शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बेचिएकी चेली १७ वर्षपछि घर फर्किइन्ः यस्तो छ अनुभव

बुधबार, २१ चैत २०७४, ०९ : ०५
बुधबार, २१ चैत २०७४

कञ्चनपुर - भारतमा बेचिएकी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाकी ३२ वर्षीया तारा कामीले आफू घर फर्कने कुरा सपनामा समेत चिताएकी थिइनन् ।

१५ वर्षकै उमेरमा घर नजिकैको झलारी बजारमा किनमेल गर्न गएका बखत नशालु पदार्थ खुवाएर सशस्त्र द्वन्द्वको मौका छोप्दै विसं २०५८ मा दलालहरुले अपहरण गरी उनलाई भारत पु¥याएर बेचेका हुन् । “यहाँबाट लगेपछि कोठामा थुनेर राख्थे, होशमा आउने बित्तिकै नशालु सूई लगाएर बेहोस बनाउँथे,” ताराले भनिन् – “कहाँ लग्दैछ थाहा पाउने कुरै भएन । कार चढेर आउनेसँग एक हातमा पैसा लिन्थे, अर्का हातले मेरो हात सुम्पन्थे । चार पाँच ठाउँमा यसैगरी बेचिएँ ।” 

“डेढ वर्षसम्म रोइ नै रहेँ, रोएको कसैले सुनेनन्, नशालु सूईका कारण अहिलेसम्म मेरो दिमागले कति बेला कामै गर्दैन, के बोल्दैछु, कहाँ हिँड्दैछु थाहा हुँदैन” – उनले भन् ि। भारतको पन्जाब प्रान्त हुँदै हरियाणाको कैथल जिल्ला गुलाँ तहसिलका जसकरण सिंहसँग बेचिएपछि उनी सँगै कामीले अहिले घरजम गरेकी छिन् । यो दम्पतीको अहिले १५ वर्षको छोरो छ । सिसैया झलारी नेपाल मात्रै नाम थाहा थियो ताराले भनिन् – “छोरोले गुगल म्याप हेर्दै यहाँ ल्याए । यसमा भारतमा काम गर्दै आएका नेपालीको पनि सहयोग छ ।” 

“यहाँ आउँला, परिवारजनसँग भेटघाट होला भनेर सपनामा समेत कल्पना गरेको थिइनँ, छोरोको प्रयासले सबै जनासँग भेटन पाएँ,” उनले गहभरि आँशु पार्दै भनिन् – “मलाई यहाँबाट लगेर बेच्नेलाई फाँसी दिनुपर्छ । मैले त पाउनसम्म यातना पाएँ । अरूले पाउन नपरोस् ।” नशालु पदार्थ खुवाएर बेहोश बनाउनेलाई भने चिन्न नसकेको उनले बताइन् । उनले भनिन् – “अहिले कुनै दुःख छैन, घर र गाउँमै सल्लाह गरेर माइती भेट्न पुगेकी छु ।” घरजमका लागि आफू बस्दैआएको गाउँमा भारतकै उत्तराखण्डका र नेपाली चेलीलाई आफूलाई जस्तै किनेर घरजम गर्नेहरु धेरै रहेको उनी बताउँछिन् । 

उनका अनुसार यस गाउँमा किनेर विवाह गर्ने चलन छ । “धनीले किनेर विवाह गर्छन्, गरिब भए विवाह नै हुँदै” – उनले भनिन् । 

“छोरी अब जीवित छैन भनेर माया मारिसकेका थियौँ,” ताराकी आमा वीरमा कामीले भनिन् – “भेट्न पाएपछि हर्षका आँसु थाम्नै सकिनँ ।” चेलीबेटी बेचबिखनमा संलग्नको खोजी गरी सरकारले कार्वाही गर्नुपर्ने उनले बताइन् ।

स्थानीय बासिन्दाका अनुसार सिसैया गाउँबाट मात्रै छ जनाभन्दा बढी किशोरी बेपत्ता भएकामा अहिलेसम्म तीन जना मात्रै दलालको पञ्जाबाट छुटेर गाउँ फर्केका छन् । तीन जनाको अवस्था अज्ञात छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप