बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मधेसी जनता अहिले पनि केपी ओलीप्रति आक्रोशित छन् : मनिष सुमन

बिहीबार, ०८ चैत २०७४, ११ : ५९
बिहीबार, ०८ चैत २०७४

–मनिष सुमन

महासचिव एवम् प्रदेश २ सांसद– राजपा नेपाल

केन्द्रमा एमालेसँग राजपा नेपाल र फोरम नेपालको सम्बन्ध बनिरहेको बेला तपार्इंले फागुन १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई मधेसमा जान अहिले पनि गाह्रो छ भनी अभिव्यक्ति दिनुभयो किन त्यस्तो ?
–अवस्था नै त्यस्तो छ । मधेसमा केपी ओलीलाई जान गाह्रो छ । मधेसी दलसँग सम्बन्ध सुधार गर्ने प्रयास गरे पनि मधेससँग सम्बन्ध सुधारको पहल गर्नुभएको छैन । मधेसी जनता अहिले पनि एमाले र त्यसका अध्यक्ष केपी ओलीप्रति आक्रोशित नै छन् ।

एकातिर ओलीलाई प्रधानमन्त्री बनाउनमा सहयोग गर्नुभयो । राष्ट्रपति, उपराष्ट्रपति लगायत सबैलाई जिताउन मत हाल्नुभयो । सरकारमा जाने पनि छलफल भइरहेको छ अनि मधेसमा विरोध किन फेरि ?
–केपी शर्मा ओलीलाई राजपा नेपाल वा फोरम नेपालका नेता तथा कार्यकर्ताले विरोध गरिरहेको छैन । विरोध गर्ने त्यस्तो आधिकारिक निर्णय पनि छैन र नीति पनि छैन । मधेसका आमा जनताले अ‍ोलीको विरोध गरिरहेका छन् । मधेसमा रहेका विभिन्न सङ्घ संस्था, नागरिक समाजलगायत विभिन्न समूहमा आबद्ध सङ्गठनहरूले विरोध गरिरहेका छन् । त्यसको विरोधमा राजपा नेपालको कही संलग्नता पाउनु हुन्न ।
 

एमाले मधेस मुक्त बनाउने अभिव्यक्ति तपाईंकै अध्यक्ष राजेन्द्र महतोले दिनुभएको थियो अनि पार्टीको संलग्नता छैन भनी कसरी भन्नुहुन्छ ?
–उहाँले भनेको कुरा मैले आफ्नो कानले सुनेको छैन । सञ्चार माध्यममा आएका कुरा हो । उहाँले यो कुरा कुन सन्दर्भमा किन भन्नुभयो त्यो मलाई थाह भएन । तर तपार्इंले पार्टीको दस्तावेजमा कही पाउनु हुन्न कि राजपा नेपालले मधेसमा एमालेको विरोध गरिरहेको छ । त्यो दलको विरोध गर्ने निर्णय गरेको छ । कुनै नेताले भाषणको क्रममा आक्रोश पोखेको होला त्यो बेग्लै कुरा हो । कुनै सन्दर्भमा कुनै कुरा भन्नुभएको होला । त्यो बेग्लै कुरा हो तर पार्टीको नीतिमा एमाले पार्टीको विरोध गर्ने कुरा कही छैन ।

तत्कालीन मधेसी मोर्चाको एउटा विज्ञप्तिमा उल्लेख गरिए अनुसार केपी शर्मा ओली सहभागी कुनै पनि वार्ता तथा कार्यक्रमा सहभागी हुने छैन । के यो आधिकारिक होइन ?
–हो, यो कुरा मलाई पनि थाह छ तर एमालेलाई मधेस प्रवेशमा रोक लगाउनुपर्छ । अ‍ोलीको पुतला जलाउनुपर्छ । एमाले मुक्त मधेस बनाउनुपर्छ । ओलीलाई मधेसमा निशेष गर्नुपर्छ भनी कही लेखिएको छैन । तर, त्यतिबेला मधेसी मोर्चासँग केपी शर्मा अ‍ोलीले जुन व्यवहार गर्नुभएको थियो । त्यसका लागि यो निर्णय भएकै हो ।

के भएको थियो त्यो बेला ?
–सुशील कोइराला प्रधानमन्त्री भएको बेला बालुवाटारम वार्ता भइरहेको थियो । त्यसमा हाम्रो अध्यक्ष महतोजीले झापा, सुनसरी, मोरङ, कैलाली र कञ्चनपुर पनि मधेसमा मिलाउनुपर्छ भन्नुभएको थियो । त्यसमा ओलीजीले समथर भूभाग हेर्नै नहुने । त्यसो भए यूपी विहारलाई पनि मधेसमा मिलाउनुस् भन्नुभएको थियो । मधेसका लागि ठूलो आपमानजनक कुरा थियो त्यो । त्यसैले हामी त्यतिबेला अ‍ोलीले माफी नमागेसम्म उहाँ संलग्न वार्तामा नजाने निर्णय गरेका थियौं ।

तर ओलीले माफी पनि माग्नुभएन तर तपाईंहरू वार्तामा जान थाल्नुभयो ?
–म अहिले त्यसलाई विडम्बना मात्र भन्छु । निर्णय गर्ने र त्यसको अमल गर्न नसक्नु त्रुटि हो र मधेस त्यसैको नतिजा आजसम्म भोगिरहेको छ । शीर्ष नेताहरू आफ्नो अडानमा रहनुपथ्र्यो या त्यस्तो निर्णय नै गर्नुहुँदैन्थ्यो ।

जतिसुकै सुरक्षाकर्मी लिएर पनि केपी ओली मधेस जान सक्दैनन् भन्नुभयो, के यो यथार्थ नै हो कि भन्नु मात्र भएको ?
–त्यो त्यतिकै त्यतिकै भनेको होइन र सुनियोजित पनि होइन । मनमा लागेका कुरा मैले बोलेको हुँ । यो मधेसका लागि यथार्थ कुरा हो । एमालेले विगतमा मधेससँग गरेको व्यवहार मधेसी जनताले अझै बिर्सेको छैनन् । अहिले पनि त्यसमा सुधार भएको छैन । मधेसी जनताले एमाले नेतृत्वको सरकारलाई गम्भीर रूपमा हेरिरहेको छ । विगतमा संविधान संशोधन हुन नदिएका एमालेले अब संविधान संशोधन गर्न तयार हुन्छ कि हुँदैन । मधेस आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता हुन्छ कि हुँदैन । थुनामा रहेकालाई रिहाइ गर्छन् कि गर्दैनन् । आन्दोलनका क्रममा घाइते भएकाहरूको व्यवस्थापन गर्छन् कि गर्दैनन् । यी कुरालाई मधेसी जनताले ध्यानपूर्वक हेरिरहेका छन् । तर अहिलेसम्म यीमध्ये कुनै काम भएको छैन । अनि मधेसका जनताले ओली र उहाँका दलमाथि कसरी विश्वास गर्छ ? मधेसले पनि सम्बन्ध सुधार गर्न चाहेको छ तर ताली एक हातले मात्र बज्दैन ।

प्रधानमन्त्री ओलीलाई मधेस जानु हुँदैन भनेर चेतावनी दिनुभएको कि सुझाव दिनुभएको छ ?
–चेतावनी कदापी होइन । एउटा राजनीतिक दलको नेताको नाताले दिने सुझाव मात्र हो । तपाईंलाई याद होला, २०७३ फागुन २३ गते सप्तरीको मलेठमा भएको घटना एमालेका अध्यक्ष केपी शर्मा ओलीका कारणले भएको हो । त्यतिबेला मधेसमा आन्दोलन चलिरहेको थियो । हामीले पटक पटक ओलीजी र उहाँका दलका नेताहरूलाई मधेस नजानुस् भनेका थियौं । 
सप्तरीमा जबर्जस्ती कार्यक्रम नगर्नुस् । अवस्था ठीक छैन, जे पनि हुन्छ तर उहाँले मान्नु भएन । जबर्जस्ती जानुभयो । हाम्रो सुझावलाई चुनौतीका रूपमा लिनुभयो र जानुभयो । उहाँको हठका कारण पाँचजनाको ज्यान गयो । हामी अहिले पनि भन्छौं, ओली मधेस नजाँदा राम्रो । मधेसको पक्षमा केही निर्णयहरू गर्नुस् । वातावरण सुधार्नुस् अनि जाँदा राम्रो । यो हाम्रो सुझाव मात्र हो ।

संविधान संशोधन काँग्रेस र माओवादी केन्द्रले पनि गराउन सकेनन्, अनि एमाले मात्र किन टार्गेट ?
–पहिलो कुरा त हाम्रा लागि तीनवटै दल उस्तै हो । मधेसप्रति कुनै दल सकारात्मक छैन । यद्यपि कुनै दल मधेसप्रति अलिअलि उदार देखिन्छ भने कुनै दल अनुदार देखिन्छ । काँग्रेस र माओवादी केन्द्रले विगतमा संविधान संशोधन गर्न प्रयास गरेका छन्, त्यो विर्सिनु हुँदैन । देखावटीका लागि सही तर संशोधन विधेयक प्रस्तावका रूपमा संसदसम्म लगेकै हो । तर, त्यसलाई पास हुन नदिने काम एमालेले गरेको हो । यो कुरा मधेसी जनता अझै बिर्सेको छैन । अब एमालेका लागि मौका आएको छ, विगतमा भएका गल्ती सुधार गर्दै सविधान संशोधन लगायतका मुद्दा सम्बोधन गरोस् र मधेसका साथमा विकास र समृद्धिका लागि देश निर्माणमा लागोस् । त्यसमा हामी पनि साथ दिन तयार छौँ ।     
 

राजपा नेपाल पनि वाम गठबन्धन नेतृत्व सरकारमा जाने कुरा चलिरहेको छ, कहाँ पुग्यो कुरा ?
–सरकारमै जानका लागि त्यस्तो औपचारिक छलफल भएको छ जस्तो लाग्दैन मलाई । थुनामा रहनुभएका रेशम चौधरीको बारेमा दुई तीन पटक सरकारसँग वार्ता भएको हो । तर सरकारकै विषयमा त्यसरी कुरा भएको हो भन्ने लाग्दैन । यद्यपि म वार्तामा नगएको कारणले यही भएको हो भन्ने ठ्याकै भन्न सक्दिन । 

राजपा नेपालको जिम्मेवार नेताको हैसियतले राजपा नेपाल सरकारमा जानुपर्छ कि पर्दैन ?
–मेरो विचारमा यही अवस्थामा सरकारमा जानु हुँदैन । कुनै नेता विशेषलाई सरकारमा जाने रहर होला । मन्त्री बन्ने सपना देख्नुभएको होला तर संविधान संशोधन नगरी, मधेसको मुद्दा सम्बोधन नगराई सरकारमा जानु हुँदैन । मधेसलाई यही अवस्थामा छाडेर सरकारमा जानु उचित हुँदैन ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप