बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘क्याम्ब्रिज एनालिटिका फाइल’ कान्ड : फेसबुकबाट सङ्कलन गरिएको करोडौं मानिसको सूचना डोनाल्ड ट्रम्पको पक्षमा प्रयोग गरिएको खुलासा

मङ्गलबार, ०६ चैत २०७४, १२ : ५४
मङ्गलबार, ०६ चैत २०७४

आफ्नो प्लाटफर्मबाट सूचना प्रयोग भएको कुरा पहिलै जानकारी हुँदासमेत फेसबुकले प्रयोगकर्तालाई सचेत नगराएको भनेर आलोचना

एजेन्सी-एजेन्सी–डोनाल्ड ट्रम्पले आफ्नो राष्ट्रपति निर्वाचनको प्रचार अभियानमा संलग्न गरेको एक सूचना विश्लेषण संस्थाले ५ करोड फेसबुक प्रयोगकर्ताबारे सूचनाहरू बिनाअनुमति प्रयोग गरेको पाइएको छ । ठूलो सङ्ख्याका फेसबुक प्रयोगकर्ताको सूचना अध्ययन गरेर सो संस्थाले पछि एक निक्कै शक्तिशाली सफ्टवेयर बनाएको थियो । सो सफ्टवेयर अमेरिकी निर्वाचनका क्रममा भोटरहरूको रुचिअनुसार डोनाल्ड ट्रम्पको पक्षमा सकारात्मक धारणा निर्माण गर्ने विज्ञापन पठाउन प्रयोग भएको थियो ।

यसको खुलासा ‘क्याम्ब्रिज एनालिटिका’का एक पूर्वकर्मचारीले बेलायती पत्रिका ‘अब्जरबर’मार्फत गरेका हुन् । ‘क्याम्ब्रिज एनालिटिका’ फर्म अर्बपति रोबर्ट मरसरको स्वामित्वमा रहेको छ । उनी अमेरिकी राजनीतिका पुरातनपन्थी राजनीतिज्ञको समर्थक रहँदै आएका छन् ।

यो घटना भएको समय क्याम्ब्रिज एनलिटिकाका उपप्रमुखमा डोनाल्ड ट्रम्पका प्रमुख सल्लाहकार समेत रहेर काम गरिरहेका स्टिभ बेनन थिए । 

क्याम्ब्रिज विश्वविद्यालय एकेडेमीका लागि सूचना सङ्कलनको काम गरेका क्रिस्टोफर वाइलीले अब्जरबरलाई भने, “हामीले करोडौं मानिसको रुचि जान्नका लागि फेसबुकको सूचनाको सहयोग लियौं । तिनको प्रयोग गरेर हामीले एक मोडेल बनायांै जसले मानिसको रुचि चिनेर तिनलाई प्रभाव पार्ने विज्ञापन पठाउन सक्थ्यो । कम्पनी यो कामका लागि पोख्त थियो ।”

फेसबुकको एक वक्तव्यले पनि पुष्टि गरेको र ‘अबजरबर’ले प्राप्त गरेको कागजपत्रले देखाए अनुसार सन् २०१५ को अन्त्यसम्म फेसबुकले पनि यसबारे जानकारी पाइसकेको थियो । त्यो समयसम्म सूचनाहरू करोडौं प्रयोगकर्ताहरूमा प्रयोग भइसकेको पाएको थियो । तथापि जानकारी पाएर पनि फेसबुकले प्रयोगकर्ताहरूलाई यस बारेमा सचेत गराएन । साथै ५ करोड प्रयोगकर्ताको सूचना चोरी हुँदा पनि फेसबुकले सुरक्षाका लागि सीमित कदम मात्रै चालेको देखिएको छ ।

न्युयोर्क टाइम्सले दिएको रिपोर्टअनुसार ‘क्याम्ब्रिज एनालिटिका’ले प्रयोग गरेको सूचनाहरू अहिले पनि अनलाइनमा पाइन्छन् ।

सूचनाहरू ‘दिस इज योर डिजिटल लाइफ’ एपमार्फत सङ्कलन गरिएको थियो । यसलाई ग्लोबल साइन्स रिसर्च कम्पनीका प्रमुख एलेक्सान्डर कोगानले निर्माण गरेका थिए । 

‘क्याम्ब्रिज एनालिटिका’को सहकार्यमा ग्लोबल साइन्स रिसर्चले हजाराँै प्रयोगकर्ताहरूलाई पैसा तिरेर व्यक्तित्वसम्बन्धी परीक्षणमा सहभागी गराएको थियो । यो परीक्षणमा सङ्कलन गरिएको सूचना प्राज्ञिक प्रयोगका लागि भएको पूर्वजानकारी गराएर सहमत हुनेको मात्र सूचना सङ्कलन गरिएको थियो । तर एपलाई परीक्षणमा सहभागी फेसबुक प्रयोगकर्ताहरूको ‘फ्रेन्ड लिस्ट’मा रहेका मानिसहरूको पनि सूचना सङ्कलन गर्ने हिसाबले बनाइएको थियो । एपले सो अवधिमा करोडौंको मानिसबाट सूचना सङ्कलन गर्यो । 

फेसबुकको ‘प्लाटफम नीति’ले एपहरूलाई प्रयोगकर्ताको अनुभव सुधारका लागि मात्र साथीको सूचना सङ्कलन गर्न सक्ने अनुमति दिएको छ । यसका अतिरिक्त फेसबुकको नीतिमा यसका प्रयोगकर्ताका सूचनाहरू अरूलाई बेच्न वा प्रचारमा प्रयोग गर्न बन्देज लगाइएको छ ।

तर हाल सार्वजनिक भएको घटनामा मानिसहरूको जानकारी सङ्कलन गरेर त्यसलाई मानिसको राजनीतिक धारणा प्रभाव पार्न प्रयोग गरिएको छ । यो घटना सार्वजनिक भएसँगै फेसबुकले डोनाल्ड ट्रम्पलाई जिताउन खेलेको भूमिकाबारे चर्चा पुनः सुरु भएको छ ।

अलग्गै रूपमा बेलायतको सूचना आयोग र निवार्चन आयोगले युरोपेली सङ्घबाट छुट्टिने नछुट्टिने सम्बन्धमा भएको जनमतसङ्ग्रहमा सो संस्थाले भोटरहरूलाई प्रभावित बनाएको आरोपको अनुसन्धान गरिरहेको छ । क्याम्ब्रिज एनालिटिकाका प्रमुखले सो जनमत सङ्ग्रहमा सङ्घबाट छुट्टिने पक्षमा रहेको निगेल फराजलाई प्रयोग गर्न दिएका थिए ।

शुक्रबार फेसबुकले क्याम्ब्रिज एनालिटिका र कोगानलाई आफ्नो प्लाटफर्मबाट हटाइएको घोषणा गरेको छ । तर आफ्नो अघिल्लो घोषणासँग बाझिने गरी फेसबुकका बाह्य वकिलले अब्जबरको खुलासातर्फ इङ्गित गर्दै सो पत्रिकाले आफूहरूलाई ‘झुटो र अपमानजक’ आरोप लगाएकाले कानुनी कदम चाल्न सक्ने चेतावनी दिएको छ ।

तर यो खुलासाले अमेरिकी राजनीतिमा ठूलो तरङ्ग ल्याएको छ । फेसबुक पनि यसबारे जानकारी हुदाँहुँदै उपयुक्त कदम नचालेको भनेर आलोचनाको तारो भएको छ । 

दी गार्जियन बाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप