मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

दरवाङ नदी नियन्त्रण आयोजनाको काम शुरु

बिहीबार, ०८ चैत २०७४, ०९ : ३७
बिहीबार, ०८ चैत २०७४

बाबियाचौर, म्याग्दी - म्याग्दी नदीको कटानको चपेटामा परेको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा नदी नियन्त्रण आयोजनाको काम शुरु भएको छ । 

मालिका गाउँपालिकाले उपभोक्ता समितिमार्फत नदी कटान नियन्त्रणका लागि किनारमा पक्की पर्खाल निर्माण थालेकोे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिए । 
नदी नियन्त्रण योजनाका लागि चालू आर्थिक वर्षमा गाउँपालिकाले रु १५ लाख र ६ नं वडा कार्यालयले रु तीन लाख विनियोजन गरेको थियो । गाउँपालिका र वडाको रु १८ लाख अनुदान तथा उपभोक्ताको रु दुई लाख बराबरको श्रमदानमा आयोजना पुरा गर्ने लक्ष्य छ । 

म्याग्दीको पश्चिमी क्षेत्रको व्यापारिक केन्द्र र दोस्रो सदरमुकामको रुपमा चिनिने दरवाङबजार उत्तरतर्फबाट नदीले वर्षेनी गर्दै आएको कटानका कारण जोखिममा परेको छ । जनप्रिय माविको खेलमैदान क्षेत्रमा नदी किनारमा पक्की पर्खाल निर्माण गर्न लागिएको उपभोक्ता समितिका अध्यक्ष गोपाल गौतमले जानकारी दिए । 

यस वर्ष विनियोजन भएको बजेटबाट ३८ मिटर लम्बाइको पर्खाल निर्माण गर्ने योजना छ । जगमा तीन मिटर चाक्लो पिसिसी ढलान गरेर पिरामिड शैलीमा कम्तीमा तीन मिटर चौडाइ र चार मिटर उचाइ भएको पर्खाल बनाइने भएको छ । 

पर्खाल निर्माणमा मजदूर परिचालन र जनश्रमदान गरेर नदी किनारको ढुङ्गा संकलन गरिएको छ । दुई सय ५० घरधुरी बजारवासीले प्रतिघर एक दिनका लागि श्रमदान गर्ने भएका छन् । दुई मिटरभन्दा बढी लम्बाइको पर्खाल बनाउनुपर्ने भएकाले बजेट पर्याप्त नहुँदा योजना अधुरो रहने देखिएको अध्यक्ष गौतमले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप