शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

तीनपुस्ते अराष्ट्रियता

शनिबार, २४ चैत २०७४, ०८ : ३५
शनिबार, २४ चैत २०७४

- भूपाल राई

राष्ट्रिय जनावरको देशमा
सूचीकृत छु
राष्ट्रिय जनगणनाको एक आँकडा
एक अराष्ट्रिय मान्छे

अराष्ट्रिय बाजेको नाति
अराष्ट्रिय बाबुको छोरा
डामेर निधारभरि तीनपुस्ते अराष्ट्रियता
खेपिरहेछु
राष्ट्रिय जनावरको एक अराष्ट्रिय मुद्दा 

जहाँ केही राजकीय शब्दहरू
छुट्टिएर शब्दको खोपीबाट
बन्दछन् राष्ट्रिय गीत
केही दैविक वाणीहरू खसेर ब्राह्मवाणीबाट
बन्दछ मुलुकी ऐन
र केही जनावरहरू
निस्किएर धर्मसभाको चेपबाट
गर्छन् मान्छेमाथि रजाइँ 
फहराउँदै एकसाथ
गणतन्त्र दिवशको विजय पताका
र मक्किँदै गरेको पुर्खाको भोटो
खेपिरहेछु
१६४ वर्ष पुरानो जङ्गबहादुरको अपराध संहिता

राष्ट्रिय जनावरको देशमा
यसरी खेपिरहेछु एक अराष्ट्रिय मुद्दा 
जहाँ सोधिएका छन् हमेसा एउटै प्रश्न–
“किन भोगिरहेछस् यो सङ्गीन अपराध
जसलाई खुद संविधानले अराष्ट्रिय भनेको छ ?” 
उत्तरमा हमेसा मैले भनेको छु– “जोसँग मेरो
खाद्य सम्प्रभुता जोडिएको छ”
“तर यो राज्य अपराध हो,
तलाई थाहा छैन ?”
भनेँ– “राज्य कुन सीमानाबाट सुरु हुन्छ
मलाई थाहा छैन ।”
“कैलेदेखि खा’को होस् ?” 
भनेँ– “पाँचौं हजार वर्षदेखि”
“कैलेदेखी खा’को होस् ?”
फेरि भनेँ– “दसौँ हजार वर्षदेखि”

अन्तिम प्रश्नपछि
जब बाँधियो मेरा हात खुट्टा
झुण्ड्याएर छातीमा राज्य द्रोहको बिल्ला
जब खिचियो मेरो एकथान पूर्णकदा तस्बिर
अचानक लाग्यो
कि गणतन्त्रको यो प्रथम दसक
जसका लागि खुद् मैले पनि
फटाएको हुँ साढे सत्ताइस जोर आयुको तलुवा
मानौँ ब्युँतिरहेछन् अझै पनि
राजा महाराजाको अनेक संस्करणहरू त्यहाँ
डुक्रिरहेछन् 
जङ्गबहादुरको सनातन गोठबाट
नयाँ नयाँ उत्पादन भएर
धर्मयुद्धका नयाँ नयाँ साँढेहरू
जसले खोसेका छन् 
मात्र एकथान आधुनिक हिन्दुस्थानाका लागि
हज्जारौँ वर्ष पुरानो मेरो प्राकृतिक न्याय
र, ठोकेका छन्  मेरो थाप्लोमा
पुस्तांैनी दण्ड स्वरूप
गोरुको बाध्यकारी मेक्चन 

अराष्ट्रिय बाजेको नाति
अराष्ट्रिय बाबुको छोरा
बाध्य हुने छैन अब
कुनै पनि प्रश्नको उत्तर दिनबाट म
बरु एक अनन्त कालदेखि
चढाए झैँ प्रत्येक पटक
पुर्खाहरूको नाममा
फेरि चढाउनेछु सुप्तुलुङभरि
गोरुको सायाचोक्मा 
र खोज्नेछु
साढे सत्ताइस जोर आयुको तलुवामा
फाटेको आफ्नै सम्प्रभुता

राष्ट्रिय जनावरको देशमा
ती तमाम जनावरहरूप्रति
म उत्तिकै उदार बन्न सक्छु
सिवाय एउटा खतरनाक शब्द
जसको कारणले ‘अराष्ट्रिय’ भइरहन
म अभिषप्त छु
म त्यही शब्द खारेज गर्न चाहान्छु ।

मेक्चन गोरुको मासु खाए बापत 
किराँतीहरूले खेप्नुपर्ने दण्डर कर ।
सुप्तुतुलुङ तीन चुल्हाको किराँती साँझा नाम ।

(सायाचोक्मा  किराँती राई भाषा अनुसार शिर उभ्याउने काम)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप