शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रशान्त महासागरमा जर्मनी, फ्रान्स र स्पेन जोडेर हुनेभन्दा ठूलो क्षेत्रफलको प्लास्टिकको डुङ्गुर

बिहीबार, १५ चैत २०७४, १० : २१
बिहीबार, १५ चैत २०७४

काठमाडौँ । प्रशान्त महासागरमा प्लास्टिकको फोहोर थुप्रिएर ठूलो आकार लिएको छ । यसले फ्रान्स, जर्मनी र स्पेन जोडेर हुनेभन्दा ठूलो आकार लिएको छ । समयसँगै यसको आकार बढिरहेको छ । यो कुरा अघिल्लो बिहीबार प्रकाशित एक अध्ययनले देखाएको छ ।

नेदरल्यान्डका अनुसन्धानकर्ताहरूले डुङ्गाहरू र विमानहरूको प्रयोग गरेर बोतल, कन्टेनर, माछामार्ने जाली, साना कणहरूको विशाल थुप्रो भेटेका छन् । तिनले प्लास्टिकको फोहोरको अचम्मलाग्दो वृद्धि भेटेका छन् ।

“हामीले ‘ग्रेट प्यासिफिक गार्बेज प्याच’मा ८०,००० टन तैरिरहेको प्लास्टिक पायौं ।” साइन्टिफिक रिपोर्ट जर्नलमा प्रकाशित अध्ययनका मुख्य लेखक लोरेन्ट लेब्रेटोनले भने ।
त्यो भनेको ५०० वटा जम्बो जेटको तौल बराबर हो । साथै यो तौल पछिल्लो अध्ययनले देखाएको भन्दा १६ गुणा ठूलो हो । 

अध्ययनकर्तालाई पछिल्लो केही समयमा हवाई र क्यालिफोर्नियाबीचको समुद्री क्षेत्रमा जम्मा भएको प्लास्टिकको ससाना टुक्राको मात्राले ठूलो आश्चर्यमा पारेको छ ।

तिनले त्यो क्षेत्रमा १८ खर्ब टुक्रा प्लास्टिक जम्मा भएको पाए । 

यसले समुद्री जीवनमा दोहोरो असर पार्छ ।

५० एम.एम. भन्दा सानो आकारको प्लास्टिकको साना टुक्राले ‘गे्रट प्यासिफिक गारबेज प्याच’को अधिकांश हिस्सा बनेको छ । यसलाई माच्छाले निल्न सक्छ र पछि माछालाई खाने अरू प्राणीमा त्यो सर्दै जान्छ । यी प्लास्टिकहरू माछा खाँदा हामीले पनि खाइरहेका हुन्छौँ ।

“त्यसको अन्य वातारणीय प्रभाव त्यसको ठूलो आकारको कारणले हुने गर्छ, विशेष माछा मार्ने जालोका कारण ।” लेब्रेटोनले भने ।

यी फालिएका जालीहरूमा फसेर माछा र कछुवाजस्ता जल प्राणीहरूलाई मर्छन् । 

‘ग्रेट प्यासिफिक गारबेज प्याच’लाई पाँच वर्षमा आधा कम गर्ने अभियानमा लागेको ‘ओसियन क्लिनअप फाउन्डेशन’का अनुसन्धानकर्ताको समूह यो फोहोरको थुप्रोमा ठूला सामग्रीहरूको वृद्धिले अचम्ममा परेका छन् । ‘ग्रेट प्यासिफिक गारबेज प्याच’को ९० प्रतिशत भार यी सामग्रीले लिएको छ ।

तर यसले केही आशा पनि बढाएको छ । ठूला प्लास्टिकहरू ठम्याउन र निकाल्न साना प्लास्टिकका कणभन्दा सजिलो हुने गर्छ ।

एकल प्रयोग गरेर फाल्ने समाज

‘स्तरीकरणका लागि अन्तर्राष्ट्रिय सङ्गठन’का अनुसार सन् २०१५ मा ३२ करोड टन प्लास्टिक उत्पादन भयो ।

‘ओसियन क्लिनअप फाउन्डेशन’का अध्ययनकर्ताका अनुसार प्रत्येक वर्ष ८० लाख टन प्लास्टिक समुद्रमा प्रवेश गर्ने गर्छ । यीमध्ये अधिकांश प्लास्टिक फोहोर पृथ्वीभरी छरिएर रहेको पाँचवटा ग्रेट गार्बेज प्याचमा जमेर बसेको छ ।

प्लास्टिकका टुक्राहरू पहिचान गर्नका लागि अनुसन्धानकर्ताले ३० वटा समुन्द्री बाहन र दुईवटा हवाई जहाजको प्रयोग गरेका थिए । यिनमा ‘ग्रेट प्यासिफिक गारबेज प्याच’को थ्री–डी स्कान गर्न मिल्ने उच्च स्तरको सेन्सर लगाइएको थियो ।

अध्ययनले अहिले प्याच १६ लाख वर्ग किलोमिटरमा फैलिएको पाइयो र यसको आकार बढिरहेको छ ।

“ग्रेट प्याचमा प्लास्टिक आउने क्रम निरन्तर रहेको छ ।” लेब्रेटोनले भने ।

पृथ्वीका यी ठूला प्लास्टिकका प्याचको हालसम्म सतहमा मात्र अध्ययन भएको छ ।

“‘ग्रेट प्यासिफिक गारबेज प्याच’ रहेको समुद्रको तल्लो भागमा र समुद्री पिँधमा के छ अझै अज्ञात रहेको छ ।” अध्ययनले सावधान गराएको छ ।

फाउन्डेसनले ७५ जना अनुसन्धानकर्ताहरू र इन्जिनियरहरूको समूहको सहयोगमा दर्जनवटा जति हावा र छालले तैरने अवरोधहरू समुद्रमा राखेर आधा जति प्लास्टिक पाँच वर्षभित्र हटाउने सोच बनाएको छ । 

लेब्रेटोनले प्लास्टिक फोहोरहरूले निम्त्याउने विनाशलाई समन्वयत्मक तरिकाले मात्र कम गर्न सकिने बताए ।

“मानिसहरू ग्रेट प्याचमा माछा समात्ने जालीको मात्रा देखेर माछा मार्ने कम्पनीतर्फ औँला ठड्याउँछन् तर तिनले आफूले माछा खाइरहेको ख्याल गर्दैनन् । यसका लागि यो वा त्यो क्षेत्र जिम्मेवार होइन, मूल जिम्मेवार हाम्रो उपभोग गर्ने तरिकाले हो । हामीले एक पटक प्रयोग गरेर फाल्ने बानी नहटाएसम्म यो समस्याको न्यूनीकरण हँुदैन ।” उनले भने ।

“हामीले जीवनशैलीमै केही गम्भीर बदलाब ल्याउनुपर्ने हुन्छ । यसरी मात्र यसको विश्वव्यापी समाधान हुनेछ ।”

‘द ओसियन क्लिनअप फाउन्डेसन’ सन् २०१३ मा १८ वर्षे डच बोयान स्लाटले स्थापना गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप