मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

रोगबाट बच्न मुखको सफाइ

मङ्गलबार, ०६ चैत २०७४, १५ : ४२
मङ्गलबार, ०६ चैत २०७४

डा. अमित खनाल कन्सलट्यान्ट, ओरल म्याग्जिलोफेसियल सर्जन

मंगलबार विश्व मुख स्वास्थ्य दिवस हो । हामीले खाने खाना र मुखको सरसफाइले नै हामीलाई रोग लाग्ने/नलाग्ने कुरामा ठूलो भूमिका खेलेको हुन्छ । मुख स्वस्थ नभएको अवस्थामा दाँतमा पनि असर पुग्छ । जसका माध्यमबाट शरीरमा रोग प्रवेश गर्छ ।

हाम्रो शरीरलाई चाहिने पोषण खानाबाट प्राप्त हुन्छ । उक्त खाना मुखबाटै पेटमा प्रवेश गर्छ । खानालाई दाँतले चपाउँछ र पाचन प्रक्रियालाई सहज बनाउँछ ।

मुख शरीरको मुख्य द्वार भएकाले फोहोर भइरहन्छ । त्यसैले स्वस्थ रहन दाँत र मुखको नियमित सफाइ गर्नुपर्छ । र, तीन–तीन महिनाको अवधिमा दाँतको नियमित परीक्षण गर्नुपर्छ ।

हामीले खाने खाना दाँतमा अड्किन्छ र त्यसलाई कीटाणुले खाएपछि निस्किने अम्लले दाँतको कडा भागलाई कमजोर बनाइदिन्छ । त्यसैले खानापछि दाँत माझिहाल्नुपर्छ ।

 

दाँत दुखेको छ भने समयमै उपचार गराउनुपर्छ । यसरी उपचार गराउँदा दाँतको दुखाइबाट मात्र बच्ने नभएर मुख गनाउने समस्याबाट पनि टाढा रहन सकिन्छ ।

 

दाँत सफा गर्दा कमजोर हुन्छ, हल्लिन्छ भन्ने भ्रम छ । तर, त्यसो नभएर सफा गर्दा जमेका फोहोर बाहिर निस्कन्छ । जसले दाँत थप कमजोर हुनबाट बचाउँछ ।

बच्चाको दूधे दाँत पनि स्थायी दाँतजस्तै महत्वपूर्ण हुन्छ । यस्ता दाँतले पछि आउने स्थायी दाँतको ठाउँसमेत निर्धारण गर्छ । अतः स्थायी दाँत उम्रने समय नआएसम्म दूधे दाँतलाई बचाउन सके राम्रो हुन्छ । यदि दाँत पहिल्यै झरेमा स्थायी दाँत समयभन्दा ढिलो आउने र नमिलेको उम्रन सक्छ ।

नयाँ पत्रिकाबाट
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप