शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

किशोरीमाथि १३ दिनसम्म सामूहिक बलात्कार

बुधबार, ०७ चैत २०७४, ०६ : ५३
बुधबार, ०७ चैत २०७४

काठमाडौं - मानिसक अपाङ्गता भएको १५ वर्षीया किशोरीमाथि समूहिक बलात्कार भएको छ । आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

कीर्तिपुरकी ती किशोरीलाई बसका चालक र सहचालकले १३ दिनसम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको खुलेको हो ।

प्रहरीले घटनामा संलग्न भएको अभियोगमा चारजनालाई पक्राउ गरेको छ। अन्य अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार किशोरीलाई दुई समूहले सामूहिक बलात्कार गरेका हुन् । घटनामा सातजना भन्दा बढी संलग्न थिए ।

'किशोरीमाथि सामूहिक बलात्कार भएको छ । घटनामा संलग्न चारजनालाई पक्राउ गरिएको छ । बाँकीको खोजी भइरहेको छ । घटनाको विवरण अहिले गोप्य राखिएको छ' महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले भने । 

परिसरका डिएसपी मोहन थापाले किशोरीलाई बसका चालक, सहचालकसहितका छुट्टाछुट्टै दुई समूहले सामूहिक बलात्कार गरेको बताए । 

यसरी भयो घटना
अनुसन्धानमा खटिएका प्रहरीका अनुसार किशोरी १५ फागुनमा कीर्तिपुरबाट बल्खुका लागि सार्वजनिक बस चढेकी थिइन् । तर, उनी बल्खु झरिनन् । बसमै चढेर ललितपुरको हरिसिद्धि गइन् । त्यसवेलासम्म बसबाट सबै यात्रु ओर्लिसकेका थिए । बसको पछाडिको सिटमा उनी एक्लै रहेको देखेपछि सहचालकले समाते । फकाउँदै गोदावरीस्थित कोठामा लगे । बेलुकाको खाना बसका चालक र सहचालकले नै खुवाए । उनीहरूले मादक पदार्थ सेवन गरे । अनि पालैपालो बलात्कार गरे ।

एक हप्ताभन्दा बढी समय उनीहरूले किशोरीलाई त्यही कोठामा बन्धक बनाए । एक दिन किशोरी भागिन्, तर बसका सहचालकले उनलाई बाटैमा फेला पारे । पुनः समातेर अर्को समूहको जिम्मा लगाइदिए । अर्को समूहमा रहेकाहरूले पनि किशोरीलाई आफ्नो कोठामा पु¥याएर पालैपालो बलात्कार गरे । प्रहरीका अनुसार २९ फागुनमा उनीहरूले किशोरीलाई स्वयम्भूमा लगेर छाडिदिए । त्यसपछि उनी घर पुगिन् ।

घटना विवरण बुझेपछि किशोरीका परिवारले प्रहरी परिसर काठमाडौंमा जबर्जस्ती करणीको मुद्दा हाले । त्यसपछि चार अभियुक्त पक्राउ परे । बाँकीको खोजी भइरहेको प्रहरीले जनाएको छ । परिसरका डिएसपी थापाले भने, ‘पक्राउ परेका अभियुक्तबारे अहिले केही खुलाइएको छैन । घटना अनुसन्धानकै क्रममा रहेकाले विवरण नखुलाइएको हो । घटनामा संलग्न सबै अभियुक्त पक्राउपछि उनीहरूलाई सार्वजनिक गरिनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप