मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

हात्तीमा क्षयरोगको संक्रमण घट्दै

बुधबार, ०७ चैत २०७४, १५ : १३
बुधबार, ०७ चैत २०७४

–नारायण अधिकारी 

चितवन– देशका सरकारी र निजी तबरबाट पालिएका हात्तीमा समस्याको रुपमा देखिएको क्षयरोगको संक्रमण न्यूनीकरण हुँदै गएको छ ।  अहिलेसम्म क्षयरोगकै कारण १५ वटा हात्ती मरिसकेका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका भेटनरिनरी डाक्टर अमृत सडौलाका अनुसार सन् २०१४ सम्ममा क्षयरोगको संक्रमणका कारण १५ हात्ती मरेका थिए । 

त्यसयता संक्रमणले हात्ती मर्न पाएका छैनन् । सन् २००२ बाट संक्रमण देखा पर्न थालेको भएपनि अनुसन्धान गरी रोगको पहिचान गर्न सन् २००७ सम्म लागेको थियो । 

सन् २०१६ मा गरिएको पछिल्लो परीक्षणमा नौवटा हात्तीमा मात्र संक्रमण देखिएको थियो । त्यतिबेला ९३ वटा सरकारी हात्तीमा परीक्षण गरिएकामा पाँचवटा औषधि खाइरहेका र चारवटा नयांँ हात्तीमा संक्रमण देखिएको सडौलाले बताए । 

त्यसअघि सन् २००७ यता ६१ वटा हात्तीलाई क्षयरोग संक्रमणविरुद्धको औषधि खुवाइएको थियो । पांँचवटा बाहेक अन्य ५६ वटा हात्ती रोगबाट मुक्त भएको उनले बताए । 

संक्रमण देखिएका हात्ती १५ वर्षमाथिका रहेका छन् । हात्तीको क्षयरोग परीक्षणका लागि किट पाउन कठिन हुने गर्दछ । सडौलाका अनुसार अमेरिकाको चेम्बियोमा मात्र किट पाइने र एउटा किटको २० डलर पर्ने हुँदा खरिदमा कठिन पर्नेगरेको छ । जसका कारण यसवर्ष माइक्रो ब्याक्टेरियम ट्युवरक्लोसिसको डिएनए परीक्षण गरेर हात्तीमा रोग संक्रमण भए नभएको पत्ता लगाउन लागिएको उनले बताए । 

मान्छेबाट पशुमा र पशुबाट मान्छेमा पनि क्षयरोग सर्ने भएकाले क्षयरोग लागेका हात्तीलाई अलग्गै राख्ने गरिएको छ । 

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठककाअनुसार संक्रमण देखिएका हात्तीलाई अरु हात्ती भन्दा एकान्तमा राख्ने, उपचार गर्ने र सामान्य गस्ती बाहेक काम लगाइएको छैन । 

हात्तीमा रोग देखापरे पनि हालसम्म माउते र सहयोगीमा रोग सर्न नपाएको निकुञ्जले जनाएको छ । नेपालमा प्रकृति संरक्षण कोषको सातसहित सरकारी एक सयवटा र निजी एक सय हात्ती रहेका छन् । 

निजी र सरकारी हात्तीमा मानिसबाटै रोग सरेको अनुमान गरिएको छ । हात्तीलाई पर्यटक घुमाउन, वनक्षेत्रमा गस्ती गर्न, वन्यजन्तु नियन्त्रणमा लिन प्रयोगमा ल्याइँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप