शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अलैंची  विकास वोर्ड गठनमा पहल गर्छु: कृषि मन्त्री खनाल

शुक्रबार, ०९ चैत २०७४, १६ : २८
शुक्रबार, ०९ चैत २०७४

काठमाडौं– कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणी खनाल ‘बलदेव’ले अलैंचीको गुणात्मक विकासका लागि अलैंची विकास बोर्ड स्थापना गर्न पहल गर्ने बताएका छन् । राजधानीमा अलैंचीको विकासका लागि स्वायत्त निकाय स्थापनाका सम्बन्धमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री खनालले अलैंची विकास बोर्ड स्थापना गर्न आफुले पहल गर्ने बताएका हुन् । ‘अलैची विकास बोर्ड आवश्यक छ, यसका निम्ति मस्यौदा बनिसकेको जानकारी पाएको छु, यसलाई म मन्त्रिपरिषदमा लैजाने पहल गर्छु’ मन्त्री खनालले भने ।

यसअघि गठन भएका विकास बोर्डहरुबाट गर्न सकिने कामहरु समेत नभएको भन्दै उनले अलैंची खेतीको लागि जमिनको पहिचान गर्दै अलैंची खेतीलाई राष्ट्रिय रुपमा फैलाउनुपर्नेमा जोड दिए । अलैंची खेतीको गुणात्मक उत्पादन गर्न सरकारले गर्नुपर्ने सहयोग गर्न तयार रहेको  मन्त्री खनालको भनाई छ । ‘नेपालमा ठोस नीति नभएको कारणले कुन खेती कहाँ उपयुक्त हो र कहाँ हुन्छ, कुन चिज कहाँ उत्पादन गर्ने हो भन्ने कुराको राम्रो कार्यक्रम छैन । हामी अब उत्पादनमा केन्द्रित हुने हो, यसलाई विस्तार गर्दै जमिनको पहिचान गरेर अगाडि बढ्नुपर्छ ।’

धनकुटाका अलैची किसान लाखमान घिसिङ्गले अलैचीको विकास गर्न किसानको प्रतिनिधित्व हुने खालको अलैचि विकास बोर्ड गठन गर्न माग गरे । अन्तराष्ट्रिय श्रम संगठनका कार्यक्रम संयोजक नविन कर्णले महत्वपूर्ण बालीका रुपमा रहेको अलैचीको व्यापारमा भएको मूल्य उतारचढावमा एक रुपता कायम गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राखे । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष तथा पूर्व सांसद केशव बडालले अलैंची किसान र व्यावसायीहरुले गुणस्तरमा ध्यान दिनुपर्ने बताए । 

अन्तराष्ट्रिय श्रम संगठनको सहयोगमा विश्व परिदृश्य वकालत मञ्चले गरेको कार्यक्रममा अलैची ब्यवसायी संघका उपाध्यक्ष सुमन श्रेष्ठले अलैचीको विकास गर्ने भए अलैची विकास बोर्ड गठनमा विलम्ब गर्न नहुने बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप