शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अहिले पनि आफूलाई पुरानो पुस्ता भन्दिनँ :  हरिवंश आचार्यको अन्तर्वार्ता

बुधबार, ०७ चैत २०७४, १३ : १७
बुधबार, ०७ चैत २०७४

‘तँ त साह्रै बिग्रिस नि बद्री’, ‘हाँसी देउ एकफेर’ लगायत चलचित्रमार्फत दर्शक राम्रो हँसाएका वरिष्ठ कलाकार हरिवंश आचार्य फेरि ‘सत्रु गते’मार्फत ठूलो पर्दामा फर्किएका छन् । यो चलचित्र उनले १७ वर्षपछि निर्माणसमेत गरेका हुन् । ‘जात्रा’बाट निर्देशनमा डेब्यु गरेका प्रदीप भट्टराईलाई लिएर आचार्यले चलचित्र बनाएका हुन् । प्रचार प्रसार समेत राम्रो गरिएको आगामी शुक्रबारबाट प्रदर्शनमा आउने ‘सत्रुगते’मा आचार्यका अलवा दीपक राज गिरी, दीपाश्री निरौला, प्रियङ्का कार्की, पल शाह र आँचल शर्माको समेत अभिनय रहेको छ । किरण केसी प्रस्तोता रहेको यो चलचित्र दर्शकको चाहना अनुसार निर्माण भएको आचार्य दाबी गर्छन् । उनै आचार्यसँग प्रदर्शनको तयारीमा रहेको ‘सत्रुगते’ र चलचित्र निर्माणको विषयमा गरिएको कुराकानी :
 
धेरैपछि तपाईंको निर्माणमा रहेको चलचित्र ‘सत्रुगते’ प्रदर्शनमा आउँदैछ नि ?
– हो । १७ वर्षपछि महसञ्चारले ‘सत्रुगते’ निर्माण गरेको हो । यही शुक्रबारबाट प्रदर्शनमा आउने यो चलचित्र राम्रो पनि बनेको छ । हामीले बनाएको भनेर मात्र मैले यसो भनेको होइन । चलचित्र साँच्चिकै राम्रो बनेको छ । दर्शकलाई, चलचित्र हेरेर मनोरञ्जन लिनु होला भन्न चाहन्छु ।

यति धेरै समय किन ग्याप भयो ?
– हामीले ‘तँ त सारै बिग्रिस नि बद्री’ भन्ने चलचित्र पहिले बनाएका थियौँ । त्यो समय चलचित्र राम्रो भयो । त्यसपछि फेरि ‘जे भो राम्रो भो’ बन्यो । यो बनाउँदासम्म देशमा माओवादी द्वन्द्व सुरु भइसकेको थियो । त्यसपछि द्वन्द्वका कारणले दर्शक चलचित्र हेर्न हलसम्म जाने वातावरण राम्रो भएन । नेपामा चलचित्र ओरालो लागेको समय त्यही थियो । यस्तो समयमा हामीलाई पनि चलचित्र बनाउन मन लागेन । जब माओवादी द्वन्द्व समाधानतिर लाग्यो । हामीले सानोपर्दाका लागि ‘मदनबाहदुर र हरिबहादुर’ बनायौ, ‘आमा’लगायत  केही सिरियल बन्यो । यो कर्ममा करिब चार वर्ष बितायाँै ।
त्यसपछि तीन वर्ष रङ्गमञ्चतिर लाग्यौँ । विदेशमा पनि जहाँ जहाँ नेपाली बसेका छन् । त्यहाँ त्यहाँ ‘मह जात्रा’ भन्ने कार्यक्रम पुर्यायौ । देशमा पनि धेरे ठाउँमा कार्यक्रम गर्यौ । यस्तै यस्तै क्रममा हामी बिजी भएका थियौँ । फेरि चलचित्र बन्ने, दर्शक आउने युग फर्कियो । तर पनि विभिन्न कारणले हामीले चलचित्र छिट्टै गर्न सकिरहेका थिएनौँ । अहिले चाहिँ चलचित्र बनाउनु पर्छ भन्ने लाग्यो । पहिलो चलचित्र पनि किरण केसीसँग मिलेर बनाएका थियौं । अहिले पनि किरणले चलचित्र बनाउने प्रस्ताव ल्याए । हामीले सल्लाह गरेर बनाउने निणय गर्यांै ।

रङ्गकर्मबाट त कहिलै हराउनु भएन । खाली चलचित्र निर्माण नगरेको मात्र हो नि, होइन र ?
–बीचको समय फुर्सदको कारणले पनि चलचित्र निर्माण गर्न सकिएन । हामी विभिन्न एनजीओ, आईएनजीयोका कामले व्यस्त भएका थियौँ ।  सीधै भन्नुपर्दा समय मिलाउन सकिएन ।

‘सत्रुगते’ आफै निर्देशन नगरेर किन प्रदीपलाई दिनु भयो ?
– प्रदीप भट्टराई हामीसँग १३, १४ वर्षदेखि काम गरिरहेका छन् । हाम्रो इच्छा के थियो भने हाम्रो चलचित्रबाट उनले निर्देशनमा डेब्यु गरुन् । तर रङ्गमञ्चका कारणले हामी विदेश भएको समयमा उनले ‘जात्रा’ मार्फत डेब्यु गरेछन् । हामीले हाम्रो चलचित्र पनि उनलाई नै जिम्मा दियांै । उनको काम र क्षमता सबै हामीले देखेको भएकाले पनि उनलाई विश्वास गरेका हौं ।

‘मह’को पहिलेको सिरियलको तुलनमा पछिल्ला राम्रो भएनन् भन्ने गुनासा पनि आए नि ?
– त्यो पक्कै पनि हो । केही कुरा यस्ता पनि हुन् । हामीले ‘मदनबहादुर र हरिबहादुर’ ५२ भागको बनाएका थियांै ।  यसमा बोर लाग्ने खालका केही पनि थिएनन् । समा पनि एनजीओको लगानी थियो । ‘आमा’ भन्ने पनि सबैले रुचाए । केही सिरियल खाली म्यासेजलाई मात्र जोड दिएर गर्नुपर्ने हुन्छ । त्यस्ता सिरियलबाट दर्शकको गुनासो आउँछ नै । 

नेपाल टेलिभिजनले दिने पैसामा फ्री सब्जेटमा सिरियल बनाउन सकिन्न । यो सबैले बुझेको विषय हो । टेलिभिजन हो भनेर लखर लखर बनाउ भने  मानिसले मनपराउँदैनन् । दर्शकलाई टिभीमा आहोस्, कि हलमा । राम्रो हेर्ने बानी परिसकेको छ । पहिले ‘१५ गते’, ‘लालपुर्जा’ गर्दाको समय हामी अडियोको काम गथ्र्यौं । सो समय हामीलाई अडियोमा मात्र मानिसले सुन्थे । अडियोले मात्र पुगेन, मानिसले हामीलाई पनि हेरेर चिनोस् भन्ने सोचले हामी त्यतिबेला रहरले टिभीमा छिरेका थियाँै । तर रहरले सधंै काम गरेर सकिँदो रहेनछ । त्यसपछि हाम्रो प्रोफेसन नै अभिनय भएको छ । अलिकति आर्थिक जोडिदा म्यासेज भएका काम गरेका थियौँ । यस्ता चलचित्रले दर्शकमा पहिलेको जस्तो छाप छोड्न सकेन । यो हामीले पनि राम्ररी बुझेका छौं । परिस्थितिले भनौं वा हाम्रो कमजोरीले । फ्री सब्जेटमा  काम गर्न सकेनौं । यसले हामीलाई एनजीयो, आईएनजीयोको बिल्ला पनि लाग्यो । तर जे काम गरे पनि हामीले आफूमा दाग लाग्न दिएका छैनौँ । यस्ता चलचित्रमा पनि हामीले सन्देको साथसाथै मनोरञ्जनमा पनि जोड दिएका छौं ।

चलचित्र निर्माण पनि पहिलेभन्दा अहिले धेरै चेन्ज भएको छ, होइन र ?
– हो, उदारणको रूपमा विपिन कार्कीको कुरा गर्न सकिन्छ । उनीसँग नत हिरो हुने अनुहार छ । न मुखमा ग्ल्यामर । तर पनि उनी चलेका छन् । अहिले पात्रभन्दा पनि कथा हामी भएको देख्न सकिन्छ । म के भन्छु भने जुन बेला हामीले ‘१५ गते’ सिरियल बनायौं । त्यो बेलामा त्यसलाई चलचित्र मानिँदैन थियो । त्यति बेला चलचित्रमा हिरा, हिरोइन, ४ गीत र यतिकै सङ्ख्यामा फाइट पनि चाहिन्थ्यो । अहिले आएर हाम्रो ‘१५ गते, ‘लालपुर्जा’ टाइपका चलचित्र बन्न थालेका छन् । हामीले त्यतिबेला बनाएका सिरियल प्याटर्नमा अहिले चलचित्र बनिरहेका छन् । त्यतिबेला हामीले उठाएको विषयमा अहिले चलचित्र बनाउने हो भने सुपरहिट हुन्छ । यो समय समयको खेल हो । 

अहिलेको समय आफ्ना लागि अनुकूल छ भन्न खोज्नुभएको हो ?
– एकदमै हो । हाम्रो धारमा चलचित्र आइपुगेको छ । 

‘सत्रुगते’ क्याम्पमा तीन पुस्ता अटाएका छन् । चलचित्र कुन धारमा होला ?
– निर्माण टिमभित्र तीन धार भए पनि मनोरञ्जन धारमा छ । अहिले यथार्थवादी चलचित्र बन्ने ट्रेन्ड चलेको छ । तर यो प्रयोग गर्ने सफल भएका छैनन् । मानिस चलचित्र भवनमा मनोरञ्जन लिन छिर्ने हुन् । उनीहरूले यथार्थवादी चलचित्रभन्दा पनि अलिकति फर्मुला मिसिएको रमाइलो हेर्न चाहन्छन् । बलिउड अभिनेता आमिर खानको फिल्म हेर्ने हो भने पनि यथार्थवादी हुन्छन् । तर फर्मुला पनि छोडेको हुँदैन। बीचको धारमा बसेर चलचित्र बन्यो भने सफल हुन्छ । मेरो बुझाइ पनि यही हो । अर्काे कुरो चलचित्रमा करोडौं लगानी हुने भएकाले पहिलो टार्गेट भने पैसा उठाउने नै हो । चलचित्रको कलाकारको कुरा गर्दा संसारमा जो चलेका छन्, त्यही छान्ने छलन छ । हामीले पनि यही गरेका छौं । दीपक र दीपासँग चलचित्र बनाउने मात्र होइन, चलाउने पनि फर्मुला छ । यो टिमसँग सहकार्य गर्दा व्यावसायिक रूपमा पनि पछि परिँदैन भन्ने लागेर सहकार्य गरेका हांै ।

यो हाँस्य चलचित्र हो त ?
– होइन, चलचित्रमा हसाउँनका लागि त्यस्ता केही टुक्रा जोडिएका छैनन् । यो सिचुएसन कमेडीले भरिएको चलचित्र । यसले दर्शकलाई पछिसम्म बाँधेर राख्न सक्छ । निर्देशकलगायत हामी सबैले यसैमा जोड दिएका छौं ।
 

लागतको कुरा गर्न मिल्छ ?
– चलचित्रका निर्देशकदेखि हामी जति पनि टिम छौं, त्यसको मूल्य तोकिएको  छैन । चलचित्रको नाफा हाम्रो मूल्य हो । नगद लगानीको कुरो गर्ने हो भने अहिलेसम्म १ करोड ६० लाख खर्च भएको छ । यसमा ठूलो टिम छ । काठमाडौं बाहिर पनि सुटिङ भएको छ । चलचित्र हेर्दा यो लगानी धेरै लाग्दैन । 

पहिलेभन्दा अहिले मेकिङमा भिन्नता छ कि छैन ?
– धेरै भिन्न छ । प्रविधिका हिसाबले अहिले धेरै फड्को मारेको छ । डिजिटल प्रविधिको विकासले चलचित्र खिच्ने उपकरणदेखि लाइटिङसम्म धेरै परिवर्तन आएका छन् । यसले चलचित्र राम्रो देखाउन पनि मद्दत गरिरहेको छ । प्रविधिका कारणले पहिले चलचित्र पर्दामा राम्रो देखिँदैन थियो । अहिले जस्ताको तस्तै हेर्न मिल्छ । हलको क्वालिटी र प्रविधि पनि दर्शकले रुचाउने खालका छन् । पैसा अनुसारको सुविधा लिँदै अहिले चलचित्र हेर्न पाइन्छ ।

अहिलेका पुस्तासँग काम गर्दा असमझदारी पैदा भयो कि भएन ?
– त्यस्तो केही भएन किनभने हामी जोसँग पनि एड्जस्ट हुन सक्छौं । हाम्रो टिम लिडर प्रदीप हामीसँग धेरै वर्ष काम गरिसकेको व्यक्ति हो । सहज नै भयो । अर्काे कुरो के भने, हामी पहिलो पुस्ता भनेर प्रिजर्भ भएर बस्ने, योङसँग कुरा गर्दा सपोर्ट नगर्ने भए पो नयाँ पुस्तालाई अप्ठ्यारो पथ्र्यो । मलाई त सबै साथी जस्तै लाग्छ । हामी सिनियरले यस्तै व्यवहार गरेका थियौँ । त्यसले अरूलाई पनि केही अप्ठ्यारो भएन होला । आँचल र पललाई हामी, जिस्काइ रहन्थ्यौं । युनिटबीच हाँसखेल चलिरहन्थ्यो । म आफूलाई अहिले पनि पुरानो पुस्ता भन्दिनँ किनभने म सबै विषयमा अपडेट छु ।

चलचित्रको रिलिजमा कठिन छ भन्ने गरिन्छ नि ?
– पहिले राम्रो हल पाउन निकै गाह्रो थियो । त्यति बेला विश्वज्योति हल राम्रो मानिन्थ्यो । त्यो हलको पर्खालभरी निर्माता बसेको देखिन्थ्यो । त्यसरी बस्दा म्यानेजरको दर्शन भयो भने हल पाइन्छ भन्ने थियो । त्यो बेलामा चलचित्र रिलिज भनेर एउटा पत्रिकामा छापेर, रेडियो र टिभीमा सानो बजाए पुग्थ्यो । दर्शक थामिन नसक्नु हुन्थ्यो । विज्ञापन पनि पुग्थ्यो । अहिले चलचित्रका लागि हल पाउन गाह्रो छैन तर अनगन्ती मिडिया च्यानलले गर्दा मानिहरूको ध्यान फरक फरकतिर मोडिएको छ । अहिले चलचित्रको प्रचार गर्न थोरैमा पनि ३० च्यानल समात्नु पर्छ । सबैलाई ब्यालेन्स पनि गर्नुपर्ने चुनौती छ । अहिले चलचित्रको प्रचारप्रसार झनझन गाह्रो हुँदै गइरहेको छ भने खर्चिलो पनि छ । 

प्रचारका लागि मोफसल टुर पनि गर्नुभयो । दर्शकले कतिको चासो देखाए ?
– अनलाइन, टिभी लगायत विभिन्न मिडियाको कारणले सबैले ‘गत्रुगते’को बारेमा थाहा पाएका रहेछन् । चलचित्र कहिले आउँछ । भन्ने कौतुहलता पनि देखियो । उहाँहरूले धेरै अपेक्षा पनि गर्नुभएको रहेन छ । मैले चलचित्रसँग धेरै अपेक्षा नगर्नुस् । राम्रो बनेको छ । हेर्नुस् भने । कुनै कुरामा धेरै महत्वकाङ्क्षा राख्यो भने म्याच नगर्ला । पहिले प्रमोसन टुरको चलन थिएन । मिडिया धेरै थिएनन् । जहाँ पुग्यो त्यहीका मानिसले मात्र थाहा पाउँथे । अहिले जहाँ टुर गरे पनि मिडियाको कारणले देश तथा विदेशकाले समेत थाहा पाउँछन् । यसले गर्दा विदेशका केही सोसमेत थपिएका छन् । 

प्रमोसन टुरले चलचित्र राम्रो हुँदैन भन्ने निर्माता पनि छन् नि ?
–प्रमोसन टुरले मात्र चलचित्र राम्रो हुँदैन । 

व्यवसाय कस्तो हुन्छ भन्ने आस गर्नुभएको छ ?
–धेरै आस त गरेको छैन । राम्रो हुन्छ भन्ने लागेको छ । हामीले चलचित्र हेर्दा राम्रो बनेको पाएका छांै । व्यवसाय राम्रो हुन्छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप