शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुन कारोबारी शाक्य हत्या प्रकरणमा प्रहरीकै भूमिका शंकास्पद देखिएपछि..

बिहीबार, ०८ चैत २०७४, ०७ : ०५
बिहीबार, ०८ चैत २०७४

प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको छ

काठमाडौं - तस्करीको सुन विवादमा हत्या गरिएका सनम शाक्यको मुद्दामा प्रहरीको भूमिका शंकास्पद रहेको भन्दै प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत जुनियर प्रहरी अधिकृतसँग सुन तस्करको सम्पर्क देखिएपछि प्रहरी प्रधान कार्यालयले छानबिन समिति बनाएको हो ।

प्रहरी प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) पुष्कलराज रेग्मीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो । सो समितिमा एसएसपी वसन्त लामा र डीएसपी सुदीप पाठक सदस्य छन् । आजको राजधानी दैनिकमा यो खबर छापिएको छ ।

२१ फागुनमा शाक्यको शव मोरङको उर्लाबारीमा भेटिएको थियो । त्यति बेला स्कार्पियोमा मृत अवस्थामा भेटिएका शाक्यलाई यातना दिएर हत्या गरिएको पाइएको प्रहरीले जनाएको थियो । महाशाखा प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रजित केसीको नेतृत्वमा खटिएको प्रहरी टोलीले सो शवलाई मोरङबाट बरामद गरेको थियो ।

३६ वर्षीय शाक्यलाई उर्लाबारी–१ स्थित सोल्टी खोलाको जंगलमा यातना दिएर हत्या गरिएको हो । तस्करीको सुनमा विवाद भएपछि तस्कर समूहले नै उनको हत्या गरेपछि प्रहरी पनि तस्कर समूहसँग मिलेको आशंकामा छानबिन समिति गठन गरेको प्रहरी स्रोतले जनाएको छ । यो विषयमा प्रहरी प्रधान कार्यालयले कुनै आधिकारिक जानकारी दिएको छैन ।

सुन कारोबारमा गडबडी भएको भन्दै कारोबारीले शाक्यलाई अपहरण गरी चर्काे यातना दिएका थिए । सूचना लिन चर्काे यातना दिने क्रममा शाक्यको मृत्यु भएको प्रहरीको दाबी थियो । गोरे भन्ने चूडामणि उप्रेतीले शाक्यलाई काठमाडांैबाट अपहरण गरी गौरीघाटमा लगेर राखेका थिए ।त्यहाँबाट मोरङ लगेर हत्या गरेपछि महाशाखाका एक जुनियर अधिकृतको मोबाइलमा सम्पर्क भएको देखिएपछि प्रहरी सशंकित भएको थियो ।
शाक्यलाई हत्या गरी लास व्यवस्थापन गर्न लैजाँदै गर्दा विराटनगर–३ दुर्गाचोक नजिकैबाट २१ फागुनमा प्रहरीले नियन्त्रणमा लिएको थियो । स्कार्पियोमा जिउँदो मान्छेलाई झंै पछाडि राखेको अवस्थामा शाक्यको शव फेला परेको थियो । अपराध अनुसन्धान महाशाखाको सहयोगमा गाडीको पिछा गर्ने क्रममा बा१२च ५९६३ नम्बरको स्कोर्पियो गाडीभित्र शाक्यको शव भेटिएको थियो ।
२१ फागुनमै प्रहरीले सो घटनामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको थियो । उर्लाबारी–७ का ३३ वर्षीय कृष्ण भन्ने नरेन्द्र कार्की, उर्लाबारी–५ का मोहन काफ्ले र काभ्रे मण्डन देउपुर गाउँपालिका–१२ का टेकराज मल्ल ठकुरीलाई प्रहरीले पक्राउ गरेको थियो ।
उनीहरूविरुद्ध संगठित अपराध तथा अपहरण गरी कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद लिइएको भए पनि आरोपीहरूले बयान फेरेपछि प्रहरी प्रधान कार्यालयले चासो लिएको हो । ‘हत्या प्रकरणमा उनकै साथीहरू पक्राउ परेका छन् तर त्यहाँ केही शंकास्पद लागेकाले अनुसन्धानका लागि डीआईजीको नेतृत्वमा छानबिन समिति बनेको छ,’ प्रधान कार्यालय स्रोतले भन्यो । महाशाखाले मंगलबार आरोपीहरूको बयान सकाएपछि बुधबार बिहान प्रहरी प्रधान कार्यालयले छानबिन समिति बनाएको थियो ।

१५ फागुनमा शाक्यको अपहरण भएको थियो । उनीहरूले १८ फागुनमा यातना दिएर हत्या गरेका थिए । काठमाडौंमा ३३ किलो अवैध सुन हराएको आरोपमा शाक्यमाथि कारोबारीहरूले यातना दिएका थिए । ३३ किलो सुन हराएपछि गिरोहले शाक्यलाई यातना दिएर हत्या गरेका थिए । प्रहरीले गोरे भनिने चूडामणि उप्रेतीलाई पनि सो प्रकरणमा अभियुक्त ठहर गरे पनि अहिलेसम्म पक्राउ गर्न सकेको छैन । उनै उपे्रतीसँग महाशाखाका प्रहरी अधिकृतहरू निरन्तर सम्पर्क रहेको देखिएको थियो । यसअघि शाक्यका परिवारले छानबिनको माग गर्दै आएका थिए । शाक्यले ३३ किलो सुन हराएको भने पनि त्यो सुन कसको र कसरी हराएको भन्ने विषयमा प्रहरीले केही बताएको छैन ।
गत १६ असोजमा काठमाडौं र स्वयम्भूमा तस्कर समूहद्वारा हत्या गरिएका गगन लामाको शव फेला परेको थियो । लामाले १८ किलो सुन केरुङ नाकाबाट नेपाल भिœयाएका थिए । महाशाखाको अनुसन्धानमा लामाले २ असारमा चिनियाँ नागरिक बोई र तेन्जिङले रसुवामा ल्याएको तस्करीको सुन लाक्पा ग्याल्जेन तामाङलाई दिएका थिए । तामाङले सो सुन काठमाडौं ल्याउने जिम्मा उनै लामालाई दिएका थिए । सुन लिएर रसुवाबाट हिँडेका लामा सम्पर्कविहीन भएपछि प्रहरी टोलीले लामाकी प्रेमिकाको सहयोगमा उनलाई नियन्त्रणमा लिएर तस्कर समूहबाटै छुरा हानेर हत्या गरेको अनुसन्धानबाट खुलेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप