बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

उत्कृष्ट एजेन्डा भए पनि किन हार्यो माओवादीले ?

बुधबार, २१ असार २०७४, १२ : ३५
बुधबार, २१ असार २०७४

केदारनाथ नेपाल (निश्चल)

केही छिटफुट घटनाबाहेकस्थानीय तहकोनिर्वाचन पहिलो चरण माओवादीले र दोस्रो चरणकाङ्ग्रेसको नेतृत्वमा सफलतापूर्वक सम्पन्न भएको छ । नयाँ संरचनाअनुसार स्थानीय निकायलाई शक्तिशाली बनाएर निर्वाचन सम्पन्न भएको हुँदाअहिलेको स्थानीय निर्वाचनलाई पहिलो पटक भनिएको हो । सायद अझभन्दा हामी माओवादीले यसलाई पहिलोपटक भन्दै आइरहेका छौँ ।

नेपाली जनताको सात दशकअघिदेखिको आफ्नै जनप्रतिनिधिद्वारा संविधान लेख्ने चाहाना लामो समयको पर्खाइपछि माओवादीको नेतृत्वमा २०७२ असोज ३ गते देशमा संविधान जारी भएपछि पूरा भयो । २०५२ सालबाट माओवादीले सुरु गरेको जनयुद्धको जगमा देशमा संविधान सभाको जन्म भई सोही संविधान सभाबाट संविधान जारी भएको हो । जनयुद्धपश्चात् पहिलो संविधान सभामा देशको पहिलो पार्टी बनेको माओवादी पार्टी विभिन्न समयमा फुटकै शिकार बनिरह्यो र इतिहासकै कमजोर अवस्थामा आइपुग्यो । तर पनि देश र जनताको विजय हुनुपर्छ भन्दै स्थानीय तहको निर्वाचन अभियानमा लागिरह्यो ।

त्यसबीचमा माओवादीप्रति अनेकौँ षड्यन्त्र भयो । निर्वाचन भाँड्न अनेकाँै प्रयत्न गरिए तर सबै प्रयास असफल भए । देशमा दुई चरणको निर्वाचन सफल भयो । अहिलेसम्म आइपुग्दा प्रदेश नं २ बाहेक अन्य प्रदेशको निर्वाचन सम्पन्न भइसकेको छ । यी सम्पूर्ण परिवर्तनको जस प्रचण्डलाई जान्छ । जसरी पहिलो संविधान सभाको निर्वाचनमा गिरिजाप्रसाद कोइरालाले काङ्ग्र्रेसलाई हराएर देशलाई जिताएका थिए । त्यस्तै अहिले प्रचण्डले पनि माओवादीलाई हराएर भएपनि देशलाई जिताए । अवसरवादीलाई जित्ने प्रशस्त ठाउँ राखिदिएर आफ्ना एजेन्डा संस्थागत गर्न प्रचण्डलाई ठूलै नैतिक जिम्मेवारी थियो ।

दस वर्षे जनयुद्ध,जनयुद्धका सहिद र दोस्रो जनआन्दोलनबाट प्राप्त उपलब्धि बयलगाडेहरूलाई जस्तो छाड्ने छुट प्रचण्डलाई थिएन । त्यसैले पार्टीलाई हराएर भएपनि देशलाई जिताए । 

 देशले माओवादीबाट पाउनुपर्ने सबै उपलब्धि प्राप्त गरिसकेको छ । तर प्रचण्डको नेतृत्वमा देशले जन संविधान, गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता जस्ता परिवर्तन प्राप्त गरिसक्दा पनि जनताले प्रचण्ड र माओवादीको भूमिकाको मूल्याङ्कन गर्न किन सकेनन् ? यो अब हामी माओवादीहरूको बहसको विषय बन्नुपर्छ । किन आज अङ्कगणितीय रूपमा माओवादी पार्टीलाई कमजोर भयो ?


हुनत माओवादी पार्टी कमजोर हुनुमा बाह्य कारणभन्दापनि आन्तरिक कारण बढी छन् । युद्धरत अवस्थादेखि नै चलेको दुई लाइन सङ्घर्षलाई बेलैमा स्थायी रूपमा समाधान गर्न नसक्दा शान्ति प्रकृयामा आइपुगेको केही समयमा माओवादी पार्टी विभाजनको शिकार हुन पुग्यो । पदका लागि नेतृत्वको चाकरी गर्ने प्रवृत्ति मौलाउँदै जानु, बहुमतमा रहेकाहरूले अल्पमतमा रहेकाको विचारलाई कम महत्व दिनु, अधिकांश नेता पुँजीवादमा फस्नु तथा नेतृत्वले कार्यकर्ताको संरक्षण गर्न नसक्नुले पनि शान्ति प्रक्रियामा आएको छोटो समयमै माओवादी पार्टीको अस्थित्व सङ्कटको मुखमा पुगेको सत्य हो
 माओवादी फुटको कारण अहिले खासगरी परिवर्तन विरोधहरूको मनोबल बढेको छ । माओवादी भनेको नै प्रचण्ड हो र प्रचण्ड भनेको नै माओवादी हो भन्नेहरूलाई माओवादीविरुद्ध नकारात्मक भ्रम फैलाउन र उनीहरूको बलमा भएका परिवर्तन संस्थागत हुन नदिन स्वयम् उनीहरूको विभाजनले मलजल पुगेको प्रष्ट देख्न सकिन्छ । तर ती सबै हर्कतका अघि पनि प्रचण्डले आफ्नो देशप्रतिको कर्तव्यलाई भुलेनन् र जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गराएरै छाडे ।

राजनीतिलाई पेसा बनाएर देशलाई लुट्न पल्केकाहरूले परिवर्तन पक्षधर प्रचण्डविरुद्ध अनेकौँ जालझेल रचे । सङ्घीयता, धर्मनिरपेक्षता, समावेशिता, समानुपातिक जस्ता प्रगतिशील एजेन्डा असफल बनाउन माओवादीप्रति अनेकौँ प्रयास भयो । तर, प्रचण्डपथको अघि तिनको केही लागेन । देशलाई जिताउने अभियानमा लागिरहँदा प्रचण्डका केही कमी कमजोरी भए होलान्, केही विषयमा काङ्ग्रेस एमालेसँग हारे होलान् ।

त्यसैको परिणामस्वरूप देशले जितेको छ । प्रचण्डले आफूले नेतृत्वदायी भूमिका निर्वाह गरेर संविधान जारी गराएपछि आफैले सरकारको नेतृत्व गरेर संविधान कार्यान्वयनको बाटो खोले । सरकार गठनको बेला भएको सहमति अनुसार लामो समयदेखि नेपाली राजनीतिमा रहेको इमानदारिताको खडेरी मेट्दै हाँसी हाँसी  राजनीतिक इमानदारिता देखाउँदै प्रधानमन्त्रीको कुर्सी देउवालाई छाडिदिए र दोस्रो चरणको निर्वाचन शेरबहादुर देउवाले सम्पन्न गराइसकेका छन् ।

स्थानीय निर्वाचनमा अङ्कगणितीय रूपमा माओवादीको स्थान र माओवादीबाट विभाजित भएका अन्य दलहरूले बेहोर्नुपरेको हारको कारण स्वयम् उनीहरूका कार्यकर्ता पनि निराश बन्न पुगेका छन् । एकले अर्काको नेतृत्व स्वीकार्न नसक्नुको कारण माओवादी फुटको शिकार बन्न पुगेको सत्य स्वयम् माओवादी नेता कार्यकर्ताबाट छिपेको छैन । माओवादी विभाजित हुनुमा नेतृत्वकर्ताको हिसाबले प्रचण्ड मात्र होइनन्, स्वयम् बाबुराम र वैद्य समेत दोषी छन् । क्रान्तिको नाममा भदौमा आँखा फुटेको गोरुले सधैँ हरियो देखेजस्तै जुनै बेला पनि युद्ध गर्न सकिन्छ भन्ने सोचराखी पार्टी विभाजित गरी अलग हुने र मुलुकको समस्या समाधानका लागि युद्ध नै विकल्प देख्ने,जडसूत्रवादी चिन्तन राख्नु वैद्यको पनि कमजोरी थियो भने आर्थिक क्रान्तिको लागि नयाँ पार्टी नै गठन गर्नुपर्छ भन्ने सोच राख्नु बाबुरामको पनि महाभुल थियो ।

अहिले युद्ध गरेर ल्याइएको उपलब्धि लगभग संस्थागत भइसकेको अवस्था छ । तर अङ्कगणितीय रूपमा निर्वाचनमा भाग लिएका माओवादी र नयाँ शक्ति कमजोर अवस्थामा छन् । त्यसैले अब शक्तिशाली माओवादी पार्टी गठन गरेर जनयुद्वमा जनतालाई देखाएको सपना पूरा नगरी प्रचण्ड, बाबुराम, विप्लव र वैद्यले उन्मुक्ति पाउँदैनन् । जनयुद्धमा बगेको सहिदको रगतको उच्च सम्मान गर्दै तत्कालीन समयमा आम नेपालीलाई देखाएको सपना पूरा गर्न सबै पूर्व माओवादी नेता मिल्नुको विकल्प छैन ।

अहिले माओवादी इतिहासकै कमजोर अवस्थामा आइपुगेको छ । नेतृत्वले देश र जनता भन्दाभन्दै स्वयम् माओवादी पार्टी भने विगठनको सँघारमा पुगेको छ । पहिलो संविधान सभामा माओवादीलाई जनताले मत दिएर संसदको सबैभन्दा ठूलो शक्ति बनाएकै हुन् । तर माओवादीले उक्त जनमतलाई थाम्न सकेन, त्यसैले उसलाई थिच्यो। राजनीतिक परिपक्वताको कमीले माओवादीले पहिलो संविधान सभामा असफलता बेहोर्नुपर्यो । त्यसबाट पाठ सिकेर दोस्रो संविधान सभा रहँदै गर्दा देशलाई दुरगामी फाइदा पुग्ने काम गरिरहेको छ । अझभन्दा प्रचण्डको एउटा बोल्ड डिसिजनले देशलाई उज्यालोतर्फ डोहोर्याइरहेको छ ।

माओवादीको एजेन्डामा देश र जनताले जितेका छन् । प्रत्येक जात, जाति, भाषा, धर्म, सीमान्तकृत समुदायका मानिसले हरेक क्षेत्रमा आफ्नो अधिकार पाएका छन् । देश आर्थिक क्रान्तिको बाटोमा अघि बढ्दै छ । यहाँ आइपुग्दा माओवादीको एजेन्डामा देशले जितिसकेको छ । अब प्रचण्डले आफ्नो पार्टीलाई एकताबद्ध बनाएर जनविश्वासलाई मजबुत बनाउँदै एक नम्बर पार्टीका रूपमा माओवादीलाई स्थापित गर्न बाबुराम, वैध र विप्लबलाई पनि विश्वासमा लिएर अघिबढ्न सक्नुपर्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप