शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चैत ११ र १२ गते पोखरामा बैंकिङ–बीमा एक्पो हुँदै

बिहीबार, ०८ चैत २०७४, १९ : १४
बिहीबार, ०८ चैत २०७४

पोखरा– चैत्र ११ गतेदेखि पोखरामा हुने बैंकिङ एक्स्पोको तयारी पूरा भएको छ । नेपाल राष्ट्र बैंकको प्रवद्र्धन एवं मिडिया इन्टरनेसनलको आयोजनामा आईतबारदेखि २ दिनसम्म चल्ने बैंकिङ एक्स्पोको सम्पूर्ण तयारी पुरा भएको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल राष्ट्र बैंक, पोखरा शाखाका कामु निर्देशक तिलबहादुर गुरुङले प्रदेश नम्बर ४ को मूख्य केन्द्र पोखरामा सबै क्षेत्रका मानिसहरु केन्द्रीकृत हुनेहुनाले वित्तीय चेतना सम्बन्धि कार्यक्रमहरु पोखरामा आयोजना हुनु राम्रो भएको बताए ।

‘पोखरा प्रदेश नम्बर ४ को प्रदेश मुकाम र शहर भए पनि यहाँ वित्तीय चेतना धेरै आवश्यक छ’ पत्रकार सम्मेलनमा बोल्दै कामू निर्देशक गुरुङले भने–‘यस क्षेत्रका धेरै मान्छे अझै पनि बैंकिङ पहुँच बाहिर छन्, ति मान्छेलाई यो एक्स्पोले वित्तीय चेतनाबारे बुझाउन सक्छ भन्ने मैले बिश्वास लिएको छु ।’

डेभलपमेन्ट बैंकर्स एशोसिएसनका वरिष्ठ उपाध्यक्ष एवं गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालले मुलुकमा ४० प्रतिशतमात्रै जनता बैंकिङ पहुँचमा रहेको भन्दै वित्तीय चेतना फैलाउने यस्ता कार्यक्रमहरु मुलुकका विभिन्न ठाउँहरुमा आयोजना गर्नुपर्ने बताए । मिडिया इन्टरनेसनले वित्तीय चेतना अभिवृद्धिका लागि खेलेको भूमिकाको प्रशंसा गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले वित्तीय चेतना बढाउने कार्यक्रममा सधै सहकार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

आयोजक संस्था मिडिया इन्टरनेसनलका अध्यक्ष एवं वित्तीय जागरण राष्ट्रिय अभियानका संयोजक माधव निर्दोषले प्रदेश नम्बर ४ को बैंकिङ हवको रुपमा रहेकाले पोखरामा एक्स्पो आयोजना गर्न लागिएको बताए । आइतबार राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जिीवि नेपालले उद्घाटन गर्ने एक्स्पोमा २ दर्जन भन्दा बढी बैंक, बीमा तथा वित्तीय संस्थाका स्टलहरु रहने आयोजकले जानकारी दिएको छ । उद्घाटन शत्रमा बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाँईको समेत उपस्थिति रहने बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप