बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘वैरो’, ‘चाकडी’ र ‘एटीएम’मा कर्मचारीको हारालुछ

बिहीबार, २२ चैत २०७४, १४ : ००
बिहीबार, २२ चैत २०७४

निजामती प्रशासनमा तीनवटा शब्द ज्यादै चर्चित छन्– वैरो, चाकडी र एटीएम । अझ काठमाडौंमा बस्ने निजामती कर्मचारीहरू त यस शब्दलाई ज्यादै माया पनि गर्छन् अर्थात्, पाएसम्म वैरो, चाकडी र एटीएम छाड्दैनन् । सबै निजामती कर्मचारीलाई यो शब्दको मोह त्यति नहोला तर जानकार भने सबैजसो छन् ।

विषय मालदार अड्डाको हो । धेरै आम्दानी हुने ठाउँमा जान अधिकांश कर्मचारीको हानाथाप नै हुन्छ । ट्रेड युनियनका नेताहरू वैरो, चाकडी र एटीएममा आफू वा आफूनिकटस्थलाई सरुवा गराउन सकेजति बल प्रयोग गर्छन् । कारण, आफू निकटस्थलार्य यी स्थानमा पठाउन पाए आफूलाई पनि केही आम्दानी हुन्छ । 

अब कुरा गरौं, निजामती प्रशासनका यी तीन चर्चित शब्दलाई । 

पहिलो शब्द हो– वैरो ।

निजामती प्रशासनमा यो शब्दको प्रयोग धेरै हुन्छ । किनभने छाटो समयमै राम्रो आम्दानी गर्न सकिने स्थान भएकाले मानिसहरू यो स्थानलाई पाएसम्म छाड्दैनन् । 

वैरो छोटकरी शब्द हो । यसको पूरा रूप वैदेशिक रोजगार विभाग हो, जसलाई कर्मचारीवृत्तमा वैरो भनिन्छ । मासिक तलबबाहेक कानुनी रूपमा अन्य केही सुविधा नहुने भए पनि निजामती कर्मचारी वृत्तमा यो स्थानको महत्व अत्यधिक बढी छ । मुख्यत विदेशमा श्रमशक्ति पठाउन अन्तिम स्वीकृति दिने स्थान हो, यो विभाग । म्यानपावर व्यवसायीसँग प्रत्यक्ष जोडिने भएकाले यस स्थानमा व्यक्तिबाट भन्दा पनि म्यानपावर कम्पनीबाट नै बढी आम्दानी हुने हुन्छ । 

यसरी हुन्छ वैरोमा थप आम्दानी

वैदेशिक रोजगार विभागका कर्मचारीहरूले म्यानपावर व्यवसायीको काम गरिदिएबापतदेखि फाइल नमिलेको, कम्पनीको नाम नमिलेको, फाइल र भिसा अगाडि वा पछाडि भएको लगायतका विविध विषयमा घुस लिने गर्छन् । अझ सबै कागजात मिले पनि प्रति श्रम स्वीकृतिका दरले विभागलाई पैसा बुझाउनुपर्ने हुन्छ । किनभने सबै कागजात मिलेको अवस्थामा गरेको कामको पैसा नदिए कागजात नमिलेको बेला कुरा मिलाउन गाह्रो हुन्छ । त्यसकारण सबै काम कानुनसम्मत हुँदा पनि पैसा नदिई वैदेशिक रोजगार विभागमा काम हुँदैन, गर्न सकिँदैन । 

यसरी गरिन्छ आम्दानी र बाँडिन्छ पैसा

वैदेशिक रोजगार विभागमा संस्थागत घुसखोरी हुने गरेको छ । सबै काम कानुनसम्मत हुँदा पनि थप पैसा बुझाउनुपर्छ भने कागजात नमिलेको केसमा पैसा बुझाउने त नियमित प्रक्रिया नै हो । यहाँ अन्तिम स्वीकृति दिएर छाप लगाउनेबेलामा पैसा बुझाइन्छ । पैसा बुझाउँदा पनि म्यानपावर कम्पनीले सोझै होइन, विभागमा रहेका दलाल वा म्यानपावरका एजेन्टमार्फत् मात्रै रकम बुझ्ने गरिन्छ । त्यो रकम दैनिकरूपमा सङ्कलन हुन्छ र प्रत्येक दिन कुनै एक कर्मचारीले राख्छन् । यद्यपि प्रत्येक दिन हुने आम्दानीको हिसाब राखिन्छ । अनि साताको अन्तिम दिन सबै रकम सङ्कलन गरिन्छ र सबै कर्मचारीलाई भाग लगाइन्छ । ‘सेन्टर कलेक्सन’ गरिसकेपछि त्यो रकम कार्यालय प्रमुखदेखि कार्यालय सहयोगीसम्मलाई पद वा हैसियतअनुसार वितरण गरिन्छ । वैदेशिक रोजगार विभागमा सबैभन्दा धेरै आम्दानी भने २०६३ देखि २०६८ सालसम्म हुने गरेको थियो । यद्यपि अहिले पनि विभागको अतिरिक्त आम्दानीमा खासै कमी आएको छैन । मात्र सञ्चार माध्यम र सरकारी निकायको निगरानी केही बढेको छ । 

अब जाऔं दोस्रो शब्द चाकडीतर्फ  

शब्दको सामान्य अर्थ कसैलाई हैसियतभन्दा बढी मान वा सम्मान दिनु भन्ने हो । तर निजामती सेवामा चाकडीको अर्थ फरक छ । निजामतीमा चाकडीको अर्थ मालदार अड्डा भन्ने हो । खासमा चाकडी छोटो रूप हो, जसको विस्तृत रूप चावहिल, कलङ्की र डिल्लीबजार हो । मतलब चावहिल, कलङ्की र डिल्लीबजारको मालपोत तथा नापी कार्यालय । 

अतिरिक्त आम्दानीका लागि काठमाडौंका यी तीन स्थान पनि निजामती सेवामा चर्चित शब्द हुन् । आम नागरिकसँग प्रत्यक्ष भेटघाट हुने र आर्थिक कारोबार हुने भएकाले यी स्थानलाई पनि कमाऊ अड्डाका रूपमा बुझिन्छ ।

हुन त सबैजसो मालपोत तथा नापी कार्यालयमा घुस चल्ने बताइन्छ । यद्यपि सहरी भूभागका मुख्य मालपोत तथा नापी कार्यालयमा यस्तो घुस र अतिरिक्त आम्दानी बढी हुने गरेको बताइन्छ र तथ्यले पनि यस्तै देखाउँछ । 

महँगो मूल्य पर्ने स्थानको जग्गा खरिद वा बिक्री, नामसारी, अंशबण्डा, नापजाँच र कित्ताकाट गर्दा यहाँ पैसाको चलखेल बढी हुन्छ । अझ जग्गाको नापजाँच वा कित्ताकाट गर्दा सबैभन्दा बढी पैसाको चलखेल र घुसको लेनदेन हुने गर्छ । सरकारी जमिनलाई आफ्नो नाममा दर्ता गराउनेदेखि जग्गा मिच्ने, सम्बन्धित जग्गा धनीलाई थाहा नै नदिई एक व्यक्तिको जग्गा अर्को व्यक्तिको नाममा पुराउने लगायतका धेरै काम लेखापढी अर्थात् दलाल मार्फत् मालपोत र नापीका कर्मचारीको मिलिभगतमा हुने गरेको छ । सामान्यभन्दा सामान्य काम गर्न पनि घुस लिने र दिनैपर्ने प्रवृत्ति यस्ता अड्डामा हुने गरेका छन् । घुस नदिई काम गराउन खोजे काममा अल्झाइदिने, एकै दिनमा हुने कामलाई पनि धेरै समय लगाइदिने लगायतका काम मालपोत र नापीमा पुग्ने जोकोहीलाई राम्ररी थाहा छ । 

यसरी हुन्छ संस्थागत घुसखोरी

वैरो अर्थात् वैदेशिक रोजगार विभागमा जस्तै मालपोत र नापी कार्यालयमा पनि संस्थागत घुसखोरी चल्छ अर्थात् यहाँ पनि कुनै व्यक्तिविशेषले मात्रै पैसा नखाएर सेन्टर कलेक्सन गरी साताको अन्तिम दिन वा अन्य कुनै दिन सबैलाई वितरण गर्ने गरिन्छ । यहाँ पनि पद वा हैसियतका आधारमा पैसाको बाँडफाँड हुने गर्छ । कार्यालय प्रमुख वा वरिष्ठ कर्मचारीले धेरै प्रतिशत पाउँछन् भने कार्यालय सहयोगीले सबैभन्दा कम । तर ‘समानुपातिक’ हैसियतमा सबै कर्मचारीले यो पैसा पाउँछन् । 

३१ ‘नेता’ कर्मचारी जसले कामै नगरी बुझे ८ करोड

अब ‘एटीएम’को कुरा गरौं ।

सामान्य बुझाइमा एटीएम भन्नाले बैङ्कको एटीएम बुझिन्छ । अङ्ग्रेजीको शब्द एटीएमको पूरारूप अटोमेटेड टेलर मसिन हो । बैङ्कमार्फत् पैसा झिक्नका लागि यो मेसिनको प्रयोग हुन्छ । 
निजामतीको एटीएममा पनि समानता छ, त्यो हो पैसा झिक्ने । तर निजामतीका कर्मचारीहरू एटीएमको अर्थ एनी टाइम मनी भनेर बुझ्छन् । निजामतीको एटीएम भनेको पनि जुनसुकै दिन वा समयमा आम्दानी भइरहने कमाउ अड््डा नै हो । अतिरिक्त आम्दानी हुने अन्य स्थानहरूलाई निजामतीमा एटीएम सेन्टर भन्ने गरिन्छ ।

देशैभरका भन्सार कार्यालय, अध्यागमन विभाग अन्तर्गत एअरपोर्ट कार्यालय, यातायात व्यवस्था कार्यालय, सबै कार्यालयका लेखा र स्टोर शाखा आदिलाई बुझाउने गरिन्छ । जहाँ बढी आम्दानी हुन्छ र जसरी दोहन गर्न सकिन्छ, त्यस स्थानलाई निजामतीमा एटीएम भनिन्छ । 

मालदार अड्डामध्ये सबैभन्दा राम्रो आम्दानी हुने अड्डा भनेर भन्सार कार्यालयहरूलाई बुझिन्छ । विदेशबाट आएको सामानलाई कम मूल्याङ्कन गरी भन्सार छली गराउने, धेरै सामानलाई थोरै सामान बनाउने, चोरी र पैठारीका सामानलाई सेटिङमा मिलाउनेलगायतका काम भन्सार कार्यालयहरूमा हुने गर्छ । यसबापत यहाँका कर्मचारीहरूले करोडौं रकम अतिरिक्त आम्दानी गर्छन् । यस कार्यालयमा पनि सेन्टर कलेक्सन गरी सामूहिकरूपमा रकमको बाँडफाँड हुन्छ । भन्सार कार्यालयहरूमा राजस्व समूहका कर्मचारी धेरै हुने भएकाले प्रशासन समूहकाले खासै आँखा लगाउन पाउँदैनन् । 

एयरपोर्ट

अतिरिक्त आम्दानीका लागि अर्को राम्रो गन्तव्य अध्यागमन कार्यालय एयरपोर्ट पनि हो । यहाँ मानव तस्करीका सवालमा सबैभन्दा बढी आम्दानी हुन्छ । मुख्यतः नेपाली युवतीहरूलाई विदेशी भूमिमा पुर्याउन सहयोग गरेबापत यहाँका कर्मचारीहरूले आम्दानी गर्छन् । त्यसबाहेक नक्कली श्रम स्वीकृति, नक्कली कम्पनी, नक्कली व्यक्ति आदिलाई सेटिङमा विदेश पठाएर त्यसबापत थप आम्दानी हुने गर्छ । एअरपोर्टमै भन्सारका कर्मचारीसँग मिलेर राजस्व छली र अन्य सरसामानको तस्करीमा पनि उनीहरूको संलग्नता हुने गर्छ । सोबापत लाखौं करोडौं रकम अतिरिक्त आम्दानी हुने भएकाले यो अड्डा साँच्चैको एटीएम अर्थात् एनी टाइम मनी आउने मालदार अड्डा मानिन्छ । 

कामै नगरी तलब खान्छन् यी ‘नेता’ कर्मचारी (सूचीसहित)

यातायात कार्यालयहरू

अतिरिक्त आम्दानीका लागि अर्को राम्रो स्थान यातायात कार्यालयहरू पनि हुन् । यातायात कार्यालयहरूमा सवारी दर्ता, लाइसेन्स बनाउने, नामसारी लगायतका काम हुने हुँदा यहाँ पनि पैसाको राम्रै चलखेल हुन्छ । कतिपय कार्यालयमा त नक्कली बिलबिजक जारी गरेर राजस्व काट्ने, सिस्टममा आम्दानी नदेखाउने गरिएको तथ्य पनि जगजाहेर नै छ । नक्कली लाइसेन्स बनाउने, कागजात नपुगी बिक्री वा दर्ता र नामसारी गराउनेलगायतका काममा यहाँ अतिरिक्त आम्दानी हुन्छ । 

यी कार्यालयहरूमा पनि संस्थागत घुसखोरी चल्छ । यहाँ पनि रकम उठाएर साप्ताहिक रूपमा बाँडफाँड हुन्छ र पद अनुसारको पैसा पाइन्छ । निजामतीमा यो स्थान पनि आकर्षक स्थान हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तथ्याङ्क हेर्ने हो भने यिनै अड्डाहरू मालदार अड्डाका रूपमा चित्रित भएका छन् । किनभने इतिहासदेखि नै भ्रष्टाचार वा रङ्गेहात पक्राउ परेका भ्रष्ट कर्मचारीको कुण्डली खोज्ने हो भने उनीहरू कि त यिनै शाखामा बसेर काम गरेका वा गर्दै गरेका कर्मचारीहरू छन् । अख्तियारको निशानामा मुख्यत वैदेशिक रोजगार विभाग, मालपोत तथा नापी कार्यालय, अध्यागमन कार्यालय, यातायात र भन्सार नै पर्ने गरेको छ, घुस प्रकरणमा पक्राउ परेका अधिकांश यिनै कार्यालयका छन् । 

यी कार्यालयबाहेक अधिकांश कार्यालयका लेखा शाखामा बस्ने लेखापाल वा लेखा अधिकृतले अतिरिक्त आम्दानी गर्ने गर्छन् । साथसाथै विभिन्न कार्यालयका स्टोरकिपरहरूको आम्दानी पनि लोभलाग्दो हुन्छ । वीर अस्पताल र औषधि व्यवस्था विभागको स्टोर किपरको नियुक्ति पाउन ठूलो मिहिनेत गर्नुपर्छ । 

सामान्य प्रशासन मन्त्रालयका एक सहसचिवका अनुसार सामान्य प्रशासन मन्त्रालयमा माग हुने धेरै कार्यालयमा यही वैरो, चाकडी र एटीएम नै रहेका छन् । ट्रेड युनियनका नेतामार्फत् यी कार्यालयमा सरुवाका लागि दबाब आउने गरेको छ । विभिन्न राजनीतिक दलनिकटका ट्रेड युनियनका नेताहरू सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन शाखा वा अतिरिक्त शाखामा बस्नुको कारण पनि यही हो, कि आफ्ना मान्छेलाई मालदार अड्डामा सरुवा गराउनु । ट्रेड युनियनमार्फत् यस्ता मालदार अड्डामा जानका मन्त्रालयमा ठूलै दबाब पर्ने पर्छ । सरुवा गराएबापत ट्रेड युनियनका नेताहरूले उनीहरूसँग रकम असुलसमेत गर्ने गरेका छन् । निजामती प्रशासनको ट्रेड युनियनमा यसलाई सरुवा उठाउने भनिन्छ ।

यसरी निजामती सेवामा मुख्यत यी तीन शब्द यसकारणले चर्चित छन् । उपसचिवभन्दा तलका अधिकांश कर्मचारीहरू यिनै अड्डामा बस्न चाहन्छन्, कमाउन चाहन्छन् । ट्रेड युनियनका अधिकांश नेताहरू पनि यिनै मालदार अड्डामा बसेका वा बसिरहेकाहरू छन् । ट्रेड युनियनको नाममा उनीहरूले निजामती सेवामा राजनीति गरिरहेका छन्, सरुवाका नाममा भ्रष्टाचार भइरहेको छ र सरुवा उठाइरहेका छन् । 

यस्ता छन् निजाती सेवाभित्रका मुख्य ‘मालदार’ अड्डाहरू :

भन्सार कार्यालयहरू

वैदेशिक रोजगार विभाग

मालपोत र नापी कार्यालयहरू

अध्यागमन कार्यालयहरू

सडक विभाग र आयोजनाहरू

सबै कार्यालयका लेखा शाखाहरू

अधिकांश कार्यालयका स्टोर किपरहरू

वीर अस्पतालको स्टोर किपर

वनका डीएफओ र रेन्जरहरू

स्थानीय तहहरू ।

स्वेच्छिक अवकास प्रकरण : लालबाबु र कर्मचारी सङ्गठनबीच जुहारी

कर्मचारीलाई सरकार र ‘छाया’ सरकारको भिन्दाभिन्दै निर्देशन, अब के हुन्छ ?

स्वेच्छिक अवकास रोक्न आउन सक्छन् यस्ता चुनौती

जहाँत्यहीँ बेथिति

सरकारको निर्णय ‘श्रीमान्’ले नै टेरेनन् !

‘श्रीमान्’, आफ्नै निर्णयविपरीत सुविधा लिन लाज लाग्दैन !

अरु पनि 

फलोअप : मुख्य सचिवले सच्याए गल्ती, रेशम अटेरी

रातोपाटी समाचार प्रभाव : रातो बनाइएका सबै सरकारी नम्बर प्लेटलाई तत्काल परिवर्तन गर्न गृहको निर्देशन

परराष्ट्र सचिव नै चढ्छन् ‘अवैध’ गाडी !

समाचार प्रभाव : परराष्ट्र सचिवले सच्याए गल्ती

मुख्यसचिवको गाडीमा अस्तित्वमै नभएको नम्बर प्लेट !

प्रधानमन्त्रीज्यू, मुख्यसचिवलाई कानुन लाग्दैन ?

सरकारी गाडी लिएर पूर्वमाननीयहरू ‘फरार’

सरकारी गाडीमा रातो प्लेटको मोह : सचिवज्यूहरुलाई छुने आँट कसको ? (सूचीसहित)

यस्ता पनि छन् सरकारी अफिसर !

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप