बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आगे ओली कमरेडलाई चेतना भया !

बिहीबार, ०८ चैत २०७४, १२ : ३३
बिहीबार, ०८ चैत २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारलाई लगभग पूर्णता दिएपछि सरकारबारे चर्चा परिचर्चाहरू सुरु भएका छन् । ओलीकै नेतृत्वको यसअघिको सरकारबाट भए गरेका कामहरूको लेखाजोखा पनि भइरहेको छ र त्यही आधारमा नयाँ सरकारले पनि काम गर्ने अनुमान धेरैले गरेको पाइन्छ ।

प्रधानमन्त्री ओली भने सञ्चारमाध्यमहरूमा आउने र आइरहेका टिप्पणीहरूलाई पूर्णरूपले बेवास्ता गर्दै अगाडि बढ्ने संकेत देखाइरहेका छन् । ओली दोस्रोपटक प्रधानमन्त्री भएलगत्तै आफ्ना नजिकका पार्टी कार्यकर्ताहरूलाई बालुवाटारमा बोलाएर दिवाभोज आयोजना गरेको सन्दर्भ आलोचनाको विषय बन्यो । यस्तो आलोचना हुनुपर्दछ । त्यसैले ओलीले आफूविरुद्ध आलोचना भइहाले पनि त्यसप्रति आक्रोशित हुनुपर्ने कुनै आवश्यकता रहँदैन, यो शुभेच्छुकको सुझाव मात्र हो ।

पहिलोपटक नौ महिना प्रधानमन्त्रीमा पदासीन रहँदा देखाउन पाएको देशभक्तिको अवसर कमरेड केपी ओलीलाई अब प्राप्त नहुन सक्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालविरुद्ध नाकाबन्दी गरेको घटनालाई मोदी स्वयंले पश्चातापको विषय ठानिरहेकाले अब फेरि नाकाबन्दी हुने सम्भावना टरेको छ । त्यसैले कमरेड ओलीलाई नाकाबन्दीकै विरोध गरेर देशभक्त नेताको लोकप्रियता हासिल गर्ने अवसर अब प्राप्त नहुने आँकलन गर्न सकिन्छ । 

देशभक्त बन्न नाकाबन्दीकै विरोध गर्ने अवसर मात्र आइरहोस् भन्ने ठान्न पनि हुँदैन । नाकाबन्दी भइहाले पनि फरक नपर्ने किसिमबाट देशलाई आत्मनिर्भर बनाउन सकियो भने त्यो नै सबैभन्दा ठूलो देशभक्ति ठहर्नेछ । कमरेड केपी ओलीलाई यो अवसर यसपटक निकै जबर्जस्त रूपमा प्राप्त भएको छ । भर्खरै मात्र आफ्नो टिमलाई ओलीले पूर्णता दिएपछि केही कमजोरीहरू देखिएको भनेर टिप्पणी भएका छन् । मन्त्रिपरिषद् समावेशी नभएको टिप्पणी आएको छ । समावेशीका नाममा ‘गाईजात्रा’ देखाउन आवश्यक पनि छैन । मुख्य कुरा देशलाई कसरी आत्मनिर्भर तुल्याउन सकिन्छ भन्ने नै हो । देशलाई आत्मनिर्भर तुल्याउन प्रधानमन्त्री केपी ओलीमा इच्छाशक्ति हुने हो भने अब असम्भव छैन । केपी ओलीको नेतृत्वमा बनेको वर्तमान सरकारलाई कुनै कोणबाट पनि अवरोध आउने अवस्था छैन ।

 

प्रधानमन्त्रीसँग आफैले चयन गरेको सक्रिय टिम छ, प्रधानमन्त्रीसँग आफ्नै पार्टीबाट चुनिएकी महिला नेतृ राष्ट्रपति रहेको अवस्था छ । निकट भविष्यमा पार्टी एकीकरण हुन गइरहेको नेकपा (माओवादी केन्द्र)का तर्पmबाट व्यवस्थापिका–संसद्का सभामुख बनाइएको अवस्था छ । देशका उपराष्ट्रपति र उपसभामुखलगायत राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षसमेत आफ्नै अनुकूलका रहेको अवस्था छ । सातवटा प्रदेशमध्येमा ६ वटा प्रदेश वामपक्षीय नेतृत्वसहितको टिम रहेको अवस्था छ । यस्तो अनुकूल अवस्था हाम्रो देशले इतिहासमा कहिल्यै पनि पाएको थिएन र लाग्दछ, भविष्यमा पनि यस्तो अनुकूलता बन्ने छैन । त्यसैले नेपाललाई आत्मनिर्भर तुल्याउन गर्नुपर्ने जे–जति कामहरू छन्, यसैबेला गर्न सकिने अवस्था देशमा विकसित भएको छ । 

यतिबेला मलाई विगत स्मरण गर्न मन लागेको छ । जतिबेला म स्वयं नेकपा (एमाले)को कार्यकर्ताका रूपमा रहेको थिएँ । त्यो बेला मैले जनधारणा साप्ताहिकमार्फत् भ्रष्टाचारका विरुद्ध अभियान चलाएको थिएँ । चप्पल लगाएर राजधानी प्रवेश गरेका नेताहरूले छोटो समयमै धन आर्जन गरेर निर्माण गरेका निजी घर (महल)का तस्बिरहरू प्रकाशन गर्ने अभियान चलाएको थिएँ । त्यसक्रममा तत्कालीन नेकपा (एमाले)का महासचिव माधव नेपालको घर पनि जनधारणामा प्रकाशन भएको थियो । त्यही सन्दर्भमा आक्रोश पोख्न महासचिव माधव नेपालले बल्खुस्थित एमालेको मुख्यालयमा पार्टी निकट पत्रकारहरूको बैठक बोलाएर पत्रकारहरूलाई पत्रकारिताबारे प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणका क्रममा माधव नेपालले पार्टी कार्यकर्ता रहेका पत्रकारहरूले गर्नुपर्ने र गर्न नहुने कामहरूबारे आफ्नो विवेक खर्चिनु भएको थियो ।

पत्रकारहरूले गर्न नहुने कामको लामो फेहरिस्त प्रस्तुत गर्दै उहाँले यो पंक्तिकारप्रति आक्रोशित शैलीमा औंला देखाउँदै भन्नुभएको थियो, ‘पार्टी पत्रकारले गर्नै नहुने काम उहाँले गर्नुभएको छ, नेताहरूका घरहरू छानीछानी पत्रिकामा छापेर ।’ आफ्नो प्रस्तुतिलाई महासचिव नेपालले विट मार्दै पत्रकारहरूको प्रतिक्रिया माग्नु भएको थियो । त्यसक्रममा एमालेपंक्तिका पत्रकारहरू दुई दर्जनभन्दा बढी संख्यामा उपस्थित थिए भने नेताहरूमा प्रदीप नेपाल र युवराज ज्ञवालीको पनि उपस्थिति थियो । महासचिव नेपालको भनाइमा प्रतिक्रिया जनाउने क्रममा गोपाल बुढाथोकीले निकै आक्रोशपूर्ण शैलीमा ‘नेताहरूले बनाएका घर हामी पार्टी कार्यकर्ताले नछापे पनि कान्तिपुरहरूले छाप्न छोड्ने छैनन्, त्यसैले घर निर्माण गर्ने स्रोत गलत नभइदिएपछि घरहरू पत्रिकामा छापिए पनि फरक नपर्ला कि कमरेड !’ भनेर जवाफ फर्काएका थिए ।  

बुढाथोकी बोलेपछि बोल्ने मेरो पालो आएको थियो । मेरो कुरा सुन्ने धैर्य नराखेर महासचिव माधव नेपाल अर्काे कार्यक्रममा जानुपर्ने भन्दै उठेर हिँड्ने प्रयास गर्दा मैले ‘आफ्ना कुराको जवाफ सुन्ने धैर्य देखाउनुस् कमरेड’ भनेर भन्दा पनि माधव नेपाल मेरो कुरा नसुनेर हिँड्नुभएको थियो । पार्टीभित्र महाकाली सन्धिको विवाद प्रवेश गरिसकेको थियो । महाकाली सन्धिविरोधी कित्तामा परेकाले महासचिव माधव नेपालले पंक्तिकारप्रति असहिष्णु भएर प्रस्तुत हुने गर्नुहुन्थ्यो । त्यही महाकाली सन्धि कमरेड केपी ओलीको लागि आज पर्यन्त आलोचनाको विषय बन्ने गरेको छ । परन्तु स्वयं ओलीले यस पंक्तिकारसँगको भेटमा पार्टीका अन्य नेताहरूले नै महाकाली सन्धिको समझदारी भारतीय नेताहरूसँग गरिसकेको खुलासा गर्नुभएको थियो । 

मलाई अर्काे सन्दर्भ पनि यहाँ उल्लेख सान्दर्भिक लागेको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रोपटक प्रधानमन्त्री भएका बेला केही सञ्चारकर्मीहरूलाई बालुवाटारमा आमन्त्रण गरिएको थियो । म स्वयंलाई पनि प्रधानमन्त्रीबाट आमन्त्रित गरिएपछि  अन्तरक्रियामा सहभागी हुने अवसर प्राप्त भएको थियो । भर्खरै भारत भ्रमणबाट स्वदेश फिर्ता भएका प्रधानमन्त्री प्रचण्डले पत्रकारहरूका सुझाव माग्दै पत्रकारहरू सहयोगी र सकारात्मक हुनुप¥यो भन्ने आफ्नो चाहना व्यक्त गर्नुभयो । उपस्थित पत्रकारहरूको प्रतिक्रिया र सुझाव सुन्नेक्रममा मेरो पनि पालो आयो । मैले कमरेड प्रचण्डलाई राम्रो परम्पराको सुरुआतको लागि धन्यवाद दिंदै नेताहरूले राम्रो काम गर्ने हो भने हामीबाट नराम्रो सुझाव हुने र नकारात्मक टिप्पणी हुने प्रश्न रहँदैन भनेर कुरा राखें । अगाडि मैले थपें, नेताहरूले नराम्रा काम नगरे हुन्थ्यो, नेताहरूका विरुद्धमा नकारात्मक कुरा लेख्नै नपरे हुन्थ्यो भन्ने लागिरहन्छ तर भारत भ्रमणका क्रममा गरिएको अन्तर्राष्ट्रिय सम्बन्धबारेको सम्झौतालाई सकारात्मक भनेर लेख्न नसकिएको प्रसंग उठाएको थिएँ । 

प्रचण्ड त्यो बेला नेपाली कांग्रेससँगको सत्ता सहयात्रामा हुनुहुन्थ्यो । त्यसैले नेपाली कांग्रेसकै चाहनाबमोजिम भारतसँग त्यस्तो सम्झौता गर्नुपरेको अनुमान पनि गर्न सकिन्छ । तर आजको स्थिति नितान्त फरक छ । केपी ओलीले नेतृत्व गरेको वर्तमान सरकारले देश र नेपाली जनताका लागि केही गर्न सकेन भने, राष्ट्रिय स्वाधीनता र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने काममा आफ्नो सामथ्र्य देखाउने काम यो सरकारले गर्न सकेन भने नेपाली जनतामा अत्यन्त विस्फोटक किसिमको निराशा पैदा हुने निश्चित छ । त्यसैले केपी ओलीले अब नकारात्मक कुरा कोट्याउन चाहनेहरूलाई पनि असफल तुल्याउने गरी काम गर्नुहुनेछ भन्ने आशा पलाएको छ । आगे ओली कमरेडलाई चेतना भया !
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निमकान्त पाण्डे
निमकान्त पाण्डे
लेखकबाट थप