलले मलाई नजिक पु¥याइरहन्छन् ।

भविष्य यात्रा, पारदर्शी मान्छे, अर्थमुक्त, भुन्ट्टीको भविष्य, रेबतिया माने रफिकन, अन्नपूर्णाको भोज, तिम्री स्वास्नी र म, सामन्तको सम्पत्ति, आमालाई बेच्नु हुँदैन, लाटा !, एउटी अवलाको अभियान, आकाशको फल, अमलेख, छिँडीमा सूर्योदय, राग हजुरिया जस्ता सशक्त कथाहरूले मलाई असाध्यै प्रभाव पारेका छन् । यी कथाहरू कसरी लेखिए ? मनु दाइकै मुखबाट सुन्न पाए कति आनन्द हुने थियो । उहाँका यी र यस्तै चर्चित कथाहरूका गर्भावस्थाको बारेमा जान्न पाए कति मजा हुने थियो । मैले यस्तैयस्तै कुरा मनमा खेलाएर धेरै दिन बिताएँ । तर अब यो सम्भव छैन । मनु दाइ अब यस संसारमा रहनु भएन । 

म गर्वका साथ भन्न सक्छु– कथाप्रति मेरो अभिरुचि बढेको मनु ब्राजाकीका कथा पढेर नै हो । मेरा  कलिला हात समाएर मलाई कथाको राजमार्गमा ताते ताते गरी हिँडाउने पहिलो व्यक्तिको नाम नै मनु ब्राजाकी हो भन्ने मलाई सधैँ लागि रहन्छ ।
हार्दिक श्रद्धाञ्जली मनु दाइ ।

बागमती-११ कर्मैया, सर्लाही                

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप