बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गुरुकुलमा पढ्नेले विदेशमा भाँडा माझ्न नपर्ने

शुक्रबार, १६ चैत २०७४, ११ : ४३
शुक्रबार, १६ चैत २०७४

गुरुकुल पाठशाला, दाङ ।

स्थापना २०७१ ।

‘प्ले ग्रुप’ देखि कक्षा ९ सम्म अध्यापन ।

प्रत्येक कक्षाकोठामा ‘एयर कन्डिसन’ जडान ।

प्रत्येक कक्षामा भिडियोसहित पठनपाठन ।

दुई बिघा जमिनमा फैलिएको विद्यालयपरिसरमै ‘लाइब्रेरी’, ‘म्युजिक ल्याब’ र ‘साइन्स ल्याब’ ।

विद्यालय स्थापनाको उद्देश्य : 

(क) कुनै पनि विद्यार्थीले आफ्नो कुरा सहजै ‘डेलिभरी’ गर्न सकून् । 

(ख) गुरुकुलमा अध्ययनरत सम्बन्धित विद्यार्थीले बुवाआमालाई आदर गरून् । 

(ग) दाङलाई माया गरून् । 

(घ) नेपाललाई माया गरून् । 

(ङ) सकेसम्म विदेश नजाऊन् । 

(च) जानैपरे भाँडा नमाझून् ।

(छ) गुरुकुलबाट १२ कक्षा पास गरेकालाई पूर्ण मानिस बनाउने प्रयत्न । 

‘यत्ति हो,’ ललितपुरको कुपन्डोलमा रहेको होटल हिमालयनमा भेटिएका गुरुकुल पाठशाला दाङ, अध्यक्ष अनन्तराज घिमिरेले भने, ‘हामीले गर्न खोजेको ।’ उद्देश्य पहिचान भएपछि लक्ष्यमा पुग्न अप्ठ्यारो हुँदैन । त्यही भएर काठमाडौंका नाम चलेका विद्यालयमा अध्ययनरत २० दङाली विद्यार्थी गुरुकुलमा भर्ना भइसकेका छन् । काठमाडौंमा अध्ययनरत विद्यार्थी दाङ फर्केर पढ्न खोज्नु गुरुकुललाई विश्वास गर्नु हो । नैनीतालतिर पढाउन पठाउने अभिभावकले आफ्ना छोराछोरी गुरुकुलमा पढाउने वातावरण बनाइएको छ ।

दाङको घोराही । 

घोराहीमा मात्रै ३० बोर्डिङ स्कुल । 

आठ सामुदायिक विद्यालय । 

विद्यालय नै विद्यालय खुलेको ठाउँमा फरक पहिचानको विद्यालय ।

यत्ति हो– गुरुकुलको परिचय । 

इन्जिनियर र डाक्टरसहित सातजनाको समूहले स्थापना गरेको विद्यालयका साझेदारीमा पुनःनिर्माण प्राधिकरण पूर्वसीईओ गोविन्द पोखरेलसमेत संलग्न छन् । अंग्रेजी माध्यमबाट पढाइ हुने भएकाले मात्रै नभएर गुरुकुल अन्य विद्यालयभन्दा राम्रो भएको स्थानीय अभिभावकको बुझाइ छ । 

गुरुकुलले पाएको दुई अवार्डबाट त्यसलाई पुष्टि गर्न सकिन्छ ।

जिस्ट इन्टरनेसनल फाउन्डेसनले सन् २०१७–२०१८ मा गरेको ‘ग्लोबल कम्पिटिसन’ मा गुरुकुल दोस्रो भएको थियो । ६० देशका विद्यालय प्रतिस्पर्धामा थिए । ६० मध्ये २० विद्यालयलाई प्रतिस्पर्धामा सहभागी गराइएको थियो । व्यावहारिक शिक्षा सिकाइ उपलब्धिका विषयलाई आधार मानिएको थियो । 

त्यतिमात्रै होइन, गुरुकुलले आईएसए अवार्डसमेत पाइसकेको छ । शिक्षा मन्त्रालय र ब्रिटिस काउन्सिलको समन्वयमा सञ्चालित अवार्ड सन् २०१६ देखि २०११९ सम्मका लागि गुरुकुललाई दिइएको हो । 
गुरुकुलमा अध्ययनरत विद्यार्थी त्यत्तिकै जेहेनदार छन् । उनीहरूले दाङकै त्रिवेणी र मध्यपश्चिम एफएम रेडियोमा प्रत्येक साता दुई–दुईवटा शैक्षिक कार्यक्रम सञ्चालन गर्छन् ।

‘विद्यालय सञ्चालनमा ल्याउनुको मूल उद्देश्य सम्बन्धित विद्यार्थीलाई पूर्ण मानिस बनाउनु हो । शिक्षा भनेको किताबमात्रै होइन । किताबले २५ प्रतिशतमात्रै होल्ड गर्छ,’ युनिभर्सल इन्जिनियरिङ कलेज अध्यक्षसमेत रहेका घिमिरेको तर्क छ, ‘किताबबाट पनि ज्ञान लिने हो तर तपाईंले साइकल चलाउन, पौडी खेल्न जान्नु पनि सिक्नु हो । बिहान १० देखि बेलुका चार बजेसम्म विद्यार्थीलाई एउटै कक्षाको एउटै बेन्चमा अटाइ–नअटाइ राखिएका हुन्छन् । उसले त्यसरीमात्रै सिक्न सक्दैनन् भनेर गुरुकुल सञ्चालनमा ल्याइएको हो ।’

३२५ विद्यार्थी अध्ययनरत गुरुकुलले प्रयोगात्मक र व्यावहारिक शिक्षालाई जोड दिँदै आएको छ । पीजीदेखि पी टुसम्म २०, १ देखि ३ सम्म २४ र चारदेखि ९ कक्षासम्मका प्रत्येक सेक्सनमा २६ जनाभन्दा बढी विद्यार्थी राखिँदैन । 

‘दाङको तुलनामा महँगो लागे पनि काठमाडौंका तुलनामा सस्तो हो,’ घिमिरेले गुरुकुलको शुल्कबारे सुनाए, ‘मासिक ६ देखि ९ हजार शुल्क तोकेका छौं ।’ पाँच करोडको लागतमा खुलेको विद्यालयको लक्षित समूह ‘हाई क्लास फ्यामिली’ रहे पनि बिस्तारै मध्यमस्तरका अभिभावकसमेत गुरुकुलप्रति आकर्षित भएका छन् । ‘वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएकाले समेत गुरुकुलमा छोराछोरी पढाउन थालेका छन्,’ उनले खुसी व्यक्त गरे, ‘मेरो भविष्य भनेको छोराछोरी हुन् । मेरा छोराछोरी सही भइदिए भविष्यमा अर्बौं कमाउन सक्छन् भन्ने बुझे र बुझाइयो भने गुरुकुलले तोकेको शुल्क पहाड बन्दैबन्दैन ।’ 

‘हाम्रो समूहले पैसा कमाउन विद्यालय खोलेको होइन,’ उनले प्रस्ट्याए, ‘पैसा कमाउनु नै थियो त हाइड्रोपावर वा जग्गामा लगानी गथ्र्यौं । त्यता लगानी गरे छोटो समयमा तेब्बर फाइदा गर्न सक्थ्यौं । गुरुकुल सञ्चालन व्यापारिक नभएर सामाजिक उत्तरदायित्वका काम ठानेका छौं ।’

गुरुकुलमा ७० जनाले रोजगारी पाएका छन् । कामअनुसारको दाम तोकिएको छ । शिक्षकले १९ देखि ६० हजार रुपैयाँसम्म तलब थाप्छन् । क्यान्टिनमा भाँडा माझ्नेले मासिक १० हजार पाउँछन् भने बगैंचामा काम गर्नेलाई ८ हजार तलब दिइन्छ । थापाथली इन्जिनियरिङ क्याम्पसमा १२ वर्ष पढाएका घिमिरेको एक करोडजनालाई रोजगारी दिने लक्ष्य छ । उनले मात्रै अहिले चार सयजनालाई रोजगारी दिएका छन् ।

गुरुकुलले दाङभरिका सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकलाई तीनमहिने मन्टेसोरी तालिम निःशुल्क गराउने योजनासमेत बनाएको छ । 

गुरुकुल कसरी स्थापना भयो ?
‘दाइले छोरालाई भर्ना गर्न काठमाडौं पठाउनुभयो । सेन्ट जेभियर्समा सकिन । रातो बंगलामा पनि भर्ना गर्न सहज थिएन,’ मलेसियाबाट पीएचडी गर्दै गरेका अनन्त घिमिरेले पुछारमा भने, ‘क्वालिटी एजुकेसनका लागि स्कुल खोल्दा पो ठीक हुन्छ कि के हो भनेर गुरुकुल सुरु गरेका हौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप