शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सांसदका महादेव (फोटो/भिडियो)

शुक्रबार, ०९ चैत २०७४, १५ : ४६
शुक्रबार, ०९ चैत २०७४

काठमाडौं– सिंहदरबार भित्र के छैन ?

देश हाँक्ने सरकार प्रमुख प्रधानमन्त्रीको कार्यालय, विभिन्न मन्त्रालय, राष्ट्रिय संचारमाध्यमदेखि सांसदहरुका महादेवसम्म ।

सिंहदरबारको संसद सचिवालय परिसरभित्र पहिलेको पुरानो संसदभवन छेउ एउटा बगैँचा छ ।

बगैचामा बिभिन्न प्रजातीका बनस्पतिले यतिबेला नयाँ पालुवा हालेका छन् ।

यस्तै विभिन्न प्रजातिका फुलहरु पनि फुलेका छन् । जहाँ झ्याम्म परेको एउटा भोटे चाँपको रुख छ ।

यो हरियो रुखमा एक हुल कागले सधै डेरा जमाइरहेको हुन्छ । यही रुखको फेदमुनी रहेको छ एक सानो मन्दिर ।

मन्दिरको नाम सुन्दा अनौठो लाग्न सक्छ ।

मन्दिरको नाम हो  । संसदीश्वर महादेवको मन्दिर ।

मन्दिरभित्र महादेको सेतो रंगको मुर्ति छ ।

मन्दिरको नाम किन पनि अनौठो छ भने यो मन्दिरमा रहेका महादेवको नाम कुनै धार्मिक ग्रन्थमा उल्लेख भएको पाँइदैन ।

उनको नामाकारण कसले गर्यो भन्ने पनि खुलेको छैन । तर, यस मन्दिरको स्थापना तत्कालीन संसदका महासचिव जीवनलाल सत्यालको पालामा भएको हो ।

२०५१ साल असार १५ मा स्थापना भएको यो मन्दिरमा सांसद भने खासै पूजा गर्न नजाने गरेको मन्दिरका पुजारी गोविन्दराज भण्डारीले बताए ।

तर, संसद सचिवालयका हाकिम र कर्मचारी भने बेला बखत संसदीश्वर महादेवको दर्शन गर्छन ।

२२ बर्षदेखि हरेक दिन नित्य पूजा

संसदीश्वर महादेवको मन्दिरमा हरेक दिन नित्य पूजापाठ हुने गरेको छ ।

यसका लागि संसद सचिवालयका एक कर्मचारीलाई पुजारीको रुपमा राखेको छ । मन्दिरका पुजारी हुन सचिवालयका एक कर्मचारी गोविन्दराज भण्डारी ।

उनले २०५३ सालदेखि झन्डै २२ बर्ष यो मन्दिरमा नित्य पूजा गर्दै आइरहेका छन् । उनीअघि २ बर्ष मोहन अधिकारीले पूजा गरेका थिए ।

कंलकीमा बसोबास गर्ने सचिवालयका कर्मचारी एवं पुजारी भण्डारी हरेक बिहान ७ देखि साढे ७ बजेभित्र सिंहदरबारस्थित संसदीश्वर महादेवको मन्दिरमा पुग्छन् । मन्दिरमा पुगेपनि सफा पानीले मन्दिर धोइपखाली गर्छन् ।

त्यसपछि पुजा सामग्रीहरु जौ तिल, अक्षता, अबिर केशरी र धुपबक्ति तयार पार्छन । शिव पाठ गर्दै महादेवको मुर्तिमा चन्दन लगाइदिँदै फुल वा माला लगाँउदै पुजा गर्छन । अगरबक्ति बालेर मन्दिरको परिक्रमा गर्छन् ।

पूजा गरिरहेको बेला कोही नजिक आए भने उनीहरुलाई पनि टिका लगाइदिएर प्रसाद दिन्छन् ।

त्यसपछि संसद सचिवालय नजिकै सचिवालयका ड्राइभर÷प्राविधिकहरुले निर्माण गरेको विश्वकर्माको मन्दिरमा जान्छन र त्यहाँ पनि पूजा गर्छन ।

उनीहरुले २०५५ सालमा संसद सचिवालयको १ नंबर भवनको छेउमा विश्वकर्माको मन्दिर निमार्ण गरेका थिए ।

यसरी पुजा पाठ गर्नका लागि भण्डारीलाई संसद सचिवालयले बिशेष तलव सुविधा केही दिएको त छैन । तर, पूजा सामग्री खरिदका लागि भने केही सहयोग गरेको छ ।

२०५१ सालदेखि ६५ सालसम्म मासिक ३ सय रुपैयाँ पूजाका लागि दिने गरिएकोमा ६५ देखि ७३ सालसम्म ५ सय दिन थालिएको थियो ।

७३ सालपछि भने १५ सय दिन थालिएको पुजारी भण्डारीले बताए ।

पूजाका लागि हरेक बिहान साढे ७ बजेसम्म सिंहदरबार आइपुग्ने भण्डारीले बिहान घरमा खाना खाने गरेका छैनन् ।

प्रायजसो उनी सिंहदरबारभित्रका क्यान्टिनहरुमा खाना खाने गर्छन् । कहिलेकाँही बिहानै काम परेर आँउन नमिलेमात्र उनको पूजा छुट्ने गर्छ ।

बर्षमा २ पटक विशेष पूजा

संसदीश्वर महादेवको मन्दिरमा बर्षमा दुई पटक विशेष पूजा हुने गरेको छ ।

हरेक बर्ष मंसिर २८ गते संसद सेवा दिवश पर्छ । त्यस अवसरमा उक्त मन्दिरमा विशेष पूजापाठ हुन्छ ।

उक्त दिन संसद सचिवालयका महासचिव, सचिव लगायतका अन्य कर्मचारीहरु आएर पूजापाठ गर्छन् ।

यस्तै शिवरात्रीको अवसरमा पनि मन्दिरमा विशेष पूजा हुने गरेको छ । त्यसदिन पनि संसद सचिवालयका कर्मचारीहरुले पूजा गर्ने गरेका छन् ।

अघिपछि भने न्यून कर्मचारीले मात्रै मन्दिरमा पूजा गर्ने गरेको पुजारी भण्डारी बताँउछन् ।

मन्दिरका पुजारी भण्डारीका पिता देवनायक भण्डारी सिन्धुलीका नाम कहलिएका प्रख्यात पण्डित थिए । पहिले गाँउमा पण्डितहरु थोरै थिए । उनी हरेक दिन ब्यस्त हुन्थे । उनीपनि बुवासँगै सप्ताह रुद्री लगाउन जान्थे ।

आफुमा धर्मकर्मको ज्ञान भएका कारण सिंहदरबारभित्र मन्दिरमा पूजा गर्न पाएकोमा खुसी लागेको उनले बताए । तर हरेक दिन बिहानै आउनुपर्दा घरको खाना छुट्ने गरेको धेरै बर्ष भइसक्यो ।

अरु कर्मचारी भन्दा दुई तीन घण्टा पहिले नै सिंहदरबार आइपुग्ने उनी बेलुका पनि ढिलो गरी घर फर्कछन् । कारण उनले जीवनभरी भिआइपीको कार्यालयमा सहयोगीको भुमिकाका काम गरे ।

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, पूर्व उपसभामुख गंगाप्रसाद यादव लगायतको कार्यालयमा काम गरिसकेका उनी अहिले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यालयमा आइपुगेका छन् ।

उनको पेन्सन पाकिसक्यो । अब सेवाबाट अनिर्वाय अवकास पाँउन २ बर्ष बाँकी छ । २०४० सालदेखि जागिर खाएका उनले भने, ‘सधै इमान्दारिताका साथ काम गरियो । चाकडी चाप्लुसी जानिएन् । यही नजान्नाले सधै पछाडि परिराखेँ । भगवानको कृपाले जीवन चलिरहेको छ ।’

लामो समयदेखि कुनै सुविधाबिना मन्दिरमा पुजापाठ गरेका उनलाई संसद सचिवालयले केही बिशेष ब्यवस्था गरिदिए हुन्थ्यो भन्ने अपेक्षा पनि रहेछ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप