शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वराजा ज्ञानेन्द्रसँगका ती तीन घण्टा !

मङ्गलबार, ०६ चैत २०७४, १३ : ३९
मङ्गलबार, ०६ चैत २०७४

काठमाडौं– ‘राप्रपा तीन फ्याक भयो । चुनावमा पनि लज्जास्पद हार खायो । अब कसरी पार्टी चलाउने विचार गर्नुभएको छ ?’

यो कुनै पत्रकारको प्रश्न थिएन ।

यो प्रश्न पूर्वराजा ज्ञानेन्द्र शाहको प्रश्न थियो । 

यसैमा उनले जोडेका थिए, ‘तपार्ईंहरू प्रायः सबै युवा पुस्ताका नेता हुनुहुन्छ । यसैगरी पार्टी चलाउने हो या अरू विकल्प केही सोच्नुभएको छ भनेर मैले तपार्ईंहरूको कुरा सुन्न बोलाएको हुँ ।’

पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार साँझ झापाको दमकस्थित आफ्नै लगानीमा रहेको चिया बगानमा तीन पार्टीका दोस्रो तहका नेतासँग यिनै विषयमा आफ्नो कुराकानी सुरु गरेका थिए ।

यतिमा मात्र शाह रोकिएन् । पूर्वराजा शाहले ‘यस्तै अवस्थामा पार्टी चलाउनु र नचलाउनुमा के फरक पर्छ ? तपाईंहरूले खुलस्त आफ्ना कुरा राख्न सक्नुहुन्छ’ पनि भने ।

शाहले सबै नेताहरूलाई ‘तपार्ईं’ भनेर सम्बोधन गरे ।

सहभागी एक नेताका अनुसार उक्त भेट एक किसिमको राप्रपाको समीक्षा बैठक जस्तै लाग्थ्यो र बैठकको अध्यक्षता पूर्व राजाले नै गरेका थिए ।

‘भेटको सबै समय राप्रपा केन्द्रित कुराकानी भए, उहाँ (पूर्व राजा शाह) ले तीनवटै राप्रपा पार्टीका नेताहरूसँग खुलस्त कुरा गर्नुभयो । पालैपालो बोल्न भनिएअनुसार हामीले त्यसैगरी आआफ्ना धारणा राख्यौँ’, भेटमा सहभागी राप्रपा प्रजातान्त्रिकका नेता सुरेश आचार्यले पूर्वराजाको भनाइ उद्धृत गर्दै रातोपार्टीसँग भने, ‘हामी सबै पार्टीप्रति समान व्यवहार गर्छौं, तर राप्रपा हामीसँग अलि नजिक भएको पार्टी भनेर यसबारे बुझ्न खोजेका हौँ । राप्रपा फुट्दा र चुनावमा हार्दा धेरै दुःख लागेको छ ।’

झण्डै तीन सातादेखि पूर्वी नेपालको झापमा बसेका पूर्वराजा ज्ञानेन्द्र शाहले नेताहरूलाई के भन्न बोलाएको भन्ने कसैलाई थाहा थिएन ।

नागरिकको हैसियतामा रहेका शाहको लामो भ्रमण र यही क्रममा भएको राजनीतिक भेटघाटलाई लिएर विभिन्न अड्कलबाजीसमेत हुन थालेका छन् । कतिपयले यसलाई पूर्वराजाको अस्वाभाविक गतिविधि पनि भनेका छन् । तर भेटघाटमा संलग्नहरूले पूर्वराजाको भ्रमण र भेटघाटलाई स्वभाविक भन्दै पूर्वराजा शाहले राजनीतिक गतिविधि बढाउन कुनै निर्देशन या आग्रह नगरेको दाबी गरेका छन् ।

पूर्वराजा शाह गत फागुन २० गते झापा गएका हुन् । आफू झापामै भएका बेला पूर्वराजा शाहले पूर्वपञ्चहरूको पार्टी भनेर चिनिने राप्रपा, राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रवादीका नेता तथा केही दरबार निकटका व्यक्तिलाई झापामै बोलाएर मुलुकप्रति चिन्ता र चासो प्रकट गरेका छन् ।

युवा नेताहरूसँग यस्तो भेट पूर्वराजा शाहले दुर्लभै गर्ने गर्छन् ।

किन भेटे दोस्रो तहका नेता ?

आफूसँग भेट गर्न पूर्वराजा शाहले राप्रपा, राप्रपा प्रजातान्त्रिक र एकीकृत राष्ट्रवादीका दोस्रो तहका नेतालाई झापामै बोलाएका थिए ।

जबकि त्यसका लागि राप्रपाका अध्यक्ष कमल थापा, राप्रपा प्रजातान्त्रिकका पशुपति शमशेर राणा, एकीकृत राष्ट्रवादीका डा. प्रकाशचन्द्र लोहनीलाई नभेटेर दोस्रो तहका नौ जना नेतालाई आइतबार साँझ झण्डै तीन घण्टा भेट दिए ।

पार्टी फुट र हारमा चिन्ता

त्यसक्रममा पूर्वराजा शाहले राप्रपाको फुट र निर्वाचनमा बेहोरेको हारका बारेमा बढी चिन्ता र चासो प्रकट गरेका थिए ।

भेटमा संलग्नमध्ये राप्रपाका नेता राजाराम श्रेष्ठले भेटमा आफूले पूर्वराजाले राष्ट्रियता र राष्ट्रिय एकताको भावना बढाउनुपर्ने आशय व्यक्त गरेको बताए । ‘राजामा मुलुकको बारेमा चिन्ता बढेको, स्वाभिमान र स्वाधीनता कमजोर हँुदै गएकाले राष्ट्रियताको भावना बढाउनुपर्ने धारणा राखिबक्स्यो, त्यसैका लागि हामीलाई बोलाइ बक्सेको रहेछ’, नेता श्रेष्ठले रातोपाटीलाई बताए ।

उनले भने– ‘पूर्व राजाले पार्टी एकीकरण गर या नगर भनेर केही भन्नुभएन ।’  

झण्डै तीन घण्टाको उक्त सामूहिक भेटमा संलग्नहरूलाई ‘हाई–टी’ चिया र बिस्कुट खुवाइएको थियो ।

फागुन २० गते पत्नी कोमलसहित झापा पुगेका पूर्वराजा शाह दुई सातासम्म आफ्नै लगानीमा रहेको दमकस्थित हिमालय टी गार्डेनमा बस्दै आएका छन् तर नेताहरूसँगको भेटमा भने कोमल बसेकी थिइनन् ।

को को थिए भेटमा ?

कमल थापाले नेतृत्व गरेको राप्रपाका बुद्धिमान तामाङ, प्रल्हाद साह र भाष्कर भद्रा थिए भने पशुपति शमशेर राणाले नेतृत्व गरेको राप्रपा प्रजातान्त्रिकका राजाराम श्रेष्ठ, सगुनसुन्दर लावती र सुरेश आचार्य पूर्वराजा शाहलाई भेट्न दमक पुगेका थिए ।

त्यस्तै डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीका तर्फबाट तारानाथ लुइँटेल, केशव श्रेष्ठ र डा. शुष्मा आचार्य रहेका थिए ।

के भयो भेटमा ?

दिउँसो ४ बजेदेखि सुरु भेटमा पहिले पूर्वराजाले सहभागीहरूका कुरा सुनेका थिए ।

आफैबाट कुरा सुरु गरेका उनले सुरुमै भनेका थिए, ‘मैले तपाईंहरूलाई यहाँ बोलाउनुको कारण तपार्ईंहरूको कुरा सुन्न र पार्टी कसरी चलेको छ भनेर जान्न भएको’ बताएका थिए ।

पूर्वराजाले त्यति भनेपछि तीनवटै पार्टीका नेताहरूले क्रमैसँग देशको परिस्थिति र राजावादी भनिने पार्टीहरूको अवस्थाका बारेमा आआफ्नो धारणा सुनाएका थिए ।

सुरुमा बुद्धिमान तामाङले बोल्न सुरु गरेका थिए । त्यसक्रममा तामाङले नचाहँदा नचाहँदै पार्टी फुटेकाले निर्वाचनमा हार्नुपरेको विश्लेषण सुनाएका थिए ।

प्रत्येक नेताले १० देखि २५ मिनेटसम्म धारणा राखेका थिए । सबैले पार्टी फुट र नेतृत्वको असक्षमताले चुनावमा हार्नुपरेको सङ्केत पूर्वराजासमक्ष गरेका थिए ।

साँझ ७ बजे भेटवार्ता सकियो ।

तीन घण्टामा उनीहरूले एक पटक मात्र चिया लिए ।

खुलस्त हुन आग्रह

सबै बोलिसकेपछि पूर्वराजा शाहले नेताहरू आएर धारणा राखेकोमा सबैलाई धन्यवाद भनेका थिए । उनले आफूसँग भएका कुराकानी कतै लुकाउनुपर्ने नभएको भन्दै पार्टी चलाउन वैचारिक र सैद्धान्तिक स्पष्टता हुनुपर्ने बताएका थिए ।

त्यस्तै पार्टीभित्र पनि यस्तै खुलस्त र प्रजातान्त्रिक शैलीबाट विचारविमर्श गर्ने परिपाटी बसाउन आग्रह गरेका थिए ।

नेपालगन्जदेखि लखनउ अनि झापा

त्यसो त पूर्वराजा शाह मुलुकमा तीनवटै निर्वाचन सकिएपछि यसअघि गत पुसमा नेपालगन्जमा गएर तीन साता बसेका थिए ।

एक होटलको उद्घाटनका क्रममा नेपालगञ्ज पुगेका उनले त्यसबेला राप्रपा अध्यक्ष कमल थापा र सोही पार्टीका नेता धवलशमशेर राणालाई भेटेका थिए ।

नेपालगन्जको बसाइपछि उनीलगत्तै भारतको उत्तरप्रदेश लखनउ पुगे ।

त्यहाँ राजनीतिक भेटघाटसमेत गरेका शाहले योगी आदित्यनाथलगायतसँग हिन्दु राष्ट्रका बारेमा लामो कुराकानी गरेका थिए । त्यहाँ उनलाई उच्च सम्मानसमेत दिइएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप