मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

यसकारण शाकाहारी भोजन उत्तम

मङ्गलबार, ०६ चैत २०७४, १५ : ३४
मङ्गलबार, ०६ चैत २०७४

डा. ओममूर्ति अनिल

यस विषयमा धार्मिक दृष्टिले बहस हुन सक्छ । तर, स्वास्थ्य र वैज्ञानिक दृष्टिले भने त्यति ठूलो बहस छैन । विभिन्न अनुसन्धानले पत्ता लगाइसकेको कुरा के हो भने मांसाहारीभन्दा कैयौँ गुणा बढी शाकाहारी भोजन फाइदाजनक हुन्छ र शाकाहारीको आयु पनि लामो हुन्छ ।

मासुले के गर्छ ?
मांसाहारीको तौल बढी हुन्छ । जसले गर्दा मधुमेह, उच्च रक्तचाप, बढी कोलेस्ट्रोलजस्ता रोग लाग्ने गर्छ । मांसाहारी मानिसलाई आन्द्रालगायत अरू क्यान्सरको पनि उच्च जोखिम हुन्छ ।

मांसाहारीलाई मुटुरोगको सम्भावना पनि बढी हुन्छ ।

वैज्ञानिक रूपमा हेर्दा मांसाहारमा कार्बोहाइड्रेट कम हुन्छ । प्रोटिन र मिनरल्सको मात्रा बढी हुन्छ । यी दुवै फाइदाजनक छ । तर, हुर्कंदै गरेका कुपोषित बच्चाहरूका लागि मात्र यस्तो कुरा महत्वपूर्ण हुन्छ । स्वस्थ व्यक्तिका लागि भने मासु खानु फाइदाजनक छैन । किनकि, यसमा बोसोको मात्रा हुन्छ । जसले रगतमा कोलेस्ट्रोलको मात्रा बढाउँछ ।

अहिलेको अवस्थामा शरीरलाई फाइबरको आवश्यकता निकै बढी हुन्छ । यसले कोलेस्ट्रोल घटाउने काम गर्छ । तर, फाइबर मासुबाट पाइँदैन ।

एउटा मात्र कुरा के भने मासुमा भिटामिन बी–१२ को मात्रा हुन्छ । जुन शाकाहारीबाट पाइँदैन । यो तत्वले नसासम्बन्धी समस्या निम्त्याउँछ । तर, सबै शाकाहारी भोजनमा भिटामिन बी–१२ हुँदैन भन्नेचाहिँ होइन ।

मांसाहारीमा ओभर न्युट्रिसनको समस्या हुन्छ, जसले दूरगामी असर पार्छ । त्यसैले हामीले स्वाद र स्वास्थ्यलाई सन्तुलनमा राखेर खानु जरुरी हुन्छ ।

मसु कसरी खाने ?
आफ्नो शरीरको अवस्था के छ र मासुबाट के–के तत्व पाइन्छ भन्ने कुरालाई ध्यानमा राखेर मासुको प्रयोग गर्नुपर्छ । मासु आफैँमा हानिकारक भए तापनि धेरैले अत्यधिक प्रयोग गरिरहेका हुन्छन् । यदि खाइहाल्ने हो भने हप्तामा एक दिनभन्दा बढी खानु राम्रो होइन । र, त्यसको परिमाणमा पनि ध्यान दिन जरुरी हुन्छ ।

मासु किन्दा यसको क्वालिटीको विषयमा विशेष ध्यान दिनुपर्छ । एकदमै कम बोसो भएको मासु मात्र प्रयोग गर्नुपर्छ ।

मासु लिएपछि पकाउने कुरामा पनि विशेष ध्यान दिन जरुरी छ । नत्र शरीरलाई हानि पु¥याउँछ । ग्रिल, बेकिङ गरेर र माइक्रो ओभनमा पकाउँदा फ्राई हुन्छ र असर पनि कम गर्छ । मासुमा प्रयोग गर्ने तेलको मात्रालाई पनि विशेष ध्यान दिनुपर्छ । मासु आफैँमा बोसो हुने भएकाले राखेको थप तेलले असर गर्छ ।

कहिल्यै पनि मासु मात्र प्रयोग गर्नुहुँदैन । त्यसको साथमा फाइबरयुक्त सलाद, सागलगायतको पनि सँगै प्रयोग गर्न जरुरी हुन्छ ।

सकेसम्म रेस्टुरेन्टमा तयार पारेको मासुको प्रयोग गर्नुहुँदैन । रेस्टुरेन्टमा पाकेका खाना स्वस्थभन्दा पनि स्वाद र कस्टलाई ध्यानमा राखेर तयार पारिएको हुन्छ । जसले नराम्रो असर पु-याउँछ ।

रेड मिटको प्रयोग गर्नुहुँदैन । यदि गर्ने नै मन भए महिनामा एकपटक वा निकै कम प्रयोग गर्नुपर्छ । खसी, राँगालगायतमा रेड मिट हुन्छ र यसमा स्याचुरेटेड फ्याटको मात्रा बढी हुन्छ ।

धेरैलाई लाग्छ कि चिकेन ह्वाइट मिट हो र यसले कोलेस्ट्रोल बढाउँदैन, जुन गलत हो । यसमा पनि फ्याट हुन्छ ।

अन्डाको पहेँलो भागमा अत्यधिक कोलेस्ट्रोलको मात्रा हुन्छ । त्यसैले यसको पनि बढी प्रयोग गर्नुहुँदैन ।

माछाबाट अनस्याचुरेटेड फ्याट पाइन्छ, जसले मुटु र मोटोपनमा असर गर्दैन । यसले कोलेस्ट्रोलको मात्रालाई पनि नियन्त्रण गर्न मद्दत गर्छ । तर, यसलाई डिप फ्राई गरेर प्रयोग गर्दा भने यसको अनस्याचुरेटेड फ्याट नष्ट हुन्छ र स्वास्थ्यमा असर पु-याउँछ ।

डिप फ्रिजमा राखिएको ससेस, मःमजस्ता प्रोसेस्ड मिट खानेको संख्या पनि ठूलो छ, जुन स्वास्थ्यका लागि अत्यन्तै हानिकारक छ । उच्च रक्तचाप, मधुमेहका रोगीले मासुको प्रयोग नै नगर्दा राम्रो ।

र, यो पनि
रुसोले भनेका छन्, ‘गो ब्याक टु नेचर’ । जब हामीले प्रकृतिलाई फलो गर्छाैं, शाकाहारी खान्छौँ, तब हाम्रो स्वास्थ्य राम्रो पोजिसनमा रहन्छ । संसारमा सबैभन्दा शक्तिशाली जनावरको रूपमा हात्तीलाई लिइन्छ । र, हात्ती पूर्ण रूपमा शाकाहारी हो । यो बुझ्नुभयो भने तपाईं पक्कै पनि शाकाहारी बन्नुहुन्छ ।

नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप