बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अहं, आक्रोश र आग्रह

आइतबार, ११ चैत २०७४, १० : ४२
आइतबार, ११ चैत २०७४

मेरा प्रिय आख्यानकार तथा विशिष्ट स्रष्टा तथा नेता सञ्जय थापा उर्फ प्रदीप नेपालको (नेपाल टेलिभिजनको मिति २०७४ चैत्र ९) मा प्रसारित अन्तरवार्तामा व्यक्तिगत अहं, आग्रह र  आक्रोशजन्य अभिव्यक्ति आयो । यही विषयमा नेपाललाई यो यस लेखकको फिरादपत्र वा प्रतिवाद पत्र हो ।

 म सोध्न चाहन्छु  कमरेड प्रदीप नेपाललाई के कार्लमाक्र्ससित बत्तीस लक्षण थियो ? उहाँलाई पनि जीवनमा एक अक्षम्य बात लागेको थियो । के माओ, लेनिन र पुष्पलाल आदि नेताहरूमा गुणैगुण थियो ? के यस दुनियाँमा बत्तीस लक्षण भएको कुनै नीति, सिद्धान्त, व्यक्ति र व्यक्तित्व हुन्छ  र छ ? 

यदि हुँदैन भने  अहिले एमाले नामका पार्टीमा सबका सब अयोग्य नेता मात्र छन् र हुन् ? वा अलि फराकिलो  रूपमा भन्दा सबै पार्टीमा सबका सब खराब मात्र हुन्छन् र ? अनि  किन तपाईं अहिले रहेका सबै शीर्षस्थ नेताहरूलाई खसीबाख्री  एउटै धोक्री गर्नुहुन्छ ? के कुनै नेताको निरपेक्ष मूल्याङ्कन हुन्छ र गर्नुहुन्छ ? हिजै पनि सीपी मैनालीका तुलनामा मदन भण्डारी महान् हुनुहुन्थ्यो ।
 तपाईंले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री के.पी. शर्मा ओलीकै विषयमा आफैँ परस्पर बाझिने कृत्य र विचार व्यक्त गर्नुभयो । ओलीका बारेमा केही स्वतन्त्र लेखकहरू सौरभ, कृष्ण मुरारी भण्डारी, विजय कुमार आदिले स्वस्थ्य र सही मूल्याङ्कन गर्नु भएको छ । सौरभले त ओली जस्तो प्रतिभालाई दुई वरिष्ठ उपाध्यक्षले लामो समयसम्म छेकेर, थुनेर र दबाएर राखेका रहेछन् भन्ने कुरा आफ्नै असङ्गति नामको कृतिको पृ.३६ मा लेख्नु भएको छ ।

 ओलीलाई पार्टीभित्रैबाट चरम गुटगत के कस्तो र कसरी षडयन्त्रपूर्वक र सुनियोजित रूपमा खुइल्याएर घेराबन्दी गरिएको खोजिएको थियो भन्ने कुरा अनलाइन खबर पत्रिकाका सम्पादन समूहका वरिष्ठ लेखक मातृका पौडेलले एक लेख भर्खरै सार्वजनिक गर्नुभएको छ । 

ओलीको व्यक्तित्व र विशेषताका बारेमा प्रदीप नेपालले राधाकृष्ण मैनालीको हवाला दिएकामा आठौँ आश्चर्य लाग्यो यस लेखकलाई । जनताको दलान र दरबारको रछान छुट्याउन नसक्नेका कुरा पत्यार गर्न सकिन्छ र हुन्छ ? मैनाली पूर्वराजा ज्ञानेन्द्र शाहका मन्त्री हुनु भनेको नेपालको लोकतन्त्र मात्र होइन नेपालको कम्युनिस्ट आन्दोलन समाप्त पार्ने गुप्तगु षडयन्त्रका खाइलाग्दा  मतियार हुनु हो  । यस्ता पात्र र प्रवृत्तिका कुरालाई नेपालले सिरानी हालेर पार्टी नेतृत्वका बारेमा अन्यथा बोल्नैपर्छ र ? आर के मैनाली रिसाउनुको एक मात्र कारण ओलीले पार्टी स्थायी समितिमा लगेनन् भन्ने मात्र हो ।  

ओलीले हिजोका दिनमा भारतमा गएर उपचार गरेकै आधारमा  उहाँलाई भारतपक्ष हो  भनी कान नछामी कागका पछि कुद्न मिल्ला ? यसमा त ओलीले नै पनि कसैले कसैलाई पनि सरसहयोग गर्छ र गर्नु पनि पर्छ तर त्यतिकै भरमा फलाना पक्षधर हो भन्न सकिन्छ र मिल्छ ? ओलीले यसरी छिमेकीले वा अरू कसैले सहयोग गर्यो भनेर घरबार नै सहयोगीलाई सुम्पन मिल्दैन भन्नु भएको थियो । छरछिमेक र छिमेकीका बीच सरसहयोग गरिन्छ र हुन्छ नेपालीले पनि भारतीय स्वाधीनता र सुरक्षाका सबालमा गहकिलै सहयोग गरेका थिए र छन् । माटोको भर ढुङ्गो ढुङ्गाको भर माटो । समाजमा बसेपछि परस्पर सरसहयोग त हुन्छ र गर्नु पनि पर्छ ।

 ओलीले नेपाली काँग्रेस गणतन्त्रका पक्षमा विधिवत रूपमा नआई नेपालबाट राजतन्त्र समाप्त हुन सक्दैन र गणतन्त्र आउन सक्दैन भन्ने कुराको दृष्टान्तका लागि बयलगाढा चढेर अमेरिका पुग्न सकिन्न भन्ने दृष्टान्तको प्रयोग भएको हो  र यस कुरालाई ओलीले नै बारम्बार उल्लेख गर्नु भएको छ । तैपनि नेपाल जस्ता विम्ब प्रतीक शब्दावलीका ज्ञाता नेताहरू प्रतिक्रियावादी बहकाउमा परिरहनु भएको देखिन्छ । ओलीले अहिलेसम्म बोलेका विचार अकाट्य र दूरदर्शी दृष्टिकोणका देखिन्छन् । यसको मतलब ओलीका कमजोरी लुकाउनुपर्छ भन्ने यस लेखकको मान्यता किमार्थ होइन ।

  प्रदीप नेपालले नै नवौँ महाधिवेशनमा अध्यक्षका लागि ओली उठाउन र जिताउन अत्यन्त महत्वपूर्ण अठोट अडान र भिडन्त गर्नुभएको थियो । यस विषयमा बिरामी अवस्थाका ओलीप्रतिका एक वरिष्ठ एमाले नेताका असंवेदनशील, असहिष्णु  अभिव्यक्तिप्रति प्रदीपले आक्रोश र क्षोभपूर्ण अभिव्यक्ति दिनुभएको थियो । प्रदीपले एमालेमा विभिन्न गुट रहेको र सबै उस्तै गुटगत सङ्कीर्ण सोचका रहेको बताउनुभयो । के सबै यस्तै  गुट हुन् त ? तिनमा केही र कत्ति गुण थिएन र छैन ?  

पार्टी र सरकारको नेतृत्वका विरुद्ध सदनमा सार्वजनिक अराजक अभिव्यक्ति दिने गुट नेतासित अरू सबैलाई उस्तै हुन् भन्न मिल्छ ? गोकर्ण विष्ट र लालबाबु पण्डित जस्ता गुटभित्रका गुण वार्ताकार नेपालले देख्नु भएको छैन ? हुन त हामी जस्ताले पनि सबै जोगी कान चिरेका भन्ने रुढीग्रस्त चिन्तन राख्न र बोल्न थालेपछि कार्यकर्ता र जनतामा चरम निराशा उत्पन्न हुन्छ । 

 जबजको च्याप्टर क्लोज गर्ने र प्रमुख प्रभावशाली र सक्षम तथा क्रियाशील नेतृत्वलाई सन्न्यास पठाउन उद्यत चाहिँ गुट हो र त्यो  निकृष्ट गुट हो तर सिर्जनात्मक र ध्वंशात्मक गुटका बीच केही फरक नदेखी अँध्यारामा झट्टी हान्दा निःशर्त र निःस्वार्थ रूपमा आजीवन आन्दोलनमा लागिपरिरहेकाहरूको चित्त दुख्दो रहेछ ।

 तपाईं जस्ता पार्टीका उपल्ला तहका सबै नेताहरूले त्याग, तपस्या र बलिदानको लगानी उठाइसकेको स्थिति हो । तर अझै अरू कति कति उहिल्यै र पछिदेखि निरन्तर देश र जनताको भाग्य र भविष्यका निम्ति लागिपरेकाहरू त्यति निराश छैनन् भने नेपाल चाहिँ किन बारबार गथासो र गन्थन गरिरहनु हुन्छ  ?  के गुण र गुटका बीच केही फरक हुँदैन ? 

जबजलाई प्राणभन्दा प्यारो मान्ने प्रदीप नेपाल जबजको मलाम जान कन्दन र कछाड कस्ने , त्यसलाई काँधीकाठ दिने र दागबत्ती दिन समुत्सुक एमाले नेता प्रवृत्तिका बारेमा एक शब्द बोलेको सुनिएन किन ? उहाँमा जबजप्रतिको साँचो मायाँ यही हो त । नेपालले आफू चाहिँ अब्बल र इमानदार नेता भन्नुभयो तर उहाँले त्यही अभिव्यक्तिका प्रसङ्गमा उपचार खर्चका लागि पछिल्लो अवधिमा सभासद् भएको भन्दा यसले उहाँको देश, जनता र जनजीविकाप्रतिको इमानदारिता देखाउला र  ? 

अनि सक्षम नेताले त आफू मात्र इमानदार हुने होइन, पार्टीमा नै त्यस खालको संस्कार विकास गर्न सक्नुपर्छ । गुनासो मात्र गरेर हुँदैन । नेताले त सामान्यतया  हुँदैन भन्ने कुरालाई हुन्छ बनाउँछ, असम्भवलाई सम्भव बनाउँछ ।

 आफू कुनै गुटमा छैन भन्दाभन्दै पनि प्रदीप नेपाल आजीवन कुनै न कुनै गुटको परोक्ष वा प्रत्यक्ष समर्थक र पक्षधर हुनु भएकै हो ।  एक समय बीबीसी नेपाली कार्यक्रमको  अन्तरवार्तामा नेपालले पार्टीमा सबै सुविधाभोगी भएकाले म आफूले मात्र सादा जीवन बिताउने कुराको के अर्थ भयो र भन्नु भएको थियो । यस  विषयमा यो लेखक नेपालसित पार्टी कार्यालय बल्खु प्रचार कार्यालयमा गएर उहाँसित तपाईंले एक्लो भएर पनि इमानदारितामा प्रतिबद्ध हुन्छु भन्नसक्नु भएन भनेको थियो ।

मेरो प्रतिवादमा नेपालले उत्तर दिन सक्नुभएन तर उहाँका तत्कालका प्रचार विभागका  सहयोगी गौतमले चाकरीका भाषामा नेपालले त्यस्तो बोलेको होइन होला भनेका थिए । वार्ताकार नेपालले  उहाँले पत्नीले सञ्चालन गरेको स्कुल कम्पनीमा रूपान्तरित भएपछि स्कुलबाट पहिलेजस्तो आर्थिक उपलब्धि हुन सकेन र समस्या भोग्नुपर्दा नचाहँदा नचाहँदै पनि वामदेव गौतमको सल्लाहकार हुने बाध्यता परेको थियो भन्नुभयो । यो अलि मिलेन किनभने अझ कम्पनीमा स्कुल सञ्चालन गर्दा समूहको प्रयासमा विद्यार्थी सङ्ख्या बढ्ने र आयआर्जन पनि बढ्ने सोझो कुरा हो । यो कुरा पत्यारिलो लागेन । अरू नै केही आर्थिक भौतिक अपचलन र विचलन हुनुपर्छ, जस्तो अहिले बजारमा प्रचारित भएको छ । 

सिद्धान्तवादी पार्टी नेपालमा कुनै छैनन् भन्नु कति तर्कसङ्गत छ नेताज्यू, यसमा पनि शतप्रतिशत सिद्धान्तवादी कोही कुनै पार्टी हुन्छ र ? नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा जबजको उल्लेखनीय भूमिकाको चर्चा गर्ने नेपाल एमालेलाई र त्यसका नेताहरूलाई एउटै डालोमा हाल्ने एकपक्षीय दृष्टि प्रक्षेपण गर्नुहुन्छ । जबजलाई व्यक्तिगत स्वार्थ अनुरूप भजन र भाजन गर्ने केही नेता देखीदेखी सबै एमाले नेता सिद्धान्तहीन भन्नु नेपालको अहं आक्रोश र आग्रह पो हो कि  ? 

एमाले माओवादी कतिपय नेताहरूमा अहंकार व्याप्त देखिन्छ । तिनले आफूलाई मात्रै ठूलोबडो, जान्ने सुन्ने र बाठोटाठो देख्छन् । यस्ता नेताहरूको बेहोराबाट यो लेखक आजित भएको छ । माओवादी नेता गिरिराजमणि पोखरेलले वरिष्ठ पत्रकार तथा नेता रामरिझन  यादवकी छोरीको विवाहमा त्यस्तै ठडौरो स्वभाव प्रदर्शन गर्नुभयो । कृष्ण पहाडीका पिता गोपाल पहाडीले गिरिराजमणि पोखरेललाई देखेर नजिकिन खोज्नु भयो तर पोखरेलले मैले तपाईंलाई अघि नै नमस्कार गरेँ त भन्नुभयो । पोखरेलले परबाट सँगोलमा पहाडीलाई पनि नमस्कार गरेको देखे पनि आफूलाई नै हो भन्ने ठम्याउनु भएन छ कतिपय अवस्थामा यस्ता नमस्कार बेवारिसे नै हुन्छन् तर पहाडीले आफूले सानैदेखि चिनेको जानेको र पोखरेलका बुबाको आफू साथी पनि भएकाले मैत्री र वात्सल्यपूर्ण निकटता पोखरेलसित खोजेको कुरा र त्यसको मर्म नै पूर्वमन्त्री पोखरेलले नै बुझ्नु भएन । खासमा धेरैजसो कम्युनिस्ट नेता र कार्यकर्ता मानवीय संवेदना, अनुभूति र मर्म कमै बुझ्छन् वा बुझ्दैनन् ।
 
द्वन्द्ववाद भनेपछि शारीरिक लडाइँ र भिडन्त मात्र बुझ्ने भौतिकवाद भनेर  यन्त्रवत् र कृत्रिम व्यवहार मात्र गर्ने वाम  नेताका उपर्युक्त खालको रोबोट प्रवृत्ति देखेर यो लेखक आश्चर्यमा परेको छ । हिजोका दिनमा उहाँ प्रदीप नेपाल पार्टीमा सक्रिय रहँदा र सन्तुष्ट रहँदा एमाले पार्टी, सिद्धान्त र नेतृत्वका सकारात्मक पक्षहरू उल्लेख गरेर आम कार्यकर्ता र जनतालाई उत्साहित गर्नुहुन्थ्यो तर अहिले त्यसको ठीक विपरीत लोली र बोली बोलिरहेको देख्दा अचम्म र अनौठो लागेको छ । सच्चा अभिभावकले परिवारका आम सदस्यहरूमा चरम निराशा छाउने हिसाबले कदापि बोल्दैन । पार्टी अध्यक्ष र प्रधानमन्त्रीसित काम विशेषले भेटघाट गर्नु पनि चाकरी हो र ? त्यसो हो भने प्रदीप नेपालका घरमा हामी जाँदा र भेटघाट गर्दा पनि चाकरी नै हुने भएपछि हामी कसरी जाने ? तपाईंका जोडबलले कस्ता कस्ता मान्छेले सभासदको टिकट पाए, कस्ता कस्ताले साझाको प्रबन्धक भ्याए ।  लेखाजोखा गर्नेले गरेका छन् । तपाईं आफैँ एक समय पार्टीमा घुक्र्याएर केन्द्रीय सदस्य बन्नुभएको बिर्सनुभयो ? पार्टीमा कमजोरी भए सुधार्न पो लाग्नुपर्यो उधारेर तमासा त गर्नु भएन नि । 

कमी कमजोरी त सबैका हुन्छन् र तर अहिले बिरामी हालतमा आफ्ना मनोगत असन्तुष्टि र आग्रहका आधारमा समग्र नार प्रवाह गर्नु किमार्थ जाती हुँदैन । लेखकहरू अलिकति त अहं भावनाका हुन्छन् तर अहं पनि त्यति नबढोस् कि उम्लिएर सबै पोखिएर समाप्त नहोस् । तर लेखकीय क्षमताकै कुरा गर्ने हो ओलीका सहज मौखिक अभिव्यक्तिमा जुन खालको प्रतीकात्मक, सघन विम्बात्मक तथा लाक्षणिक विलक्षण अभिव्यक्ति सुनिन्छ ती कुनै अग्रज सर्जकका भन्दा कम छैनन् । एउटा लेखकले बारबार परिमार्जन गरेर लेखेको लेख, शोध प्रबन्ध र ओलीका सहज धारा प्रवाह अभिव्यक्तिमा कुनै फरक देखिन्न । ओलीका अभिव्यक्तिहरूमा मार्मिक, गहन र सारगर्भित सूत्रात्मकता पाइन्छ । भएको साधान स्रोत, व्यक्तित्व, प्रतिभा र क्षमतालाई अझ क्षमताशील बनाउनुबाहेक यस देशको विकास र उत्थानमा अरू कुनै विकल्प देखिन्न । यो देशलाई समृद्ध बनाउन स्वर्गबाट अरू कुनै सुपरम्यान आउने वाला छैन ।

 ओलीले भनेझैँ यस देशलाई थुकेर विदेशिने होइन पुजेर हाम्रा पुर्खाहरूले झैँ यही देशमा नङ्ग्रा खियाउनु पर्छ । नेपाली भित्रको जाँगर, क्षमता, खुबीलाई प्रोत्साहन गर्नु चाहिँ उच्च स्तरको नेताको काम हो । तपाईं अहिले केही देशी विदेशीले झैँ सबै नेपालीलाई बुद्धु, हुतिहारा र क्षमताहीन भन्न खोजेर अयोग्य सावित गर्न खोजेझैँ किन गर्नुहुन्छ ।
 तपाईंहरू जस्ताका कारण अच्यूत वाग्ले नामका एक पत्रकारले नेपाली उच्च स्तरको नेतृत्वलाई अशिक्षित भनेर आक्षेप लगाउन उद्यत देखिन्छन् । बरु परराष्ट्रमन्त्री तथा बौद्धिक व्यक्रित्व प्रदीप ज्ञवालीले पत्रकारलाई मार्मिक उत्तर दिनुभएको पाइयो । ती पत्रकारलाई अर्को जुनीसम्म पनि पढाउने क्षमताका हुन् ज्ञवाली । 

 कृपया विभिन्न कारणले आफू निराश र हतास भए पनि समग्र देशवासीलाई निराशा पस्किने तपाईको अधिकार छैन । कृपया लिखित र मौखिक भाषाका माध्यमबाट आफ्नो अहं, आक्रोश र आग्रह अभिव्यक्त नगर्न आग्रह गर्दछु । 
(लेखक एमाले संस्कृति विभागका केन्द्रीय सदस्य हुन् ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. बद्रीविशाल पोखरेल
डा. बद्रीविशाल पोखरेल
लेखकबाट थप