शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विद्युत् खेर जान नदिन खपत बढाउने योजनामा सरकार

शुक्रबार, ०९ चैत २०७४, १६ : १७
शुक्रबार, ०९ चैत २०७४

–रमेश लम्साल 

काठमाडौँ– सरकारले स्वदेशमा नै जलविद्युत् खपतको लागि नीति, कार्यक्रम र योजना ल्याउने भएको छ ।  केही वर्षभित्र हाल निर्माणमा रहेका जलविद्युत् आयोजनाको निर्माण सकिने र राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएकाले केही सरोकार भएका निकायले चिन्ता व्यक्त गरेको सन्दर्भमा सरकारको तर्फबाट त्यस्तो धारणा सार्वजनिक भएको हो । 

माथिल्लो तामाकोशी जस्ता ठूला आयोजना निर्माण भएपछि वर्षाको समयमा विद्युत् खेर जाने अवस्था आउने ऊर्जा उद्यमीको भनाइ छ । मुलुकभित्र उत्पादन हुने जलविद्युत् आयोजनाको विद्युत् खेर जान नदिन ‘इनर्जी बैंकिङ’को अवधारणा पनि अगाडि सारिएको छ । 

यस्तै खाना पकाउने एलपीजी ग्यासको सट्टामा इन्डक्सन चुलोको प्रयोग, विद्युतीय सवारी साधनको बढावा तथा औद्योगिक प्रवद्र्धनमा जोड दिने सरकारको तयारी छ ।  माथिल्लो तामाकोशी आयोजनाले आगामी २०७५ मंसिर मसान्तदेखि विद्युत् उत्पादन शुरु गर्नेछ । सो आयोजना ४५६ मेगावाट क्षमताको हो । यस्तै सोही समयभित्र सरकारी तथा निजी लगानीका आयोजना समेत सम्पन्न हुने अवस्था छ । 

विद्युत् खेर जान्छ कि भन्ने चिन्ता नगर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ऊर्जा उद्यमीलाई आग्रह गरेका छन् । उनले भने, “विद्युत् खेर जान्छ कि भन्ने चिन्ता गर्नु जरुरी छैन । सरकारले त्यसको लागि हरसम्भव सबै उपाय अवलम्बन गर्दछ । तपाईहरु ढुक्क भएर आयोजना निर्माण गर्नुस्” । 

सरकारले यथेष्ट विद्युत् उपलब्ध गराएर आगामी केही वर्षभित्रैमा खाना पकाउने एलपिजी ग्यास आयातलाई घटाउने तयारी गरेको छ । त्यसका लागि इन्डक्सन चुलो प्रयोगमा जोड दिने नीति लिएको छ ।  यस्तै पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको प्रयोगलाई क्रमशः घटाउँदै लगेर विद्युतीय सवारी सञ्चालनमा जोड दिने नीति लिएको छ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँमा नै दुई स्थानमा विद्युतीय सवारी साधनको चार्जिङ स्टेशन खडा गरिसकेको छ । 

प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्क तथा थापाथलीमा त्यस्तो स्टेशन जडान भइसकेको छ । साझा यातायात सहकारी लिमिटेडले पनि राजधानीका विभिन्न सात स्थानमा विद्युतीय सवारी साधानका लागि चार्जिङ स्टेशन स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ । 

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था९इपान० र नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले आज यहाँ आयोजना गरेको ‘आर्थिक समृद्धिका लागि जलविद्युत्को विकास’ विषयक अन्तक्र्रिया कार्यक्रममा मन्त्री पुनले मुलुकभित्रै विद्युत् खपत गर्ने वातावरण मिलाउन सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना बनाएर लागू गर्ने बताए । 

प्राधिकरणकाअनुसार हालसम्म मुलुकको ६५ प्रतिशत स्थानमा मात्रै केन्द्रीय प्रसारण प्रणाली जडान भएको छ । अझै ३५ प्रतिशत क्षेत्रमा प्रसारण प्रणाली पुग्नसकेको छैन । उद्योग तथा व्यवसायमा समेत विद्युत्को माग बढी रहेको छ । 

मन्त्री पुनले देशभित्रै बजार विस्तार गर्ने र नयाँ÷नयाँ अवसरको खोजी गरी विद्युत् खपत बढाउने कामलाई सरकारले प्राथमिकतामा राखेको बताए ।  स्वतन्त्र ऊर्जा उत्पादकको संस्था९इपान०का पूर्व अध्यक्ष डा.खड्गबहादुर बिष्टले हिउँदमा विद्युत् नपुग्ने भए पनि वर्षात्को समयमा विद्युत् खेर जाने अवस्था आउन लागेको भन्दै त्यसका सरकारले तत्काल पहल गर्नुपर्ने बताए । 

जलविद्युत् आयोजनाको प्रवद्र्धनमा सरकार र सरकारी निकाय अझै पनि लगानीमैत्री बन्न नसकेको, एकद्वारबाट हुने भनिएका काम अझै हुन नसकेको, बैंकको ब्याजदर बढेको र सरकारले विगतमा गरेका प्रतिबद्धता समेत कार्यान्वयन नभएकोमा उनले गुनासो गरे । वर्षातको समयमा खेर जाने विद्युत्का लागि इनर्जी बैंकिङको अवधारणा नै सर्वोत्तम विकल्प भएको उनको भनाइ छ । 

इपानका अध्यक्ष शैलेन्द्र गुरागाईंले सरकारले गर्नसक्ने जति काम मात्रै प्रतिबद्धता जनाउनुपर्ने बताए । “विगतमा भएका प्रतिबद्धता कार्यान्वयन भएका छैनन् । यस पटक कार्यान्वयन हुन्छ कि भन्ने आश पलाएको छ । राजनीतिकस्थिरता कामय भएको छ । अब सरकारले निजी क्षेत्रलाई पनि साथै लिएर जाने प्रयास गर्नु आवश्यक छ,” अध्यक्ष गुरागार्इंले भने ।  कार्यक्रममा मुलुकको ऊर्जा क्षेत्रको वर्तमान अवस्था, सुधार गर्नुपर्ने विषय तथा लगानीमैत्री वातावरण बनाउन के÷के उपाय अवलम्बन गर्नुपर्दछ भन्ने विषयमा कार्यपत्र समेत प्रस्तुत भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप