शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नसा च्यापिए प्यारालाइसिस हुन सक्छ

शुक्रबार, ०९ चैत २०७४, १३ : १६
शुक्रबार, ०९ चैत २०७४

डा. गौरवराज ढकाल, स्पाइन सर्जन

नसा च्यापिने समस्याबारे धेरैलाई थाहा हुन्छ । प्रायः ३० वर्षको उमेर पार गरेका मानिसमा यस्तो समस्या देखिन थाल्छ । करिब ४–५ प्रतिशत मानिसलाई भने २०–२५ वर्षमै यो रोगले सताउने गर्छ । विशेषगरी ढाड र गर्दनको नसा च्यापिने समस्या हुन्छ । नसा च्यापिने समस्याले मानिसलाई अत्यन्तै दुःख दिन्छ । यसबारे एक सामग्री :

यसरी च्यापिन्छ नसा
मानिसको मेरुदण्डलाई हाडले घेरेको हुन्छ । दुई हाडको बीचमा कुरकुरे हड्डी पनि हुन्छ । कुनै कारणले हाड आफ्नो ठाउँबाट बाहिर उछिट्टियो भने नसा च्यापिन्छ ।

किनकि, कुरकुरे हड्डी पछाडि उछिट्टिँदा नसामा दबाब सिर्जना हुन्छ । यसरी ढाडको नसा च्यापिएमा दुखाइ भने खुट्टामा पर्न जान्छ । किनकि, खुट्टालाई स्पाइनमा रहेको नसाले कन्ट्रोल गर्छ । त्यस्तै, गर्दनको नसा च्यापिएको अवस्थामा हात दुख्ने गर्छ ।

कुरकुरे हाड गाढा सेतो रङको हुन्छ, जसमा पानी हुन्छ । यसमा भएको पानी बिस्तारै निस्कन थाल्यो भने कुरकुरे हाड कालो हुन थाल्छ र च्यातिँदै पनि जान्छ ।

कारण
-नसा च्यापिनुको मुख्य कारण भनेकै अव्यवस्थित जीवनशैली हो । अव्यवस्थित जीवनशैलीकै कारण हड्डीभित्र रहेको पानी बाहिर निस्कने गर्छ । या, कुरकुरे हाडमा बिस्तारै परिवर्तन आउन थाल्छ ।
-वंशाणुगत कारणले पनि यस्तो समस्या हुन सक्छ ।
-लामो समय उभिएर, निहुरिएर काम गर्दा डिस्क बाहिर निस्कन सक्छ । मेरुदण्डको राम्रो व्यायाम भएन भने पनि डिस्क कालो हुँदै जान्छ । विशेषगरी चुरोट खाने मानिसमा कुरकुरे हाडबाट छोटो समयमै पानी निस्कन्छ र डिस्क बाहिर निस्कन्छ ।

लक्षण
-शरीरको जुनकुनै ठाउँको नसा
-च्यापिए पनि अत्यधिक दुखाइको महसुस हुन्छ ।
-यस्तो भएमा हातगोडा झमझमाउने, पोल्ने, शरीर र हातखुट्टा कमजोर हुँदै जाने लक्षण देखिन्छ ।
-यदि ढाडको नसा च्यापिएको छ भने ढाडदेखि खुट्टासम्मै दुख्ने गर्छ । र, यस्तो दुखाइ शरीरका अन्य अंगमा पनि सर्दै जान्छ ।
-गर्दनको नसा च्यापिएको अवस्थामा हात, पाखुरा दुख्ने÷पोल्ने लक्षण देखिन्छ ।

जटिल अवस्था
नसा च्यापिने समस्याले गोडा नचल्ने, दिसा–पिसाब बन्द हुनेजस्ता जटिल रूप पनि लिन्छ । यस्तो अवस्थामा मानिस हिँड्नै सक्दैन । यस्तो समस्या बढेर प्यारालाइसिस नै हुने गर्छ । यद्यपि, यो अन्तिम रूप भए पनि कसैकसैलाई भने सुरुमै प्यारालाइसिस गराउन सक्छ । जुन जटिल र खतरनाक अवस्था हो । यस्तो अवस्थामा तत्काल अप्रेसन गर्नुपर्ने हुन्छ । औषधिले काम नगरेको अवस्थामा पनि अप्रेसन गर्नुपर्ने हुन्छ ।

अप्रेसन अनिवार्य छैन
ढाड वा गर्दनको नसा च्यापिएमा अप्रेसन नै गर्नुपर्छ भन्ने आमबुझाइ छ । तर, नसा च्यापिएकामध्ये ५ प्रतिशत बिरामीलाई मात्र अप्रेसनको बाध्यता हुन्छ ।

यस्तो समस्यालाई औषधि र फिजियोथेरापीका माध्यमले पनि निको पार्न सकिन्छ । त्यसैले सामान्य लक्षण देखिनासाथ ढिलो नगरी चिकित्सककहाँ जानुपर्छ ।

परीक्षणपछि मात्र बिरामीको कुन ठाउँको कुरकुरे हाड कता उछिट्टिएको छ र कुन ठाउँको नसा च्यापिएको हो भन्नेबारे जानकारी हुन्छ । एमआरआइका माध्यमबाट यस्तो समस्याको पहिचान गर्न सकिन्छ ।

अप्रेसनका विधि
स्पाइन मनिटरिङ सिस्टम
यो विशेष प्रविधि प्रयोगबाट गरिने अप्रेसन हो । यसरी अप्रेसन गर्दा खतराको संकेत पनि दिन्छ । अप्रेसनका क्रममा कुनै अन्य अंग छोइएको अवस्थामा कम्प्युटरले तुरुन्तै संकेत दिन्छ । या, सँगैका अरू कुनै नसा ड्यामेज हुने अवस्थामा छ भने पनि जानकारी पाउन सकिन्छ । यो नेपालमा हालै भित्रिएको नयाँ टेक्नोलोजी हो । जुन अत्यन्त सुरक्षित मानिन्छ ।

मिनिमल्ली इन्भासिभ स्पाइन सिस्टम
दूरबिनको प्रयोग गरी यस्तो प्रकृतिको अप्रेसन गरिन्छ । यस्तो प्रकृतिको अप्रेसनपछि खत पनि सानो देखिन्छ । किनभने, अप्रेसन गर्ने प्वाल नै सानो हुन्छ, करिब ५ सेन्टिमिटर लामो । यसरी गरिएको अप्रेसनको घाउ पनि छोटो समयमै निको हुन्छ ।

स्पाइन नेभिगेसन सिस्टम
यस्तो प्रकृतिको अप्रेसन गर्दा चिकित्सकले कम्युटरको निर्देशनअनुसार काम गर्छन् । बिरामीको अवस्थाअनुसार कम्युटरले नै सबै विधि र प्रक्रियाबारे निर्देशन गर्छ । सोहीअनुसार चिकित्सकले अप्रेसन गर्छन् । यस्तो प्रकृतिको अप्रेसनले स्पाइन ड्यामेज हुने सम्भावना अत्यन्त न्यून हुन्छ ।

नयाँ पत्रिकाबाट 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप