शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एक पति जसले आफ्नो पत्नीको विवाह उनको प्रेमीसँग गराइदिए

शुक्रबार, ०९ चैत २०७४, १४ : ३३
शुक्रबार, ०९ चैत २०७४

ओडिसा । हो, यो सत्य हो । यस्तो समाचार प्रायः पढ्न पाइँदैन । तर, एक भारतीय पुरुष, जसको विवाह भएको ६ दिन मात्र भएको थियो, ले आफ्नो पत्नीको विवाह उनको प्रेमीसँग गरिदिएका छन् । उनको तर्क छ, यसले तीनै जना खुसी हुनेछन् ।

गत मार्च ४ मा ओडिसा राज्यको पालमारा गाउँका २८ वर्षीय वासुदीप टपुले झारसुगुडा गाउँकी २४ वर्षीया युवतीसँग मागी विवाह गरेका थिए । 

समुदायको परम्परा अनुसार गरिएको विवाहको कुनै कानुनी दस्तावेज थिएन । दुवैले समुदायका आर्शिवाद मात्र लिएका थिए ।

पहिलो ६ दिनसम्म सबै कुरा ठीक थियो । तर, त्यसपछि तीन जना पुरुषहरु दुलहीको गाउँबाट आए, जसले पूरै उथुलपुथुल ल्यायो ।

मिडिया रिपोर्टका अनुसार दुलहीको भाई बताउने तीन जनालाई वासुदीपको परिवारले स्वागत गर्यो ।

तीन जनाले मध्ये दुई जनाले वासुदीपलाई उसको गाउँ हेर्ने इच्छा गरे । वासुदीपले उनीहरुलाई गाउँ देखाउन लगे भने एक जना ‘भाई’ त्यहीँ घरमा बसे ।

तर, छिमेकीले भने अज्ञात पुरुष नवविवाहीत दुलहीसँग बसेको मन पराएनन् । 

दुलहीलाई एक्लै ‘अज्ञात’ पुरुषसँग देखेपछि उनीहरु आएर ती युवकलाई पिट्न थाले ।

भीडले युवकलाई पिट्न थालेपछि ती दुलहीले पनि उनी आफ्नो भाई नभएर प्रेमी भएको स्वीकार गरिन् । उनले आफ्नो प्रेमलाई परिवारले स्वीकार नगरेको कारण दबाबमा वासुदीपसँग विवाह गर्नुपरेको बताइन् । त्यही भएर गोप्य रुपमा आफ्नो प्रेमसम्बन्धलाई कायम राख्न बाध्य भएको खुलासा पनि गरिन् ।

उनको यो स्वीकारोक्ति अन्य ठाउँमा भएको भए निकै घातक हुनसक्थ्यो । किनभने यस्ता गाउँहरुमा नाजायज सम्बन्धको कठोर सजाय दिने गरिन्छ ।

तर, वासुदीप आएर यसको शान्तिपूर्ण समाधान निकाले । उनले आफ्नी पत्नीलाई आफ्नो प्रेमीसँग विवाह गर्ने सल्लाह दिए ।

त्यसपछि वासुदीपले आफै आफ्नो पत्नीको परिवारलाई फोन गरेर सबै कुरा सम्झाए । सबैलाई मनाएर उनले आफ्नो पत्नीको विवाह प्रेमीसँग गराइदिए ।

‘यदी मैले यो विवाह नगराएको भए हामी तीन जनाको जीवन बर्बाद हुन्थ्यो । यो मात्र एक समाधान थियो । अब हामी तीनै जना खुसी हुनसक्छौँ,’ वासुदीपले विवाह पछि भने ।
वासुदीपको आमा पनि आफ्नो छोराको बुद्धिमतादेखि खुसी छिन् ।

पालमारा गाउँका प्रमुख गजेन्द्र बागले वासुदीपको कुरा सुनेर आफूहरुलाई यही नै सही समाधान हो भन्ने लागेको र सबैले यसमा समर्थन गरेको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप