बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

फलोअप : मुख्य सचिवले सच्याए गल्ती, रेशम अटेरी

बुधबार, १४ चैत २०७४, ११ : ३७
बुधबार, १४ चैत २०७४

काठमाडौँ । पदमा नरहँदा वा पदीय अधिकार खोसिँदा पनि सरकारी सम्पत्तिको दुरुपयोग गरेको विषयमा रातोपाटीले निरन्तर समाचार प्रकाशन गरेपछि पूर्व सामान्य प्रशासनमन्त्री वाङ्दी शेर्पाले गाडी फिर्ता गरेका छन् ।
शेरबहादुर देउवा प्रधानमन्त्री बन्दा सामान्य प्रशासन मन्त्रालय माओवादी केन्द्रले पायो । माओवादीबाट टेकबहादुर बस्नेत सामान्य प्रशासनमन्त्री बने । अनि माओवादीबाटै वोङ्दी शेर्पा सामान्य प्रशासन राज्यमन्त्री बने । 

राज्यमन्त्री बनेर आएपछि मन्त्रालयले राज्यमन्त्री वोङ्दी शेर्पाका लागि बा १ झ ९१०९ नम्बरको सेतो स्करपियो गाडी उपलब्ध गरायो । 

प्रदेश र सङ्घीय निर्वाचनमा वाम गठबन्धनको बहुमत आयो र प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिए । त्यसलगत्तै मन्त्रीहरुले आ–आफ्नो सरसामान बुझाएर घर लागे । 

तर सामान्य प्रशासन राज्यमन्त्री वोङ्दी शेर्पाले भने– मन्त्रालयको गाडी फिर्ता नगरी आँफैसँग लिएर गएका थिए । मन्त्रालयले पटक पटक सम्पर्क गरी गाडी फिर्ता माग्दासमेत नबुझाएका वोङ्दीले मङ्गलबार उक्त गाडी मन्त्रालयलाई बुझाएका छन् । 

सरकारी गाडी लिएर पूर्वमाननीयहरू ‘फरार’

रातोपाटीमा समाचार प्रकाशित भएलगत्तै वोङ्दीले एक साताभित्र गाडी फिर्ता ल्याइदिने बताएका थिए । तर गाडी बिग्रिएर बनाउनु परेको भन्दै मङ्गलबार वोङ्दीले सहयोगीमार्फत् सामान्य प्रशासन मन्त्रालयको गाडी बुझाएका छन् । 

बा १ झ ९१०९ नम्बरको सेतो प्लेटको गाडी भए पनि वोङ्दीले बा ८ च ८५४२ नम्बरको रातो प्लेट प्रयोग गरिरहेका थिए । समाचार प्रकाशन भएपछि ढिलै भए पनि वोङ्दीले सामान्य प्रशासन मन्त्रालयमा गाडी बुझाएका छन् । 

रेशम लामा अझै फरार

समाचार प्रकाशनपछि माओवादी केन्द्रका नेता एवम् पूर्व राज्यमन्त्री वोङ्दी शेर्पाले गाडी सरकारी गाडी बुझाए पनि पूर्वउद्योग राज्यमन्त्री रेशम लामा भने अझै ‘फरार’ छन् । यसअघि रातापाटीसँग भएको कुराकानीमा लामाले आफ्नो गाडी गृह मन्त्रालयले तानेको बताएका थिए । लामाले उद्योग मन्त्रालयबाट लगेको बा २ झ ११४१ नम्बरको टोयोटाको जिप प्रयोग गरिरहेका थिए । उद्योग मन्त्रालयले लामा सम्पर्कमै नरहेका कारण गाडी तानिदिन गृह मन्त्रालयलाई चिठी लेखको थियो । गृह मन्त्रालयले उक्त गाडी जफत गरी ल्याइदिन ट्राफिक प्रहरीलाई भनेको थियो । तर लामा गाडीसहित ‘फरार’ भएको भन्दै उनको गाडी जफत गर्न सकिएको छैन ।

उद्योग मन्त्रालय र गृहको नजरमा फरार रहेका लामा भने मङ्गलबार बिहान पनि यही गाडी लिएर लोकन्थलीस्थित आफ्नो निवासबाट बाहिरिएका थिए । गाडीसहित लामा प्रत्येक दिन लोकन्थलीबाट आवतजावत गर्छन् । तर ट्राफिक प्रहरी र गृह भने गाडी नभेटिएको भन्दै पन्छिने गरेको छ । 

हेर्नुहोस् लामाले उद्योग मन्त्रालयबाट लगेको गाडीको बिलबुक

यस विषयमा बुधबार बिहान रातोपाटीले रेशम लामालाई सम्पर्क गर्दा उनी झोंक्किए । ‘कुन कुन नेताले सरकारी गाडी चढिरहेका छन्, त्यो सबै खोज्नुस् न, किन मेरो मात्रै समाचार लेख्नुहुन्छ । तपाईंको लेख्ने काम हो लेख्नुहोस् र आफ्नो परिवार पाल्नुहोस् ।’ यति भन्दै उनले फोन काटे । 

मुख्यसचिवले पनि सच्याए गल्ती
यता मुख्यसचिव लोकदर्शन रेग्मीले पनि आफ्नो गल्ती सच्चाएका छन् । प्रधानमन्त्रीज्यू, मुख्यसचिवलाई कानुन लाग्दैन ? शीर्षकमा रातोपाटीले मुख्यसचिवले प्रयोग गरेको गाडीमा अवैधानिक रातो नम्बर प्रयोग गरिएको बारे समाचार प्रकाशन गरेको थियो । रातोपाटीले सरकारी सवारीसाधनको दुरुपयोगसम्बन्धी समाचार निरन्तर फलोअप गरेपछि मुख्यसचिवले पनि केही दिनअघि मात्रै आफ्नो नम्बरप्लेट सेतो बनाएका हुन् । 

आन्तरिक राजस्व विभागको नाममा दर्ता कायम रहेको बा २ झ २००५ नम्बरको हुन्डाईको टक्सन कार मुख्यसचिव लोकदर्शन रेग्मीले प्रयोग गरेका थिए । तर अस्थायी अनुमति नै नलिई मुख्यसचिव रेग्मीले सरकारी गाडीलाई बा १५ च ४१८६ नम्बरको रातो प्लेट राखी प्रयोग गरेका थिए । यसबारे समाचार प्रकाशन भएपछि मुख्यसचिव रेग्मीले अहिले बा २ झ २००५ नम्बरकै सरकारी अर्थात् सेतो नम्बर प्लेट प्रयोग गर्न सुरु गरेका छन् । 

(हेर्नुहोस् मुख्यसचिवले रातो नम्बर राखेर चलाउँदाको तस्बिर र सेतो नम्बर राखेपछिको तस्बिर)

अर्थ मन्त्रालयले राख्यो सबै गाडीमा सेतो प्लेट
सरकारी गाडीको दुरुपयोगसम्बन्धी समाचार प्रकाशित भएपछि गृह मन्त्रालयले सबै सरकारी गाडीमा तत्काल सेतो नम्बर कायम गर्न निर्देशन दिएको थियो । 

रातोपाटी समाचार प्रभाव : रातो बनाइएका सबै सरकारी नम्बर प्लेटलाई तत्काल परिवर्तन गर्न गृहको निर्देशन

अर्थ मन्त्रालयका अधिकांश सहसचिवले सरकारी गाडीमा रातो नम्बर प्लेट राखेर प्रयोग गर्दै आएको बारे समाचार प्रकाशित भएको थियो । त्यसलगत्तै अर्थ मन्त्रालयले पनि मन्त्रालय मातहत रहेका सबै गाडीको रातो नम्बर झिकेर सेतो प्लेट राखेको छ । अर्थ मन्त्रालय व्यवस्थापन शाखाका उपसचिव बाबुराम भण्डारीका अनुसार अहिले अर्थ मन्त्रालय मातहत रहेका सबै गाडीमा रातो नम्बर हटाएर सेतो अर्थात् सरकारी नम्बर राखिएको छ भने मन्त्रालय मातहत रहेका विभाग र कार्यालयलाई पनि सरकारी गाडीमा सेतो प्लेट राखेर प्रयोग गर्न निर्देशन दिइएको छ । 

मापदण्ड निर्माणका लागि समिति गठन
 


यसैबीच गृह मन्त्रालयले सरकारी सवारीसाधनको प्रयोग र अस्थायीरूपमा रातो प्लेट राख्ने लगायतका विषयमा सम्बोधन गर्न कार्यदल गठन गरेको छ । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा महानगरीय ट्राफिक प्रहरीका प्रमुख, सशस्त्र प्रहरीका डीआईजी, राष्ट्रिय अनुसन्धानका निर्देशक सदस्य रहने गरी समिति गठन गरिएको छ । समितिले आफ्नो काम सुरु गरिसकेको भन्दै गृह प्रवक्ता सुवेदीले भने, ‘अब सरकारी गाडीको दुरुपयोग रोकिन्छ । बिदाका दिनमा व्यक्तिगत कामका लागि सरकारी गाडीको प्रयोग पनि अब रोकिन्छ । जनताको करबाट तलब भत्ता खानेले राज्यप्रति उत्तरदायी हुनैपर्छ । पब्लिक अडिटिङ पनि बढेको छ, दुरुपयोग रोकिन्छ ।’ 

पढ्नुहोस् रातोपाटीको निरन्तर फलोअप

रातोपाटी समाचार प्रभाव : रातो बनाइएका सबै सरकारी नम्बर प्लेटलाई तत्काल परिवर्तन गर्न गृहको निर्देशन

परराष्ट्र सचिव नै चढ्छन् ‘अवैध’ गाडी !

समाचार प्रभाव : परराष्ट्र सचिवले सच्याए गल्ती

मुख्यसचिवको गाडीमा अस्तित्वमै नभएको नम्बर प्लेट !

प्रधानमन्त्रीज्यू, मुख्यसचिवलाई कानुन लाग्दैन ?

सरकारी गाडी लिएर पूर्वमाननीयहरू ‘फरार’

सरकारी गाडीमा रातो प्लेटको मोह : सचिवज्यूहरुलाई छुने आँट कसको ? (सूचीसहित)

यस्ता पनि छन् सरकारी अफिसर !

 

‘श्रीमान्’, आफ्नै निर्णयविपरीत सुविधा लिन लाज लाग्दैन !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप