शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतीय राजदूत किन यति धेरै दौडधूप गरिरहेका छन् ?

मङ्गलबार, ०६ चैत २०७४, १६ : ४७
मङ्गलबार, ०६ चैत २०७४

काठमाडौं–कुनै देशका राजदूतले एकै दिन चार जना मन्त्री भेटछन् भन्दा पत्ताउनै गाह्रो हुन्छ ।

तर, भारतीय राजदूतले यसो गर्न सक्छन् ।

भारतीय राजदूत मन्जिभ सिंह पुरी चैत ५ गते एकैदिन चार मन्त्री भेटेका छन् । उनले त्यसै दिन उपराष्ट्रपति पनि भेटेका छन् । यी सबैसँग भेटनुको कारण थियो, ‘बधाई तथा शुभकामना दिनु ।’

मन्जिभ सिंह पुरीले हिजो भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, सँस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारी, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र उपराष्ट्रपति नन्दबहादुर पुनलाई छुट्टा छुट्टै उनीहरुको कार्यकक्षमा गएर भेटेका थिए ।

केपी ओली नेतृत्वको बामगठबन्धनको सरकारलगत्तै भारतीय राजदूत पुरीको सक्रियता बढेको थियो । अझ पाकिस्तानी प्रधानमन्त्री शाहिद खाकन अब्बासीको नेपाल भ्रमणपछि भारतीय राजदूत पुरी झन् सक्रिए भए ।

स्रोत भन्छ, ‘अब्बासी भ्रमणको प्रभावलाई कम गर्ने भारतीय चासो अनुसार राजदूत पुरीको सक्रियता बढेको हो ।’ अब्बासी भ्रमणलाई लिएर भारतीय चासो थियो । अब्वासी फागुन २१ गते काठमाडौं आएका थिए ।

भारतीय राजदूत पुरी प्रधानमन्त्री तथा मन्त्रीलाई बधाई तथा शुभकामना दिने नाममा नेताको घर–घर तथा कार्यालय पुगेका छन् ।

पाकिस्तानी प्रधानमन्त्री नेपाल आउनुभन्दा पहिले पुरीले प्रधानमन्त्री ओलीलाई चार पटक भेटिसकेका थिए ।

ओली प्रधानमन्त्री नहुँदै पुरीले फागुन १ गते सिंहदरवारमा ओलीसँग भेट गरेका थिए ।

ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि मध्यराती उनकै निवासमा गएर पुरीले ओलीसँग भेट गरेका थिए । बाहाना थियो–प्रधानमन्त्री भएकोमा बधाई । ओली फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

फागुन ११ गते पनि राजदूत पुरीले प्रधानमन्त्री ओलीसँग भेटे गरे । बहाना थियो–प्रधानमन्त्री ओलीको जन्मदिन ।

त्यसपछि उनले फागुन १७ गते प्रधानमन्त्री निवास बालुवाटारमा ओलीसँग भेट गरे । बहाना–थियो होली ।

पाकिस्तानी प्रधानमन्त्री आउनुपूर्व उनले प्रधानमन्त्री ओलीलाई मात्र होइन, विभिन्न राजनीतिक दलका नेतालाई भेटेर भ्रमण स्थगित गराउने प्रयास गरेको स्रोतको दावी छ ।

तर, पाकिस्तानी प्रधानमन्त्री अब्बासी फागुन २१ गते आएर २२ गते फर्के ।

उनी फर्के लगतै भारतीय राजदूत पुरी पुनः सक्रिय भए ।

दोस्रो चरणको मन्त्रीपरिषद् विस्तार हुने वित्तिकै उनी मन्त्रीको कार्यकक्षसम्म पुगेरै बधाई दिइरहेका छन् ।

अहिलेसम्म उनले अधिकास मन्त्रीलाई बधाई दिईसकेका छन् ।

बधाई दिनेक्रममा उनी मन्त्रीहरुसँग घण्टौँ कुरा गर्ने गरेको मन्त्रीका स्वकीय सचिवालयले बताउने गरेका छन् ।

तर, यस्ता भेटमा भएका कुराकानी भने बाहिर कमैमात्र आउने गरेका छन् ।

कुटनीतिक मर्यादा विपरित राजदूतसँग भेट गरेको भनेर मन्त्रीहरुको पनि आलोचना हुँदै आएको छ ।

फागुन २९ गते एकैदिन राजदूत पुरीले रक्षामन्त्री इश्वर पोखरेल र अर्थमन्त्री डा.युवराज खतिवडालाई छुट्टा–छुट्टै भेटे गरेका थिए । यहाँ पनि बहाना थियो–नव नियुक्ति मन्त्रीलाई बधाई ।

रक्षामन्त्री पोखरेलसँगको भेटमा सैनिक सहयोगका विषयमा कुराकानी भएको बताइएको थियो ।

अर्थमन्त्री खतिवडासँगको भेटमा नेपालको विकासका भारत सहकार्य गर्न तयार रहेको कुरा बाहिर आएको थियो ।

रक्षामन्त्रीलाई भेटेको दुईदिन पछि राजदूत पुरी चितवन गएर नेपाली सेनालाई घोडाघोडी सहयोग गरेका थिए ।  फागुन २४ गते भूकम्प पीडितका लागि सहयोग गर्ने घोषणा गरेका थिए ।

त्यसअघि प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङलाई भेटेर विकास कार्यमा सहयोग गर्ने आश्वसन दिए । र, भेटको बाहना थियो–मुख्यमन्त्री भएकोमा शुभकामना ।

भेटको कारण

वाम गठबन्धन सरकार निर्माणमा चिनियाँ प्रभाव रहेको आशंका गरिरहेको छ ।

वाम गठबन्धनको बहुमत आउने वित्तिकै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई दुई फोन गरेका थिए ।
फोनपछि उनले आफ्नो विशेषदूतको रुपमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई नेपाल पठाएका थिए ।

उनी नेपाल आएर एमालेका अध्यक्ष केपी शर्मा ओली (प्रधानमन्त्री बन्नुभन्दा पहिले) लाई विशेष महत्व दिएर भेटेका थिए । वाम गठबन्धन सरकारसँग भारत सरकार सहकार्य गर्न आतुर रहेको बताएकी थिइन् ।
उनले राष्ट्रिय जनता पार्टी नेपाललाई समेत बोलाएर वाम गठबन्धन सरकारलाई सहयोग गर्न सुझाव दिएकी थिइन् ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई भेटेर पनि त्यही सुझाव दिएकी थिइन् ।

यतिसम्म गर्नुमा भारतको कुटनीतिक अर्थ लुकेको देखिन्छ ।

कुटनीतिक मामलाका जानकारहरु भन्छन्, ‘चिनियाँ प्रभावलाई कम गर्ने रणनीतिसहित यी सवै भएका छन् ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणका लागि आतुर रहेको पनि बताइएको छ । प्रधानमन्त्री हुनुभन्दा पहिले र भइसकेपछि पनि भारतीय प्रधानमन्त्री मोदीले ओलीलाई भारत भ्रमणको निम्तो दिएका थिए । तर, यसपटक ओली भारत वा चीन भ्रमणको कुनै हतारोमा देखिएका छैनन् ।

बरु ओली प्रधानमन्त्री भएपछि पाकिस्तानी प्रधानमन्त्री अब्बासीको नेपाल भ्रमण भयो । उनी अझै भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपतिलाई नेपालको भ्रमण गराएर मात्र अरु देशको भ्रमणमा जाने सोचमा छन् ।

पाकिस्तानी प्रधानमन्त्री भ्रमणको सन्देश
पाकिस्तानी प्रधानमन्त्री अब्बासीको भ्रमणलाई कुटनीतिक क्षेत्रका विज्ञहरुलाई चीनसँग जोडेर हेर्ने गरेका छन् । कतिपयले भन्छन्, ‘पाकिस्तानी प्रधानमन्त्री अब्बासी चिनियाँ चासोसहित नेपालको भ्रमण गरेका हुन् । जसले कुटनीतिक क्षेत्रमा यसले ठूलो अर्थ राख्छ ।’ तर, त्यसको प्रभाव नेपालमा कम होस् भन्नेमा भारत सचेत देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप