शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चीनको ‘चार नवीन आविष्कारहरू’ को दाबी कति यथार्थ ?

शुक्रबार, २३ चैत २०७४, १३ : ४१
शुक्रबार, २३ चैत २०७४

चीनले हाई स्पिड रेल, मोबाइल भुक्तानी, विद्युतीय व्यापार र सार्वजनिक प्रयोग गरिने साइकल सेवालाई आफ्ना ‘चार नवीन आविष्कार’ भएको दाबी गर्ने गर्छ । २०१७ को मेदेखि यो दाबी कैयौं पटक चिनियाँ सरकारी मिडियाहरूमा आएका छन् ।

हालसालै चिनियाँ राष्ट्रिय जन कङ्ग्रेसको अवसरमा यसका एक प्रतिनिधि तथा ‘ट्यान्सेन्ट’का प्रमुख कार्यकारी अधिकृत पोनी माले पुनः यो दाबी दोहो¥याए । 

राष्ट्रिय जनकङ्ग्रेसमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने– “हाई स्पिड रेल, अनलाइन सपिङ, मोबाइल भुक्तानी र सार्वजनिक प्रयोग गर्न मिल्ने साइकल सेवालाई जनाउन हामीसँग नयाँ पदावली रहेको छ– ‘चार नवीन आविष्कार’ ।”

तर दाबी गरिएजस्तो यीमध्ये कुनै पनि चीनले आविष्कार गरेको होइन । यिनीहरू दशकअघि नै अन्तै आविष्कार भएका थिए ।

कहाँबाट आयो यो दाबी

यो दाबीको सुरुवात बेइजिङ विदेश अध्ययन विश्वविद्यालयले मे २०१७ मा गरेको सर्भेबाट भएको देखिन्छ । यसमा युवाहरूलाई अध्ययनमा समावेश २० देशहरूबाट कुन प्रविधि चीन भित्र्याउन चाहन्छन् भनेर सोधिएको थियो । 

जवाफ दिनेहरूको चार शीर्ष छनौटहरूमा ः हाई स्पिड रेल, मोबाइल भुक्तानी, सार्वजनिक प्रयोग गर्न सकिने साइकल सेवा र विद्युतीय व्यापार रहेको थियो । त्यसपछि नै  चिनियाँ मिडियाहरूले यिनलाई आधुनिक समयको ‘चार नवीन महान आविष्कार’ भनेर प्रचार गर्न थाले ।

किन यो दाबी आइरहेको छ ?
‘चार नवीन आविष्कारहरू’ पदावली प्राचीन चीनको ‘चार महान आविष्कारहरू’– कागज उत्पादन, बारुद, छपाई र कम्पाससँग लय मिलाएर राखिएको हो ।

सन् २०२० सम्म नवीन आविष्कारक गर्ने शीर्ष देश बन्ने लक्ष्य लिएको चीनले पछिल्लो समय प्रविधिको सुधारमा निक्कै जोड दिइरहेको छ ।

अहिलै नै चीन अनुसन्धानमा दोस्रो धेरै खर्च गर्ने देश भइसकेको छ । अमेरिकापछि धेरै अनुसन्धानमा लगानी गरिरहेको चीनले विश्वको कुल अनुसन्धान लगानीको २१ प्रतिशत खर्च गर्छ । वर्ड इकोनोमिक

फोरमका अनुसार सन् २०१५ मा उसले २० खर्ब अमेरिकी डलर अनुसन्धानमा खर्च गरेको थियो ।

त्यसो भए कहाँ आविष्कार भएका थिए यी आविष्कारहरू ?

हाई स्पिड रेल

हाई स्पिड रेलको कुनै निश्चित परिभाषा छैन । युरोपेली सङ्घका अनुसार नयाँ रेलवे ट्रयाकमा कमसे कम २५० कि.मि. प्रतिघण्टाको गतिमा चल्ने रेललाई हाई स्पिड रेल भनिन्छ ।

विश्वव्यापी रेल सस्थाको अनुसार पहिलो उच्च रफ्तारको रेल सेवा १९६४ मा जापानमा सुरु भएको थियो । 

हुन त योभन्दा पहिले सन् १९५५ मा फ्रान्समा एक रेल ३३१ कि.मि. प्रतिघण्टाको गतिमा गन्तव्यमा पुगेको थियो । तथापि सबैभन्दा पहिले टोकियो ओसाकाबीचको रेलमार्गमा नियमित रूपमा २०१ कि.मि. प्रतिघण्टाको गतिमा रेल चल्न थालेको थियो ।

चीनको पहिलो हाई–स्पिड रेल लाइन भने सन् २००८ मा ओलम्पिक खेल अघि सुरु भएको थियो ।

मोबाइल भुक्तानी

सबैभन्दा पहिलो फिनल्यान्डमा सन् १९९७ मा मोबाइल उपकरणबाट भुक्तानी सुरु भएको थियो । तथापि केही मानिसहरू भने यसको वास्तविक सुरुवात सन् २०१४ मा ‘एप्पल पे’ले गरेको मान्दछन् ।

विद्युतीय व्यापार 
बेलायतका माइकल एल्ड्रिचलाई १९७९ मा अनलाइन सपिङको अवधारणा सुरुवातको श्रेय दिइन्छ ।

तथापि विद्युतीय व्यापार १९९० को दशकमा लोकप्रिय भएको थियो । अनलाई सपिङ सेवा दिने उद्देश्यले दुई अमेरिकी कम्पनी अमेजन र इबेले १९९५ मा आफ्नो बेवसाइट्स सार्वजनिक गरेपछि यसको विस्तार भयो ।

सार्वजनिक साइकलको प्रयोग

‘बाइक सेयरिङ’ भनिने सार्वजनिक साइकलको प्रयोगको सुरुवात ‘वाइट बाइसाकिल प्लान’ नामबाट १९६० मा सुरुवात भएको थियो ।

तथापि चीनमा बाइक सेयरिङ सेवा दिइरहेका कम्पनीहरू ‘मोबाइक’ र ‘ओफो’ नयाँ तरिकाबा यो सेवा दिइरहेका छन् । यिनको सेवा प्रयोग गर्न प्रयोगकर्ताहरूले आफ्नो मोबाइल फोनबाट साइकल राखिएको सार्वजनिक स्थान पत्ता लगाउन सक्छन् र साइकल प्रयोगपछि तिनलाई कम्पनीको सहरमा छरिएर रहेको कुनै पनि साइकल केन्द्रमा छोड्न सक्छन् ।

तर चीन बनेको छ यी चार सेवा उपयोगमा मुख्य खेलाडी

तर यथार्थ जे भए पनि चीनले बाँकी देशहरूलाई यी नवीन आविष्कारहरूको प्रयोगमा भने निक्कै पछाडि पारेको छ ।

“केहीले ‘चार नवीन महान आविष्कारहरू’ चीन मूल नभएको तर्क गर्न सक्छन् । त्यो सही पनि हो तर चीनले नै यिनमा नयाँ प्रविधि प्रयोग गरेर यिनलाई नयाँ स्वरूप दिएको हो ।” सियामेन विश्वविद्यालयका प्राधापक छु गोङचेङले भने ।

हाल बाँकी विश्वको कुल हाई स्पिड रेलको लम्बाइभन्दा बढी रेल सञ्जाल चीनमा छ । चीनको हाई स्पिड रेल सञ्जाल २५ हजार किलोमिटर रहेको छ, जसलाई उसले सन् २०३० सम्म दोब्बर बनाउन चाहन्छ ।
चीनको कुल मोबाइल भुक्तानी २०१७ को पहिलो १० महिना १२७० खर्ब डलर थियो, जुन विश्वको सबैभन्दा ठूलो हो ।

त्यस्तै ७० करोड इन्टरनेट प्रयोगकर्ता रहेको चीन विश्वको सबैभन्द ठूलो विद्युतीय व्यापार हुने देश हो र यो तीव्र गतिमा विस्तार भएको छ ।

त्यस्तै फेब्रुअरीमा चीनका यातायात मन्त्रालयका उपमन्त्रीले बताएअनुसार चीनमा ४० करोड बाइक–सेयरिङ प्रयोगकर्ता रहेका छन् भने २.३ करोड सार्वजनिक साइकल प्रयोगमा रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप