बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीको विप्लवलाई प्रश्न : माओवादीको खाल उठिसक्यो फेरी किन च्याँखे ?

शनिबार, १७ चैत २०७४, १८ : १९
शनिबार, १७ चैत २०७४

काठमाडौँ । प्रधानमन्त्री ओलीले विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राजनीतिक मजाक गरेको बताएका छन् । रिपोर्टस क्लबको २० औँ वार्षिकोत्सवको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले उहिलेका कुन किताब पढेर सिद्धान्तवादी क्रान्तिकारी बनेको भन्दै सुतली बम बनाउनु सिद्धान्त हो भन्दै प्रश्न गरे । 

उनले भने – ‘चन्दा उठाउनका लागि क्रान्तिकारी बन्ने । केपी ओलीलाई वारेन्ट गरेको रे । प्रचण्डलाई वारेन्ट गरेको रे । मदनकृष्ण हरिवंश र धुर्मुस सुन्तलीलाई भनेर हाँस्यब्यङ्ग्य प्रहशनका लागि सिफारिस गरिदिन्छु । विप्लबलाई म यस किसिमका राजनीतिक मजाक नगर्न आग्रह गर्छु । देश अब यस्ता कुरामा अल्झिदैन ।’ 

उनले माओवादीको खाल उठिसकेको भन्दै फेरी च्याँखे थाप्ने काम बन्द गर्न आग्रह गरे । 

प्रधानमन्त्री ओलीले नेपाली टाउको, नेपाली अनुहार भएर विदेशीको नारा बोक्ने काम उपयुक्त नभएको बताए । उनले भने– ‘अब हामी विकास गर्न चाहन्छौँ, दुनियाँका अगाडि ठाडो शिर बनाएर हिँड्न चाहन्छौँ । सरकारले यसप्रकारका कुराहरुलाई छुट दिँदैन ।’ 

सामाजिक खलल उत्पन्न गर्ने, देश टुक्राउछु भन्ने क्रियाकलाप सह्य नहुने बताए । उनले  यस्तो क्रियाकलाप कहाँ कहाँबाट संचालन भइरहेको छ ? यसको स्वीच कहाँ छ भन्दै प्रश्न गरे । उनले बिदेशी निकाय तर्फ संकेत गर्दै नेपालीलाई नेपाली भएर रहन दिन आग्रह गरे ।  

विकासका लागि सिङ्गै देश एक पाइला 
प्रधानमन्त्री ओलीले सिङ्गै देश एउटै पाइला भएर विकासको बाटोमा अघि बढ्ने र समृद्धि हासिल गर्ने बताए ।  

नेपाली जनतालाई समृद्ध र सुखी बनाँउन निर्दिष्ट लक्ष्य, गन्तब्य सहित सरकार अघि बढेको बताएका हुन् । उनले विकासका अवरोधका रुपमा रहेका विभिन्न पक्षहरुलाई कुनै हातलमा छुट नदिइने बताएका छन् । अहिले विकासका लागि अनुकुल समय बनेको भन्दै उनले भ्रष्टाचारलाई कुनै हालतमा छुट नदिइने बताएका हुन् । उनले भने–‘भष्टाचार हुन गर्ने छैन, गर्न दिइने छैन, हुनेछैन ।’

उनले एउटा बर्ग र समुदाय,  एउटा भुगोल, एउटा पेशा ब्यवसाय, एउटा क्षेत्रको आंशिक विकासबाट नेपालको विकास सम्भव नभएको बताउँदै त्यसका लागि सिङ्गो देशको विकास गर्नुपर्नेमा जोड दिए । 

उनले नेपाली काङ्ग्रेसतर्फ संकेत गर्दै लोकतन्त्रका लागि आफू पनि लडेर आएको बताए । उनले भने, ‘हामी यहाँसम्म वक्तृत्वकलाबाट आएका हैनौँ, संघर्ष गर्दै तानासाहीलाई पराजित गरेर आएको हौ । त्यसकारण हाम्रो लोकतन्त्र हाम्रो आर्दश हो ।’

प्रधानमन्त्री ओलीले आफूले देश र जनताका लागि दिइएको अधिकारले समग्र सामाजिक जीवनका क्षेत्रमा आमुल परिर्वतन गर्ने बताए । 

उनले हिजो जारी श्वेतपत्रले देशको अर्थतन्त्र नाजुक चित्रण गरेको बताउँदै अब आर्थिक विकासमा लाग्नुपर्नेमा जोड दिए । उनले भने–‘प्राकृतिक रुपमा उर्वर भएको देशमा कसैलाई भोकै मर्न दिइँदैन । जनता भोकै मर्दैछ भन्दा अब मन पोल्ने सरकार छ । अब नेपालमा जाडोले, शीतलहरले कोही मर्न पाउने छैन ।’ 

उनले शिक्षा क्षेत्रको विकासका लागि आगामी बैशाख ५ गते तराई गएर गरीब परिवारको एक बालिकालाई भर्ना गर्ने बताएका छन् । उनले अन्र्नपूर्ण गाँउपालिकामा ९५ प्रतिशत विद्यार्थी भर्ना भएपनि रौतहटमा ४० प्रतिशत किन हुन्छ भन्दै प्रश्न गरे । शिक्षा क्षेत्रमा जनचेतनाको कमि भएकोले जनचेतना जगाउन बैशाख ५ गते तराई जाने उनले उल्लेख गरे । 

उनले देशमा केन्द्र, प्रदेश र स्थानीय सरकार गरी ७ सय ६१ वटा सरकार रहेको र  ३६ हजार जनप्रतिनिधीले काम गरिरहेको बताँउदै आजको ठाँउबाट कामलाई अघि बढाउन सबैलाई अघि बढ्न आग्रह गरे ।  

उनले कृषिको आधुनिकीकरण, उद्योगहरुको विकास, जैबिक मलका कारखाना स्थापना गरेर आर्गानिक नेपाल बनाँउने उल्लेख गरे ।  इ गर्भरमेन्ट, हरेक कुरामा आधुनिक विज्ञान र प्रविधि प्रयोग गर्दै पछौटेपनहरु बिरुद्ध आधुनिकतालाई अगाडि बढाउने बताए ।  

आफू भारत भ्रमणमा जान लागेको बताउदै प्रधानमन्त्री ओलीले भारत र चीनसँग मिलेर एकताबद्ध भएर अगाडि बढने बताए । 

अहिले अत्यन्तै डरलाग्दो ब्यापार घाटामा गएको भन्दै आर्थिक बृद्धि हासिलका लागि सरकार लागिपर्ने उनको भनाई थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप