बोर्डिङ स्कुल सञ्चालनका लागि छापडाँडामा बेकरी
खोटाङ–मकैभटमास, कोदो, फापरको रोटी, चाउचाउ, थुक्पालगायतका खाजा खाएर वाक्क हुनुहुन्छ ? त्यसो हो भने आजी बेकरी जानुहोस् । जहाँ विभिन्नप्रकारका बेकरी खान पाइन्छ । हलेसी–तुवाचुङ नगरपालिका–५ दुर्छिम छापडाँडा खोटाङमा रहेको बेकरीमा पाउरोटी, पाँचप्रकारका केकअन्तर्गत सिना मनरोल, क्रोसेन्ट, क्रिमरोल, बनाना ब्रेड, पेस्ट्रीमात्रै होइन, पिज्जा, बर्गर, बन, पफसमेत पाइन्छ ।
‘त्यतिमात्रै होइन,’ बेकरीमा कार्यरत हितेश राई (१७) ले सुनाए, ‘ह्याप्पी बर्थ डे केक पनि बनाइन्छ । एक पाउन्डको ह्याप्पी बर्थ डे केकलाई ७ सय ५० रुपैयाँ पर्छ । ग्राहकको अर्डरअनुसार अन्य आइटम पनि बनाइन्छ ।’
संवत् २०७४ माघ १ देखि सुरु भएको बेकरीमा राईले रोजगारी पाएका छन् । काठमाडौंमा दुई महिना सिकेको सीपले उनलाई रोजगारी दिएको हो । उनले थपे, ‘गाउँमै रोजगारी पाउँदा कम्ती खुसी लागेको छैन ।’
बेकरी सञ्चालनमा आएपछि युमी बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थी र अध्यापनरत शिक्षक तथा कर्मचारी त्यत्तिकै लाभान्वित छन् । बोर्डिङमा अध्ययनरत विद्यार्थीका अभिभावकलाई त्यत्तिकै सजिलो भएको छ । ‘विद्यार्थीले स्वस्थ खाजा खान पाऊन् भनेरै बेकरी स्थापना गरेका हौं,’ युमी बोर्डिङ स्कुलसम्बद्ध सरस्वती राईले सुनाइन्, ‘बोर्डिङमा विद्यार्थी, शिक्षक र अन्य कर्मचारी गरी १ सय ९५ जनाजति छौं । सबैलाई बेकरीका आइटम नै खाजा खुवाइन्छ । बेकरी मन नपराउने विद्यार्थीले मात्रै घरबाट टिफिन ल्याउँछन् ।’
‘युमी बोर्डिङ स्कुल सञ्चालनका लागि सहयोग होला कि भनेर पनि बेकरी सुरु गरिएको हो,’ बेकरी स्थापनाको अर्को उद्देश्यबारे राईले थपिन्, ‘स्वस्थ खाजा खाँदा विद्यार्थी पनि स्वस्थ रहन सक्छन् । सधैं एकैप्रकारका खाजा खाँदै आएका विद्यार्थीले भिन्न स्वादका खाजा खान पाएका छन् ।’
‘छोराछोरीलाई बोर्डिङ पढाउने गाउँका आमअभिभावकको चाहना युमी बोर्डिङ स्कुलले पूरा गरेको छ,’ शिक्षा मन्त्रालयमा कार्यरत शाखा अधिकृत भूपेन्द्रकुमार राईले प्रशंसा गरे, ‘गाउँका निम्नस्तरका किसानले आफ्ना छोराछोरीलाई खाजा तयार पारेर बोर्डिङ पठाउन भ्याउँदैनन् । त्यस्ता अभिभावकका विद्यार्थीले भोकै पढ्नुपर्ने बाध्यता थियो । त्यस्तो अवस्था अन्त्य गर्दै युमीले तत्कालका लागि घाटामै भए पनि बेकरी सञ्चालनमा ल्याएको छ । यस्तो उदाहरणीय कामको समुन्नत गाउँ हेर्न चाहने हामी सबैले खुला हृदयले सक्दो सहयोग गरौं । नत्र प्रसंशामात्रै गर्न सके लाख हुनेछ ।’
गाउँठाउँमा पाउरोटी, केक, पिज्जा बर्गर र पफ पाइएपछि एउटै खाजा खाइरहेकाले समेत स्वाद फेर्न पाएका छन् । सहर–बजारमा खान पाइने बेकरी घरछेउमा पाइएपछि स्थानीय डिकमान राउत त्यत्तिकै हर्षित छन् । बेकरीआसपासमै दुर्छिम उच्चमाध्यमिक विद्यालय र हलेसी–तुवाचुङ नगरपालिका कार्यालय रहेका छन् । दुर्छिम उमावि र नगरपालिकामा कार्यरत कर्मचारीले बेकरी खान रहर गरे दुई मिनेटमै पुग्न सक्छन् ।
यही बाटो भएर हलेसीलगायत खोटाङको हलेसी, दिक्तेल र भोजपुर जाँदै गरेका यात्रुले यहाँ बेकरी रहेछ भनेर थाहा पाइहाल्छन् । मुख्य सडकमै रहेकाले बेकरीको सुगन्ध आइहाल्छ । सुगन्धले तानेपछि एकछिन बिसाएर बेकरी खाऔं न त भन्नेहरू पनि नभएका होइनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यकुमारीको बारीमा फल्यो एउटै लौका १६ किलोको
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि १० जना सर्टलिष्टमा
-
पूँजीगत खर्च शत–प्रतिशत सुनिश्चित गर्न मन्त्री यादवद्वारा निर्देशन
-
मन्त्रिपरिषद बैठक : अर्थ मन्त्रालयको सचिव परिवर्तन
-
१० बजे १० समाचार : प्रधानमन्त्रीलाई पदमुक्त गर्न मागसहित मुद्दादेखि संसदमा ‘जनयुद्ध जिन्दावाद’को नारासम्म
-
आहा रारा पोखरा गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा