बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

राजपा नेपालभित्र संसदीय दलको नेता चयनमा लफडा

शुक्रबार, ०९ चैत २०७४, १७ : ५७
शुक्रबार, ०९ चैत २०७४

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपालले हालसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन । संसदमा रहेका पाँच दलमध्ये चारवटा दलले संसदमा आ–आफ्नो दलको नेता चयन गरे पनि राजपा नेपालले  भने अहिलेसम्म संसदीय दलको नेता चयन गर्न सकेन ।

संसदीय दलको नेताका लागि आकाँक्षीहरु धेरै भएपछि मिलाउन नसकेर हालसम्म चयन हुन नसकेको हो । संसदीय दलका नेताका लागि राजपा नेपाकला संयोजक महन्थ ठाकुर स्वयं दाबेदार रहेका छन् । 
त्यस्तै, अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो, महेन्द्र राय यादव, शरतसिंह भण्डारी पनि संसदीय दलको नेताका आकाँक्षी रहेका पार्टी स्रोतले जनाएको छ । 

अन्य पार्टीहरुमा पनि अध्यक्ष नै संसदीय दलको नेता बन्ने गरेका हुनाले राजपा नेपालका संयोजक महन्थ ठाकुर रहेका हुनाले उनी नै संसदीय दलको नेता बन्ने उनी निकट नेताहरुको दाबी छ ।  एक नेताले भने, ‘महन्थ ठाकुर नै संसदीय दलको नेता हुनुहुन्छ यसमा कुनै दुई मत छैन ।

पार्टीका संयोजक भएका हुनाले नेता चयनमा कसैले विरोध गर्न सक्दैन ।’ यद्यपि, संयोजक ठाकुर संसदीय दलका नेता बनेपनि उनी सरकारमा जाने छैन । सरकारमा पठाउँदा अरु कसैको नेतृत्वमा सरकारमा पठाउन सक्छन् । 

तर, अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले महन्थ ठाकुर बन्नुपर्छ भन्ने पक्षमा देखिदैन । अध्यक्ष मण्डलको संयोजक आलोपालो गरि हुने प्रावधान पार्टीमा भएपनि ठाकुरलाई नै संयोजकको जिम्मेवारी दिइएको छ । ठाकुर संयोजक भएपछि आफू संसदीय दलको नेता बन्नुपर्ने दाबी गर्दै आएका छन् । 

त्यसका लागि उनी आफ्ना निकट नेताहरुसँग पनि कुराकानी चलाइरहेका छन् । उनले पार्टीमा संसदको संख्या आफ्नो समूहको बढी भएको हुनाले पनि संसदीय दलको नेतामा दाबी गर्दै आएका छन् ।  राजपा नेपालले प्रतिनिधिसभामा ११ सीट जितेको छ, त्यसमा पाँचजना महतो पक्षका छन् । छ जना समानुपातिकमध्ये तीनजना महतो पक्षकै रहेका छन् । यसरी १७ सीटमध्ये महतो पक्षमा आठजना सांसद रहेकाले आफू बलियो रहेको दाबी गर्दै आएका छन् । संसदीय दलका लागि चुनाव भएपनि आफूले जित्ने भन्दै नेताहरु ढुक्क रहन भन्दै आएका छन् । 

त्यस्तै, अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले पार्टी एकताको बेलामा आफूलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको  तर बनाउन नसकेको भन्दै अहिले आएर त्यो निर्णय कार्यान्वयन गर्नुपर्ने दाबी गर्दै आएका छन् । उनीसँग सम्पर्क गर्दा आफू जिल्लामा रहेकाले यस विषयमा पछि कुरा गर्ने भन्दै फोन काटे । 

त्यस्तै, अध्यक्ष मण्डलका अर्का सदस्य शरतसिंह भण्डारी पनि संसदीय दलका नेतामा दाबी गर्दै आएका छन् । यद्यपि, यो विषयमा उनी पनि खुल्न चाहेका छैन । उनी भन्छन्, ‘पार्टीमा छलफल नै शुरु भएको छैन भने संसदीय दलको नेता को बन्ने विषयमा केही भन्न सकिदैन । त्यसको उम्मेदवार म पनि हुनसक्छु । हाम्रो पार्टीमा रहेका १७ जना सांसदमध्ये बाट पनि संसदीय दलको नेता बन्नसक्छ ।’

बैठक बस्ने बित्तिकै यो विषय चाँडो टुगों लगाउने बताए । नेताहरु उपत्यका बाहिर भएका हुनाले बैठक बस्न नसकेको उनले बताए ।  पार्टीका सहमहामन्त्री डा.सुरेन्द्र झाले संसदीय दलको नेतामा पार्टीभित्र कुनै विवाद नरहेको दाबी गरे । उनले भने, ‘पार्टीका संयोजक महन्थ ठाकुर हुनुहुन्छ । संसदीय दलको नेता उहाँ नै बन्नुहुन्छ यसमा कुनै विवाद छैन । बैठक बसेर यसको टुगों चाँडै लगाइनेछ ।’

उनले संसदीय दलका नेताको अहिले खासै काम नभएका हुनाले त्यसमा चासो नलिएको हो, आवश्यक पर्यो भने तुरुन्तै निर्णय हुने बताए । पार्टीका प्रवक्ता केशव झाले ६ वटा दल मिलेर बनेको राजपा नेपालमा संसदीय दलको आकाँक्षि हुनु कुनै ठूलो कुरा होइन, यद्यपि यसका विषयमा कुनै विवाद नरहेको बताए । 

पार्टीमा रहेका १७ जनामध्ये जो कोही पनि संसदीय दलको नेता बन्न सक्छ तर त्यसको निर्णयका लागि बैठक बस्नुपर्ने बताउँदै उनले बैठक बसेर त्यसलाई चाँडो टुग्याइने बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप