शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आलुको बीउ गुणस्तरीय नहुँदा कम आम्दानी

शनिबार, १० चैत २०७४, १५ : २७
शनिबार, १० चैत २०७४

ललितपुर- किसानले गुणस्तरीय बीउ मात्रै रोप्नुपर्छ भन्ने ज्ञान नहुँदा आलुबाट राम्रो आम्दानी लिन सकेका छैनन् । 

किसानमा आलुमा टुसा देख्नासाथ बीउ मानेर रोप्ने गरेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय आलु बाली अनुसन्धान कार्यक्रममा कार्यरत वैज्ञानिक सञ्जीव गौतमले बताउनुभयो । 

किसानले आफ्नो ठाउँ, हावापानी र मौसमअनुसारको आलुको जात खोजेर रोप्नुपर्छ भन्ने चेतना छैन । जानकारी भएका किसानले समेत बेवास्ता गर्दै आएका छन् । उहाँ भन्नुहुन्छ, “धेरै किसानमा आलुको जात भनेकै सेतो र रातो मात्रै भन्ने छ ।” बीउ राम्रो नहुँदा उत्पादन कम हुन्छ । भारतबाट सस्तो आलुको बीउ आउने हुँदा धेरै किसान त्यसैमा आकर्षित हुने गरेका छन् । 

एउटै बीउ धेरै वर्षसम्म लगाउँदा पनि किसानले राम्रो आम्दानी लिन सक्दैनन् । नार्कले सिफारिश गरेको बीउ तीन÷चार पुस्तासम्म रोप्न सकिने वैज्ञानिक गौतमले बताउनुभयो । उच्च पहाडभन्दा तराईका जिल्लामा चाँडो आलुको बीउ फेर्नु पर्छ । बीउ चक्र पूरा नहुँदा नार्कले उत्पादन गरेको बीउ सबै किसानलाई पर्याप्त हुँदैन । 

उहाँ भन्नुहुन्छ, “सजिलै र सस्तो मूल्यमा भारतबाट बीउ पाइने हुँदा तराईका धेरै किसान उतैको बीउ रोप्छन् ।” पहाडमा भने आफुले भण्डारण गरेको बीउ किसानले धेरै वर्षसम्म रोप्ने गरेका छन् । 

आलु उत्पादनका हिसाबले दोस्रो र उत्पादकत्वका हिसाबले पहिलो बाली हो । हिमालदेखि तराईसम्मका अधिकांश जिल्लामा आलुखेती हुने गरेको छ । नेपालमा ठूलो संख्यामा व्यावसायिक रुपमा आलु खेती गर्ने किसान छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप