शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सहकारीले पछ्याउन थाले विश्व ऋणको सिद्धान्त, के हो एक्सेस र प्रोवेशन ?

बुधबार, ०७ चैत २०७४, १४ : ०५
बुधबार, ०७ चैत २०७४

काठमाडौं– ग्राहकमा देखिएका गलत धारणालाई चिर्न पछिल्लो समय सहकारीहरुले विश्व ऋण परिषदले प्रतिपादन गरेको सिद्धान्त पछ्याउन थालेका छन् ।
 

विश्व ऋणले प्रतिपादन गरेको ‘एक्सेस र प्रोवेशन सिद्धान्त’ले सहकारीलाई वित्तीय दुर्घटनाबाट बचाउँछ भन्ने  सहकारीकर्मीहरुको बुझाई छ । 

 सहकारीहरुको छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का अध्यक्ष डिबी बस्नेतले सहकारीलाई एक्सेस र प्रोवेशनमा जान प्रेरित गरेको बताए । 

उनले सहकारीहरु स्वःनियमनमा बस्नुपर्छ भनेर दर्ता भएको र सुशासन कायम राख्न तथा प्रणाली बसाउन  एक्सेस र प्रोवेशनमा जान प्रेरित गरेको बताए । 

उनले भने, ‘पहिले सहकारीले गरेको बदमासी उनीहरुले नबुझेर गरेको बदमासी थियो । एक्सेस र प्रोवेसनमा जान थालेपछि सहकारी स्वस्थ हुन्छन् ।’

 एक्सेसको अवधारणामा सहकारीले काम गर्न थालेको ६ वर्ष भयो । नेफ्स्कुनका अनुसार हाल १०० वटा सहकारी संस्था एक्सेसमा जाने तयारीका क्रममा रहेका छन् । 

जसमा  १९ वटा सँस्थाले एक्सेस पाइसकेका छन् । प्रोवेसशनमा जान भने १ सय ५० संस्थाले काम गरिरहेको बताइएको छ । 

देशभर सञ्चालित १३ हजार सहकारी मध्ये नेफ्स्कुनमा ३१ सय सहकारीहरु आवद्ध रहेको बस्नेतले जानकारी दिए ।

 एक्सेसमा गइसकेको दोलखाको मिलिजुली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठले सहकारीको वित्तीय स्थित स्वस्थ राख्न आफूहरु एक्सेस ब्राण्डिङ कार्यक्रममा सहभागी भएको बताए ।  

यो सहकारीले भदौ ५ गते  ब्रोन्ज ब्राण्ड पाएको हो । सहकारीमा राज्यको नियमन कमजोर देखिएपछि अन्र्तराष्ट्रिय सिद्धान्त पछ्याउनु परेको उनले बताए । 

  दोलखाकै अर्को सहकारी जनसचेतना बचत तथा ऋणले पनि एक्सेस ब्राण्ड पाइसकेको छ । यसले भदौ ४ गते सिल्भरस्तरको अन्तर्राष्ट्रिय एक्सेस ब्राण्ड नविकरण समेत गरिसकेका बताइएको छ । 

यता सहकारी विभागमा उपरजिष्ट्रार तथा प्रवक्ता नारायण अर्यालले एक्सेस र प्रोवेशन राज्यको नियमन कमजोर भएर ल्याएको नभइ सहकारी संस्था आफै बलियो बन्नका लागि ल्याएको प्रष्ट पारे । सहकारीहरु बलियो बन्न खोज्दा सहकारी विभागले  आपत्ति जनाउने कुनै कारण नहुने उनको भनाई छ ।   

के हो एक्सेस र प्रोवेशन ?
वित्तीय स्वस्थता कायम राख्न मद्यत गर्ने एक्सेस अन्र्तराष्ट्रिय स्तरको मापन गर्ने आधार हो । एक्सेसका वित्तीय परिवेश, सदस्य परिवेश, संस्था चल्ने तरिका र सिकाइ तथा समृद्धिको पक्ष लगायत चार परिवेश छन् । 
एक्सेसमा ८६ वटा सुचक हुन्छ भने प्रोवेशनमा ५५ वटा सुचक छन् ।  यो ब्राण्डिङको कार्यक्रम हार्भड विश्व विद्यालयबाट डिजाइन गरिएको हो । 

एक्सेसमा गएपछि एसियाका सहकारीको एसियाली ऋण महासंघले ब्राण्डिङ गर्छ । उसैले लेखा परिक्षण समेत गर्छ ।  बार्षिक ५ सय डलर लेखा परिक्षण शुल्क तिर्नुपर्छ ।  
                                                                                                                                     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप