बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

सलमान खान ल्याउने भन्दै उठाएको करोडौँ के हुन्छ ?

शुक्रबार, २३ चैत २०७४, १६ : २६
शुक्रबार, २३ चैत २०७४

आयोजक भन्छन्, ‘सलमान आउने कन्फर्म छ’

 

काठमाडौँ । भारतीय अभिनेता सलमान खान जेल गएपछि उनलाई नेपाल ल्याउने भन्दै पाँच हजारभन्दा बढी टिकट विक्री बापत आएको पैसा के हुन्छ भन्ने बारे प्रश्न उठेको छ । ओडीसी इन्टरटेनमेन्टले सलमानलाई काठमाडौंको टुँडीखेलमा ल्याएर कार्यक्रम गर्ने भन्दै करोडौँ उठाएका छन् । 

कृष्णसारको शिकार गरेको मुद्दामा जोधपुर अदालतले खानलाई पाँच बर्षको जेल सजाय सुनाएसँगै उनको नेपाल भ्रमण थप अन्यौलता झन् बढेको छ । तर, आयोजक ओडिसीका अध्यक्ष सिमान्त गुरुङ भन्छन्, ‘सलमान नेपाल आउने कम्फर्म छ ।’ 

‘हालसम्म चार हजार टिकट विक्री भएको छ,’ गुरुङले रातोपाटीसँग कुरा गर्दै भने, ‘मे २६ मा सलमान खान नेपाल आउने कम्फर्म छ ।’ 

उनले महङ्गो टिकट बिक्री गरेर करोडौं उठाएको बारे काठमाडौं प्रहरी जानकार छ । जाहेरी नपरेको हुनाले त्यसबारे ठोस कदम चाल्न नसकेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) मोहन थापाले बताए । 

उनले भने, ‘जाहेरी परेको छैन, तर सलमान खान ल्याउन भन्दै पैसा उठाएको बारे निगरानी गरिरहेका छौं ।’ गुरुङले ३ हजार देखि ५ हजार दरको टिकट विक्री भएको बताएपनि प्रहरीले भने ५ हजार देखि २० हजार सम्मको टिकट बेचेर करोडौं उठाएको पाइएको बताउँछ । 

सलमान खान जेलमा रहेको कारण उनी नआउने भए यस्तो अवस्थामा सर्वसाधारणबाट उठाएको पैसा के गर्नुहुन्छ ? भन्ने रातोपाटीको जिज्ञासामा अध्यक्ष गुरुङले भने, ‘मे २६ आ सलमान आउने कन्फर्म छ, उहाँको मेनेजरले चिन्ता गर्नुपर्दैन भनेका छन् यदी ल्याउन नसके पैसा फिर्ता गर्छौँ ।’ 

बिहीबार जेल चलान भएका खानले धरौटीमा छुट्नका लागी सेसन कोर्टमा अपिल गर्न सक्नेछन् । सलमानको मेनेजरले केही दिनमा उनी छुट्ने दाबी गरेको उल्लेख गर्दै गुरुङले भने, ‘केही दिनमा उहाँ छुट्नुहुन्छ, नेपाल मात्रै हैन सलमानको ब्याक टु ब्याक अमेरिका, टेक्सस, क्यानडा र न्युजर्सीमा पनी कार्यक्रम छ त्यसैले मेनेजरले चिन्ता नगर्नु भनेको छ ।’ 

आडिसी इन्टरटेनमेन्टले राष्ट्र बैंक मार्फत खानलाई ६ करोड बढी पैसा पठाइसकेको गुरुङले दाबी गरेका छन् । १० देखि १२ करोडको लागत अनुमान गरिएको उक्त कार्यक्रममा सलमान आउँलान् या नआउँलान्, त्यो भने हेर्न बाँकी नै रहेको छ । 

यसअघि, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विरोधपछि फागुन २६ गते हुने भनिएको सलमानको पूर्व निर्धारित कार्यक्रम रद्द भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप